(१)
प्रिय तिमीलाई खोज्न
म रातहरुको घुम्तीमा भड्किरहेछु
मोडिरहदो रहेछ जिन्दगी
पाइलाहरुसँग
अँध्यारोहरुसँग
अनिद्राहरुसँग
मैले उज्यालो नभेट्दै
सडक सिद्दिदो रहेछ
आकाश फाटदो रहेछ
र म कता कता हराउँदो रहेछु
कतै देखेकी छ्यौ मलाई ?
(२)
गन्तब्य दुर क्षितिजमा थियो
बादल उघारेर
द्रुत गतिमा दौडी
पहाड उक्लेर हेरें
अहो !
जीवन फेंदमै छाडिएछ
विजयमा मैले
मृत्यु जितिसकेको रहेछु !!
( ३)
एक दुई तीन गर्दै
हप्ता, महिना र वर्ष गर्दै
पातहरुमा खैरो रंग पोतेर
हाँगाहरुमा खैरो रंग पोतेर
नदीछेउकै रुखहरु पनि
बतासमा घोलिन्छन् !!!
(काठमाडौं)