ढाँट्नेलाई कागले ठुङेको सुन्या छ ? मैले चाँहि छैन। ठुङ्थ्यो भने पनि कहाँ पाउनु त्यत्रा काग ? थोरै ठुङ्नु पर्छ ! खान, अण्डा पार्न पनि छाडेर ठुङेको ठुङै गर्नु पर्ला । फेरि अग्लामा बस्ने कतिपए मान्छेलाई त ठुङेको ठुङै कागको चुच्चो दुख्छ र परास्त भएर भगवानसँग नम्र निवेदन गर्न पुग्लान- हे प्रभु, हिजोआज हाम्रो कामको मात्रा सारै धेरै बढेको छ । कि त हामीलाई ओभरटाइमको पैसो दिनु पर्यो, नत्र हामी कर्मचारीको संख्या बढाउनु पर्यो । फेरि राजधानीतिर मान्छेले धेर ढाँट्ता रैछन्, अनि त्यतैचाँहि हामीले बस्ने रुख-पात कम्ति छन्। हामीले ठुङ्छौँ भनेर बाठाहरूले हाम्रो थलो नै पहिल्यै मासिदिएका छन्, हजुरले केही गर्नु पर्यो !
कुनै मिथ्या कुराले कसैको हित गर्छ भने त्यसमा दोष लाग्दैन रे। त्यो त हामी पो जान्दछौं त, कागलाई के थाहा ? अस्पतालमा बिरामीलाई चाहिँ ढाँटेकै राम्रो। तर डक्टरलेचैं पहिला बिरामीलाई ढाँटेर आधामरो पार्छन्। भन्दाखेरि जिब्रो र दाँत अल्झिने खाल्का अफ्ट्यारा रोगका अङ्ग्रेजी नाउँ भनेर बिरामीलाई बिहोस पार्छन् अनि उपचार थाल्छन्। फेरि भन्छन्- तँलाई हामी मर्न दिन्नौं, निको पारेरै छाड्छौं। पैसा नसकि किन मर्न दिन्थेउ त !
अस्पतालमा बिरामी हेर्न जाने मान्छे पनि विचित्रका हुन्छन्। मामा पर्ने एउटा आउँछ र ढाँटेरै भए पनि दिलासा दिन्छ – चिन्ता नगर भानिज, हिजाज एस्तो बिमार त कै हैन। दुई हप्ता भित्रैमा तिमी चङ्गा भै हाल्छौ नि ! माइजू पर्ने अर्की आउँछिन् र ऊ पनि पहिला त यसै गरी हौसला दिन्छिन्। जब फुपू पर्ने अर्की आउँछिन्, गफका चोटमा अघिकी माइजू पर्नेले भन्न थाल्छिन्- हाम्री काकीका भदालाई पनि एस्तै भाको रैछ, कत्तै कै चलेन र बाहिर लगेर उहाँका डक्टरले चेक गर्दा त भित्र-भित्रै घाउ भइओरि पोच्चिइ सकेको रैछ, अप्रेसन गर्दा पनि काममा आएन। कुरा सुनेर बिरामी आधिउधि त्यतिबेलै मरिसक्छ। आँखा अगाडी जेमराजका सिङ नाच्न थाल्छन्। मामा पर्नेले त ढाँटेरै भए पनि निकै साहस दिएका थिए, माइजू पर्नेले त सत्येको छुरीले क्वाच्चै पारिन्। अब कागले कसलाई चैं ठुङ्ने ?
ढाँट्नेलाई कागले ठुङ्ने हैन, ढाँट्ने मान्छेले चैं कागका झैं ठुङ्छ भनेर गीतकारले पनि ‘काले कौवे से डरियो’ भन्या होला। तर डराएर केको पुग्थ्यो ! झुठो बोल्नेले मुठो पार्छ भनेपछि डराउने हैन, पछि लाग्ने चाल चैं गर्नु पर्यो। मुठो खान नपाए नि जुठो खान त पाइन्छ ! राजा बन्नका लागि पनि माइक्रोफोनमा चिच्याई-चिच्याई ढाँट्न सक्ने योग्यता चाहिन्छ। ह्यान करेङ्गा त्यान करेङ्गा भनेर आँटेको भनेको ढाँटेको हुन्छ। भाषणमा टेकेर आसनमा बसेर शासनमा हक बन्छ। खुड्किलो त भाषण नै हो। भाषण भनेको बोल्ने जिनिस। गर्ने जिनिसलाई त कर्म भन्छन्। गराइमा कतै कमी रहे बोलाइले टाल्नु पर्छ नेताले। नबोल्ने मन्त्रीलाई त लाटकोसेरो भन्छन्। लाटकोसेरो हुनुभन्दा त ढाँटकोसेरो हुनु नै जाती।
मन्त्रीलाई एउटी महिला आफ्नो दुर्दशा दर्शाउँछे-
महिला- सर, मेरो कोही छैन । घर पनि भत्केको छ, बनाउने पैसो छैन । एउटा अनुदान गृह पाए हुन्थ्यो।
मन्त्री- भै हाल्छ नि !
महिला- सर, अलिकति पढे-लेखेकी पनि छु, एउटा सानै भए पनि जागिर पाए हुन्थ्यो । दया गरियोस हजुर।
मन्त्री- भै हाल्छ नि !
महिला- मेरो लोग्ने पनि पोहोर बित्नुभो, सहारा छैन । एउटा छोरो सम्म पनि छैन.. ।
मन्त्री- भै हाल्छ नि !
अन्तिम वाक्यचाहिँ मन्त्रीज्यूले नढाँटि अन्तरले नै भन्या होला र मन्त्रीहरूलाई सधैं ढँटुवा भन्नचाहिँ नपाइने रैछ है !
शिशु विद्यार्थीहरू आफ्नो कक्षामा कल्याङ्-कुलुङ् मच्चाइरहेका बेला सबैले ‘बाघ’ भन्ने शिक्षक कक्षामा पस्नु भो । केटाकेटीहरू ठोक्किँदै पछारिँदै आ-आफ्नो ठाउँमा पुगेर उभिए अनि बसे। निस्तब्ध। गुरुजीका हातको लौराको स्पर्शस्वाद चाख्ने सौभाग्य सबैले नै प्राप्त गरेका थिए र नै उनीहरूका मुटुका ढुक्ढुकहरू एक अर्कासँग प्रतियोगितामा थिए। हिजो पढाएको पाठबाट अब कुनचाहिँ प्रश्न सोध्ने हुन !
–गणेशको पेन्सिल कसले चोर्यो ? एक्कासी गुरुजी गर्जिनु भो ।
सबै चुपचाप। जानेपो भन्नु। काम छुट्न थाल्यो।
–म एकातिरबाट सोध्दै जान्छु। चोर्नेको नाम नभनेसम्म तिमेर्को रक्षा छैन।
छत्रे बाट सुरु भयो। गुरुजीका लौराले छत्रेका हातमा, खुट्टामा, पिठ्युँमा छाप छोड्यो। आम्मौ, मरें नि, म जान्दिनँ सर, विद्या कसम। गुरुजीलाई साँचो जान्नु हैन, उगेल्नु थियो। चित्रे, तारे गर्दै गुरुजीको कार्यक्रम अघि बढ्दै छ। पाँच नम्बरमा भएको तिलकको पालो आइपुग्न आँट्यो। कट्टु भिजी सक्यो। कसले चोरेको थाहा छैन। हे भगवान ! पालो आइपुग्यो।
–ओइ तिलक, कसले चोरो ?
–बलरामले चोरो सर। कुटाइबाट जोगिन उसले त्यसै भन्दियो।
बलरामको चित्कारले स्वाँठ्-स्वाँठ् को आवाजलाई छोप्यो।
व्यर्थमा बलरामलाई कुटाइ खुवाएकामा तिलकलाई अत्यन्त पछुतो भयो। रातभरि निन्द्रा लागेन। उसको बालक मनले पनि आफैलाई धिक्कार्यो। भोलिपल्ट उसले सरलाई भन्यो –
–सर, हिजो मैले कुटाइ खानबाट जोग्गिनका लागि बलरामको नाम भनेको थिएँ। बलरामले चोरेको हैन सर।
–तँ फुच्चेले हिजो मलाइ ढाँटिस् ? एति सानैमा तैंले ढाँट्न थालिस् ?
त्यहाँपछि उसको पिठ्युँलाई मञ्च बनाएर लौराको कार्यक्रम चल्यो। निक्कै बेर। तर ऊ पीडामा चिच्याएन। मनमा पछुतोको भाव भएर होला।
गुरुजी गएपछि तिलक सोच्दछ- ढाँटेर त जोगिएको थिएँ, सत्ते बोलेर पो भक्कु चुटाइ खाइयो। फेरि गुरुजीका शब्द सम्झिन्छ – ‘एति सानैमा तैंले ढाँट्न थालिस् ?’
अनि ऊ सोच्तछ —ढाँट्न थाल्नलाई कति ठूलो हुनु पर्ने हो कस्लाई सोध्नु ?
(विश्वनाथ, असम)