रोपेर फुलवारीमा घडी फूल
ढक्कमक्क फुलाउछन्
केटाकेटीहरू ।
फुलाएर गोदावरी
रङ्गीन पुतलीहरूलाई
फूलवारीमै बोलाउँछन् केटाकेटीहरू
जब हुन्छु म फूलबारी छेउ
मलाई केटाकेटी र फूल छुट्याउन मुस्किल पर्छ ।
मलाई जून र केटाकेटीको अनुहार उस्तै लाग्छ
कहिल्यै धितै नमर्ने हेरेर
न त जाडो न त गर्मी
दुबैले छर्छन् मलिन ज्योत्स्ना उसैगरी
कहिले काहीँ त म
जून देख्दा केटाकेटी र
केटाकेटी देख्दा जून भन्दो रहेछु।
बिहानै मिर्मिरेमा चरीले चर्रविर्र गर्दा
तिनै केटाकेटीहरू सम्झन्छु
चारपाथे ठेकीमा नेतीले घार्रघुर्र बनाउँदा
तिनै केटाकेटीहरू सम्झन्छु
लाग्छ केटा केटी नभए नआउँथे यी पुतलीहरू
न गाउँथे चरीले गीत
केटाकेटी बाहेक कसले पो लाउँदो हो र चरीसँग प्रीत ?
क्यालेन्डरका पन्नामा
जब देख्छु दशैँ तिहारको मास
तिनै केटाकेटीहरू सम्झन्छु
लाग्छ नभए केटाकेटी
न मच्चिन्छन् यी पीङ दलिनमा
न आगनीमा गुञ्जन्छ भैली ।
देख्छु -
बजारको चटकेले झैँ चटक गर्छन् केटाकेटीहरू
र बनाउँछन् छुट्टै जादुमयी संसार एकै छिनमा
एकाएक इन्द्रप्रस्थझैँ बनाउछन् कल्पनाको राज्य
र गर्झन् रामझैँ शासन एकैछिनमा
केटा केटीहरू बनाउँछन् घर बन्दिलो
र भत्काउँछन् फेरि एकै छिनमा
एउटा कुरा चाहिँ सुटुक्क सोध्न मन छ
यिनलाई -
"बनाउन त दलिनको गौँथलीले सिकायो घर
कसले सिकायो तिमीहरूलाई भत्काउन हँ ?"
(मोरङ)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।