कुर्सी- विषालु सापझैं
उन्मत्त मातेर ठुङ्न
अगाडि बढ्दछ स्याँ गर्दै
सर्पको लखेटाइमा परेकाहरू
जुत्ता चप्पल खोलेर
कुदी सुरक्षित ठाउँ खोजी
हिंस्रक सापलाई समातेर
खोरमा थुनेर
धेरै धेरै मानिसलाई
विषालु ठुङ्गाइबाट
सुरक्षित गर्नलाई
जुक्ति र तानाबाना बुन्दैछन् ।
प्रकृति- हुँकार गरिरहेछ
धनजनको वली दिइरहेछ
कसैको अभिभावक थुतेको छ
कसैका सिंदूर पुछेको छ
कसैलाई टुहुरो बनाई छाडेको छ
अनि रौद्र प्रकृति भन्छ-
मलाई चाहिँ खान चाहिंदैन?
खानलाई भ्रष्टाचार र अत्याचार गर्नु पर्दैन ?
जस्तालाई तस्तै भन्ने तँलाई थाहा छैन ?
सिकायौ अनि सिकेँ
किन रोइलो गर्छौ ममाथि ?
कर्तव्य सम्झ, संरक्षण गर्न नभुल।
विभेद बन्सो मौलाएझैं
राजनीतिमा लाजनीतिका गुट उपगुट हुँदै
न्यायमा आफन्त र मेरा
नियुक्तिमा आफन्त र मेरा
सरकारमा आफन्त र मेरा
राहतमा आफन्त र मेरा
दरबारमा आफन्त र मेरा
धर्म र संस्कृति आफन्त र मेरा
भूगोलमा आफन्त र मेरा
राष्ट्रसेवकमा निजामती र मेरा
सरुवा बढुवामा आफन्त र मेरा
आयोगमा आफन्त र मेरा
प्राकृतिक सम्पत्तिको दोहनमा आफन्त र मेरा
तलवभत्ता, सेवा सुविधा भोट वैङ्क, आफन्त र मेरा
सबै सबैमा विभेद विभेद
असमानता- अन्याय, अत्याचार
खप्नै परिगो नि एक्काइसौं
शताब्दीको कलि युग हो यो ।
(ओखल्ढुङ्गा)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।