नेपाल प्रज्ञा प्रतिष्ठानले हालै राष्ट्रिय कविता महोत्सब सम्पन्न गरेको छ । देश भरबाट प्राप्त ७६४ वटा कविताहरुलाई दुई चरणमा बिभाजन गरेर प्रतिस्पर्धा गराई नतिजा प्रकाशन गरियो । भोजपुरका कविता राईको “देशको नक्सा” ले प्रथम पुरस्कार जित्न सफल भयो । त्यसैगरी धादिङकी अमृता स्मृतिको “डढेलोपछि पनि वसन्त आउँछ” शीर्षकको कविता दोस्रो, ताप्लेजुङकी सविता बरालको “आमा म आएँ अब”, बर्दियाकी नीरञ्जनाकुमारी चन्दको “युगीन प्रतिध्वनि” र नुवाकोटका प्रकाश सिलवालको “बोधिसत्वको खोप” शीर्षकको कविता तेस्रो भएका छन् ।
१. प्रतियोगिताको विषेशता –
यस पटकको प्रज्ञा कविता प्रतियोगिताको विशेषता भनेको नारी हस्ताक्षरको बाहुल्यता हो । पुरस्कृत स्रष्टाहरु मध्ये एक जना मात्र पुरुष भए र बाकी सबै नारी स्रष्टाहरुले पुरस्कारमा कब्जा जमाइदिए । यसले कविता सिर्जनामा नारी स्रष्टाहरुको शक्तिलाई राष्ट्रिय स्तरमा प्रदर्शन गरेर प्रमाणित गर्यो । लैंगिक चस्मा लगाएर हेर्ने पुरुषप्रधान दृष्टिकोण भएको हाम्रो समाजमा पुरस्कृत नारी स्रष्टाहरुले एक चुनौती नै पेश गरिदिए ।
हरेक वर्षको प्रतियोगितामा निश्पक्षताको विषयमा ठूलो विवाद हुने गरेको छ । छनौट चरणबाटै पक्षपात हुँदै पुरस्कार समेत भागबण्डा गरियो भनेर हरेक वर्ष निकै ठूलो होहल्ला र बिरोध पनि हुने गरेको छ । तर यस पटक त्यस्तो ठूलो बिरोध नहुनु अर्को विषेशता भयो । प्रतियोगिताको निश्पक्षताको बारेमा कहिबाट खासै आवाज उठेन तर प्रथम भएको कविता बाहेक अन्य कविता स्तरिय भएन भन्ने केहि गुनासो चाहिँ सुन्नमा आयो ।
राजनीतिक भागबण्डा बारे केही टिप्पणी पनि नभएको होइन । देशमा प्रतेक नागरिकले कुनै न कुनै राजनीतिक दल भोट हालेका हुन्छन नै वा कुन राजनितीक दलको समर्थन त गरेकै हुन्छ । त्यसैको आधारमा पुरस्कृत स्रष्टाहरु राजनीतिक भागबण्डाका आधारमा छनौट गरियो भन्नू सार्दभिक र न्यायोचित दुबै हुन सक्दैन । पुरस्कृत कुनै कवितामा पनि सत्ताको भजन किर्तन वा राजनीतिक आस्थाको समर्थन/बिरोध भन्ने कुराको गन्ध पाउन सकिन्न ।
२ . देशको नक्सा भित्रको सुन्दरता
प्रतियोगितामा “देशको नक्सा” शिर्षकको कविताले प्रथम स्थान हात पार्यो । पुरस्कृत अन्य कविताको बारेमा स्तरियताको प्रश्न उठाएर केही टिकाटिप्पणीहरु भए पनि प्रथम कविताको बारेमा कुनै टिप्पणी आएको पाइएन । बाह्य दृष्टिकोणले कविताको सबभन्दा बलियो पक्ष भनेकै यहि हो । रचनागत र काव्यगत दृष्टिकोणबाट हेर्दा पनि यो कविता भित्र कविताका आभरभुत विशेषता बाहेक केही नयाँ विषेषता पाउन सकिन्छ जसले कवितालाई स्तरिय बनायो र पुरस्कार जितायो ।
राष्ट्रियतामा नारी आवाज – नेपालको काव्य जगतमा जब राष्ट्रियताको सबाल उठ्छ, त्यहाँ पुरुष आवाज नै मानक मान्ने परम्परा अहिले सम्म विद्यामान छ । राष्ट्रियताको मुद्धा पुरुषले मात्र उठाउदा बलियो हुन्छ, पुरुषप्रधान बिम्ब राख्दा मात्र राष्ट्रियताको महत्व झल्कन्छ भन्ने लैंगिक दृष्टिकोणलाई कविताले फेदैबाट ढालिदिएको छ । राष्ट्रियता जस्तो गम्भीर विषयमा लैंगिक विभेदयुक्त नेपाली दृष्टिकोणलाई बिनिर्माण गरी लैंगिक समानतापुर्ण राष्ट्रियताको नयाँ जग निर्माण गरेको छ कविताले । नालापानीको युद्धमा “आईमाई र केटाकेटी” ले लडाइ लडेका थिए भन्ने कथा बाहेक राष्ट्रियताको विषयमा महिलालाई अलग्गै राख्ने न्यारेटिभ छ नेपाली साहित्यमा । तर यस कविता भित्र देशको नक्सा बलियो बनाउन एउटा नारी कस्तो योगदान गर्न सक्छ भन्ने नौलो न्यारेटिभ सिर्जना गरिएको छ जुन सवल मात्र होइन सशक्त पनि छ ।
सिमान्तकृत बिम्बको प्रयोग – नेपाली साहित्यमा मुलधारको बिम्ब प्रयोगले सिमान्तकृत आवाजहरुलाई नजरअन्दाज गरिदिदा अधिकांश काव्य रचना पक्षपाती जस्तो देखिदै आएको छ । राष्ट्रिय कविता प्रतियोगिताहरुमा पनि प्राय जसो हिमाल, पहाड, तराई, सगरमाथा, बुद्ध, वीर गोर्खाली जस्ता बिम्बको प्रयोग गरी रचना गरिएको कविताहरुले नै स्थान पाउदै आएका छन । तर कवयत्री कविता राईले एउटा जोखिम उठाएर नितान्त सीमान्तकृत बिम्बको प्रयोगबाट राष्ट्रियताको मुद्धालाई सुन्दर र बलियो बनाउन सफल भएका छन ।
करेसाको डिल, बलेसी, कुर्कुच्चा, सिकुवा, मुल खाँबो, छानाको तप्कना आदि बिम्बले गाउले जीवन (अधिकांश देशवासी) हरुको सिंगो प्रतिनिधित्व गर्छ । विशेष गरेर किराँती परिबेशमा आधारित सिकुवा, मुल खाँबो, तप्कना आदि बिम्बले सिमान्तकृत समुदायलाई राष्ट्रियताको मुल प्रवाहामा समाविष्ट गर्छ ।
कवितामा प्रधान भुमिका खेलेका यी सीमन्तकृत बिम्बहरुलाई सशक्त बनाउन सिमाना काटिजाने चरा,
पहाड भत्काएर बगिजाने खोला, देवल उठाइरहेका पौरखी धमिरा, माटोको दरबार उठाइरहेका कमिला जस्ता केही मुलधारे बिम्बहरुको प्रयोग भएका छन । समग्रमा भन्नू पर्दा बिम्बप्रधान यस कविताको शक्तिशाली पक्ष भनेकै सिमान्तकृत बिम्बहरुको प्रयोग नै हो ।
३. कविता प्रयोगिता बारे फरक मत –
कविताजस्तो सिर्जनात्मक विधाको प्रतियोगिता नै गलत हो भन्ने फरक मत पनि आजकाल बलियो हुँदै गइरहेको छ । प्रतिस्पर्धाले कविताहरुबिच विभेद सिर्जना गर्छ र कविताको मर्मको हत्या गर्छ भन्ने मान्यता विकसित हुँदैछ । तथापि राष्ट्रिय स्तरका यस्ता खाले प्रतियोगिताले नयाँ प्रतिभा जन्मने र कुना कन्दरामा भएका साहित्यिक प्रतिभालाई मूलधारमा पुग्न मार्ग प्रशस्त गर्न सक्ने यथार्थलाई नकार्न सकिन्न ।