ऊ काठमाडौं विमानस्थलमा ओर्लँदा दिउँसोको चार बज्नै लागेको थियो । लामो समयपछि आफ्नो मातृभूमिमा टेक्न पाउँदा पनि उसमा कुनै खुसी र उत्साह थिएन बरु एक खालको अन्यौल र चिन्ता भरिएको थियो । विमानको ढोका खुल्नासाथ यात्रुहरू खुसी र उत्सुकता बोकेर बाहिर निस्कन खोज्दै थिए तर किन–किन ऊ भने उत्साहहीन र चिन्ताग्रस्त देखिन्थ्यो । मलेशिया ओर्लँदा बरु कम्पनीको मानिस उसको खोजीमा एयरपोर्ट पुगेको थियो तर यतिबेला उसलाई लिन वा स्वागत गर्न आउने कोही थिएन । विमानबाट मानिसहरू धमाधम ओर्लन थालेपछि ऊ पनि शून्य हृदय लिएर ओर्लियो । जहाजको टिकट लिएदेखि नै उसलाई आफ्नो घर र परिवारको सम्झनाले बाक्लो गरी छोपेको थियो र उत्तिखेरै कुनै पहिरो आएर पुर्न खोजेझैं ऊ निस्सासिँदै भागेको थियो । नेपाल फर्किने निश्चित भएपछि उडानको तीन दिन अघिबाटै उसले कम्पनीको काम छोडेको थियो । र दुई दिन अघि मात्र घरका लागि किन्ने सामानको लिस्ट बनाउँदै बजार गएको थियो ।
सामानको लिस्ट बनाउँदा नै ऊ घर–परिवारको अवस्था बारे सोच्दैमा चिन्तित थियो । लिस्टको एक नंवरमा लेख्यो—‘श्रीमतीका लागि–…’ लेख्न सक्दा नसक्दै उसको मनमा एकाएक चिसो पस्यो । कुनै चिसो पानीको रहमा डुब्न लागेझैं निस्सासियो । उसको हृदयभित्र विभिन्न प्रश्नहरू मडारिएर आउन थाले—‘के शीला घरमै होली ? यतिका वर्षसम्म श्रीमान्को कुनै थाहा–पत्तो नपाउँदा पनि के ऊ आफूले छोडेकै अवस्थामा रहेकी होली ? अनि छोरो ? आफू छापामार भएर युद्धमा हिँड्दा त्यो पाँच वर्षको थियो, कत्रो भयो होला ! पढ्दै होला कि छोड्यो होला ? केही तल–बितल पो भयो कि ! बाँचेकै भए पनि यतिका वर्षसम्म कुनै खवर–खाबर नगर्ने बाबुप्रति कस्तो सोचाइ राख्दो होला ! मलाई चिन्नै पनि गाह्रो पर्ला उसलाई । तर मेरो अवस्था बुझिसकेपछि पक्कै पनि आदर गर्ला । अनि बाबुआमा ? यो धर्तीमा होलान् कि नहोलान् ! उतिबेलै बाबु ६२ र आमा ५८ का थिए । बाँचेकै भएपनि छोराको चिन्ता र पीरले कुन गतिका भए होलान् ! पक्कै पनि पार्टीले म मारिएको वा वेपत्ता भएको कुरा घरमा पु¥यायो होला । त्यसपछि के अवस्था भयो होला बाबुआमा अनि श्रीमतीको ! बेनी आक्रमणको चार महिना अघि मात्रै ऊ एक रातका लागि घरमा पुगेको थियो । बिहान झिस्मिसेमा बिदाइ हुन लाग्दा श्रीमतीले कायर हुँदै भनेको कुरा भलक्क उम्लिएर आयो –‘ज्यानको ख्याल राख्नु होला !’ अनि पछ्यौरीले आँसु पुछ्दै भनेकी थिइन्—‘अप्ठेरै भएपनि खवरचाहिँ पठाउँदै गर्नोस् ।’ विचरी कति माया गर्थी ! म मारिएको खवर सुन्नुपर्दा कसरी धानिएर बसिहोली ! अनि उसले गाउँघर सम्झियो । ‘कस्तो भयो होला घर, गाउँ अनि समाज ! ऊ सामानको लिस्ट बनाउँदा–बनाउँदै उदासीले गर्दा लाटोझैं बन्न पुग्यो । निकै बेरपछि उसले किन्ने सामानको लिस्ट बनाई बजारतिर लाग्यो ।
ऊ पसलभित्र पस्यो र एकएक गरेर सामान हेर्न थाल्यो । लिन खोजेका सामानमध्ये कुनैमा श्रीमती अनि कुनैमा बाबु, आमा र छोराको अनुहार देख्न थाल्यो । जव जव परिवारको स्मृति आउँथ्यो तव उत्साह र खुसी सँगसँगै छाया जस्तै बनेर एक खालको अत्यास, सन्त्रास र आशङ्काले घेर्न थाल्दथ्यो । पारिवारिक सम्झनाले दिने आनन्दको अनुभूति गर्न नपाउँदै आशङ्का र अत्यासले डस्न पुग्दथ्यो । आज पनि प्रत्येक सामानसँगै खुसी प्याकिङ हुन नपाउँदै सन्त्रासको छायाँ पनि सँगै गएर बस्न थालेपछि उसले बनाएको सामानको सूचीमा कटौती ग¥यो र न्यूनतम अर्थात् सबैलाई एकएक जोर कपडा, दुईवटा मोवाइल, तीनवटा घडी र तीन प्याकेट चकलेट मात्र किन्यो । छोराको लागि भनेर किन्न खोजेको जुत्ता साइजको कारणले केही अल्मलियो र पछि के के सोचेर नलिई हिँड्यो ।
विमानबाट सबै ओर्लिएपछि गह्रौं मन लिएर ऊ पनि ओर्लियो । नेपाली भूमिमा टेक्दा पनि उसको मन हलुका भएन, झनै गह्रौं भएर आयो । बर्षौंपछि काठमाडौं आउँदा त्यहाँको परिवेश एकदमै नौलो लागिरहेको थियो तर पनि ऊ त्यो नौलो परिवेशमा रम्न र खुसी हुन सकिरहेको थिएन । लगेज आइपुग्न केही समय लागेकाले ऊ गाउँका चिनेजानेका कोही भेटिन्छन् कि भनेर सरसर्ती चारैतिर दृष्टि पु¥यायो । पार्टीका सहयोद्धा कमरेडहरू त भेटिने सम्भावना निकै कम थियो—धेरैजसो मारिएका थिए र बाँचेका पनि धेरै वेखवर थिए । तैपनि झिनो आशाले मानिसको भीडतिर हे¥यो । कोही चिनेको मानिस भेटिएर घरको बारेमा केही अप्रत्यासित र अप्रिय कुरा सुनाइदिन्छ कि भन्ने एकखालको सन्त्रास पनि पैदा भइरहेको थियो ।
“दाजु, कहाँ पुग्ने हो ? आउनोस् !” ट्याक्सीवालाले बोलाएपछि ऊ झस्केझैं भयो । त्यहीँ बसिरहने कुरा थिएन र एयरपोर्टबाट त निस्कनु नै थियो, त्यसैले ‘बसपार्क’ भन्दै ऊ ट्याक्सी चढ्यो । बसपार्कमा ओर्लिएपछि ऊ अन्यमनस्क भाव लिएर नजिकैको फलामे बेञ्चमा बस्न पुग्यो । अव के गर्ने ?— उसले मनमनै सोच्न थाल्यो । ‘आज यतै होटलतिर बसेर भोलि बिहानको बसमा जाने होला कि ?’ भोक र थकाइले ऊ गलित थियो । रात्रि बसमा जाने हो भने रातभरको यात्राले झन् थकित बनाउँथ्यो । आखिर अहिले हिँडे पनि भोलि बिहानै पुगिने होइन, अर्को गाडी फेर्नुपर्छ । फेरि अर्को मनले सोच्यो— भोलि बिहान हिँड्ने गाडी नपाइन सक्छ, बरु केही खाजा खाएर रातिकै गाडी चढ्नुपर्छ । उसले काउन्टरमा गएर सोध्यो । ‘बागलुङको बस अव आधि घण्टामा छुट्छ, टिकट लिइहाल्नोस्’ —काउन्टरको मानिसले भनेपछि उसले टिकट काट्यो र नजिकैको पसलमा खाजा खान बस्यो ।
लामो दूरीका रात्रिबस चल्ने तरखरमा भएकाले मानिसहरूको चहलपहल बाक्लै थियो । उसले फेरि एकपटक आँखा डुलायो । एक–दुई जनाले उसको अनुहारतिर हेर्दा ऊ केही उत्साहित र रोमाञ्चित भएको थियो तर तिनीहरूले धेरैबेर दृष्टि अड्याएनन् । एकजना चौध–पन्ध्रजतिको केटा ऊ नजिकै आएर कराइरहेको थियो— “नेपालगञ्ज जाने ल आउनोस् ! बस छुट्न लाग्यो ! दाइ, नेपालगञ्ज हो ?” उसले त्यो केटातिर हे¥यो । कता कता देखे–देखे जस्तो पनि लाग्यो । साधारण टिसर्ट, पुरानो र रङ् खुइलिएको जस्तो पाइन्ट र चप्पल लगाएको केटो उ नजिकै आयो । कपाल नकोरिएर त्यसै असरल्ल परेको र केही बढेको थियो । अनुहारचाहिँ आफ्नै गाउँघरतिरको कुनै मानिस जस्तो, कतै देखे–देखे जस्तो पनि लाग्यो । एकछिन केटातिर हे¥यो, केही बोलेन । केही नबोलेपछि त्यो केटोले उसको सुटकेस नै समाउन खोजेझैं गरी भन्यो —“हिंड्नोस् दाइ, अगाडिको सिट मिलाइदिउँला । टिकट ऊ त्यहाँ गएर लिइहाल्नोस् ।” ऊ अझै पनि केही बोलेन । केवल ‘हैन’ भन्ने भावको मुन्टो हल्लाएपछि केटो अर्कैतिर लाग्यो ।
बेस्सरी भोक लागेकोले डेढ प्लेट मम र एउटा कोक खायो । बसले हिँड्ने तयारीको हर्न लगाउँदै यात्रुहरू बोलाउन थालेपछि ऊ आफ्नो झोला र सुटकेस लिएर बसतिर गयो । बसमा बसिसकेका धेरैजसो यात्रुहरूले उतिर दृष्टि लगाए । उसले पनि सरसर्ती सबैतिर दृष्टि लगायो तर कुनै पनि परिचित अनुहार भेट्न सकेन । परिचित नै भएपनि दशवर्ष अघि नै वेपत्ता भनी हल्ला चलाइएको उसलाई कसैले देखिहाले पनि त्यही दिलीप हो भनी ठहर गर्न सक्दैनथे । लामो हर्नका साथ बस चल्न थाल्यो । उसको ध्यान अव आफ्नै घर–गाउँ र अतिततिर फर्किन थाल्यो । दश वर्ष अघिको सपना जस्तो लाग्ने त्यो रोमाञ्चक र कहालीलाग्दो घटना आँखा वरिपरि घुम्न थाल्यो ।
× × ×
गाउँभन्दा अलिपरको जङ्गलनेर माओवादीले गरेको जनसरकार घोषणाको कार्यक्रममा ऊ लगायत गाउँका केही मानिसहरू गएका थिए । गाउँको एकजना भाइ पर्ने व्यक्तिले निकै आग्रह गरेपछि ऊ कार्यक्रममा गएको थियो । त्यहाँ बोल्ने नेताहरूका कुरा र प्रस्तुत भएका नृत्यसहितका मार्मिक गीतहरूले उसको मन तानिरहेका थिए । ऊ भारतमा छँदै पनि राजनीतिमा चासो राख्ने गर्दथ्यो । पछि माओवादी आन्दोलनमा सहानुभूति राखेपनि युद्धमै होमिने सोच भने उसको थिएन । छुट्टी सकिनासाथ भारततिर फर्किने उसको विचार थियो । बाबुआमाले उसलाई गाउँको स्थिति अवगत गराउँदै भनेका थिए—‘बाबु, समय र अवस्था ठीक छैन । हामी सरकार र माओवादी दुईतिरको चेपुवामा छौं । सरकारका सुराँकी घुमिरहन्छन् । माओवादी आएको शङ्का पाउनेवित्तिकै पुलिसहरू घर घेर्न आइपुग्छन्, घर खानतलासी मात्रै गर्दैनन् अनेक दुःख र यातना दिन्छन्, उस्तै परे ज्यानै लिन्छन् । उता माओवादीहरू पनि परिस्थिति बुझ्दैनन् । खान–बस्नको अप्ठेरो बताउँदा हामीलाई असहयोग गरेको ठान्छन् । यस्तो अवस्थामा तँ धेरै दिन बस्न हुँदैन बाबु ! छुट्टी बाँकी नै भएपनि भोलि–पर्सि नै फर्किने सोच बना ।’ बाबुआमाले यसो भने पनि उसले टेरिरहेको थिएन । यस्तैमा एकदिन स्कुल छुटेर अलि ढिलो गरी घर आउँदै गरेको उसको भाइ रविनलाई सरकारी फौजले गोली हानी घरभन्दा केही परको खोल्सामा ढलाइदियो । यो घटनाले उसको घर शोकमा डुब्न पुग्यो भने गाउँमा झनै त्रास र आतङ्क बढाइदियो । आफ्नो निर्देष भाइ मारिएपछि उसको भारत फर्किने सोच बदलियो । सोच्यो—अव गाउँमा बस्नु ठिक छैन । अनि एकदिन बाआमा र श्रीमतीलाई जानकारी दिएर माओवादी युद्धमा होमिन पुग्यो । उसको शारीरिक अवस्थाले गर्दा होला, पार्टीमा जोडिएको केही महिनामै ऊ माओवादी सेनामा काम गर्न थाल्यो । उसले आफूलाई एउटा कुशल छापामारका रूपमा चिनाउँदै लगेको थियो । माओवादीमा लागेपछि सरकारी सेना र प्रहरीहरू बारम्बार उसको घरमा खानतलासी गर्नुका साथै बाबु, आमा र श्रीमतीलाई धम्क्याउँदै जाने गर्थे । ऊ पनि कहिलेकाहीं सुरक्षाकर्मीको आँखा छलेर रातारात घर आउँथ्यो र उज्यालो नहुँदै बाहिरिन्थ्यो । पाँच–छ वर्ष यसरी नै बितेको थियो र यसै वीचमा उसको छोरो जन्मिएको थियो ।
पार्टीले बेनी आक्रमणको तयारी चार–पाँच महिना अघिबाटै गरेको थियो । यसका लागि पार्टीले आक्रमणको स्वरूप, चुनौति र सम्भावना बारे अध्ययन पनि गरिरहेको थियो । त्यो विशाल फौजी कार्वाहीमा दुवै तर्फको ठूलो क्षति हुने सम्भावना उसले पनि बुझेको थियो । आक्रमणमा गएपछि बाँचेर फर्किन पाइने हो होइन भन्ने लागेपछि ऊ छोटो समयका लागि बिदा लिएर घर गएको थियो । त्यसबेला उसले श्रीमतीलाई जनयुद्धको उद्देश्य बारे बताउँदै आफू युद्धमा लागेकाले जुनसुकै बेला जे पनि हुन सक्ने र केही भइहालेमा पनि विचलित नहुन सम्झाएर छाडेको थियो । कान्छो छोराको हत्याले शोकमा डुबेका बाआमा भने दिलीप हरेकपल्ट घरबाट बाहिरिँदा आँसुको भल बगाएका हुन्थे । कुनै पार्टी–साटीमा नलागेको अबोध छोरालाई त हत्या गर्नेले झन् पार्टीमै लागेर हिँडेकालाई के बाँकी राख्लान् ? उनले छोरालाई भारतबाट छुट्टीमा आएदेखि नै देशको स्थिति बताएर तुरुन्त फर्किहाल्न भनेका थिए तर फर्किन ढिलो गर्नाले माओवादीले आफ्नो प्रभावमा पार्न सफल भएका थिए ।
बेनी आक्रमणको घटना सम्झँदा उसको मुटु ढक्क फुलेर आयो । त्यतिखेर युद्धमा होमिदा उसलाई कुनै डर–चिन्ता थिएन तर त्यही घटना अहिले सम्झिँदा भने कहाली लागेर आउँछ । बेनी आक्रमण गरेर फकिँदा काली गण्डकीमाथिको जङ्गलमा सरकारी सेना तिनीहरूकै बाटो दफनेर बसेका रहेछन् । अकस्मातको फायरिङले उनीहरू भागाभाग गर्न थाले । सेनाले बर्षाएको गोली लागेर कोही त्यहीँ ढले, कोही भाग्दा–भाग्दै भीरबाट कालीमा खसे । ऊ पनि पाखुरामा गोली लागेपछि भाग्दा भाग्दै भीरतिर खस्न पुग्यो तर संयोगले एउटा रुखमा अड्किन पुगेछ । सेनाले त्यतातिर पनि गोली वर्षाउन थालेपछि ऊ ढुन्मुनिदै तल तल झ¥यो । तल कालीगण्डकी सुसाइरहेको थियो । उसले बाँच्ने उपाय केही देखेन । त्यहीँ अडिएर बसोस् भने सेनाको गोलीले खसालीदिने छ, तल झर्ने हो भने यसै कालीमा खस्ने निश्चित छ । माथिबाट बर्षिरहेको गोली उसको छेउबाटै गइरहेको थियो । मृत्यु अत्यन्त निकट आइरहेको थियो । सेनाको गोली लागेर मर्नुभन्दा नदीमा खसेर मर्नु ठिक ठान्दै ऊ घिस्रिँदै गई नदीमा खस्न लाग्यो । नदीको चार–पाँच फिटमाटि एउटा ठुलै ढुङ्गा रहेछ, ऊ त्यसैमा अडियो । माथिबाट गोली चलिनै रहेको थियो । नदीमा खस्नै लाग्दा ढुङ्गाको मुनि एउटा सानो ओढार जस्तो खोक्रो भाग देख्यो र त्यसभित्र छि¥यो । बाँच्ने आशा थोरै पलाएर आयो । बल्ल लामो स्वास फे¥यो । तर यति नै बेला गोलीको आवाजसँगै छ्वाङ्ग–छ्वाङ्ग दुईबटा मानिस नदीमा खसे । उसले सोच्यो—हाम्रै साथीहरू हुनुपर्छ ! उसले चनाखो भएर नदीतिर हे¥यो । रुखको चरालाई जस्तै गरी तिनलाई गोलीले खसालिएको थियो । एकजना घाइते अवस्थामै थियो र बाँच्ने प्रयास गर्दै थियो तर त्यही बेला उसैमाथि ताकेर माथिबाट चार–पाँच राउण्ड गोली चलेपछि ऊ निष्प्राण बन्यो ।
मृत्युको सन्मुख सबै दुःख र चोटहरू गौण बन्दारहेछन् । अहिलेसम्म नदुखेको उसको गोली लागेको पाखुरा बल्ल दुख्न थाल्यो । बाँच्ने आशाले त्यो दुखाइलाई थुमथुम्याइरह्यो । निकै तिर्खा लागेको महसूस भयो र पानी सम्झ्यो तर आफूले भिरेको झोला र समाएको हतियार अघि नै नदीमा खसिसकेका थिए र त्यही आधारमा सेनाले उसलाई नदीमा खसेको अड्कल गरेको थियो । केही समयपछि गोली चल्न छाड्यो । वातावरण स्तब्ध बनेको थियो । उसले सेना फर्किएको अनुमान ग¥यो तर पनि झट्टै त्यहाँबाट निस्कने आँट गर्न सकेन । ऊ साँझ परुन्जेल त्यही खोँचमा घाइते शरीर लिएर बसिरह्यो । साँझ झमक्क परेपछि शरीरलाई घिसार्दै माथि उक्लियो अनि हिँड्दै जाँदा पर्वतको पाङ गाउँको एउटा घरमा पुग्यो ।
घरको पिँढीमा बसेका बृद्धले उसको परिचय मागे । परिचय दिन नपाउँदै भित्रबाट एकजना युवक झुलुक्क देखाप¥यो । उसले आगन्तुक व्यक्तिलाई एकछिन हेरेपछि आश्चर्य मान्दै भन्यो— “ओहो ! तपाईँ दिलीप होइन ? हैन, कहाँबाट आउनुभो यतिबेला !” केही खुसी, केही आश्चर्य र केही आशङ्काको वीच तुलबहादुरले भन्यो । आफ्नो पुरानो साथी तुल बहादुरलाई सङ्कटको यो स्थितिमा उसकै घरमा भेट्दा दिलीपमा खुसीको सीमा रहेन । उसले ठूलो राहतको महसूस ग¥यो । ऊ एकैछिन द्विविधामा प¥यो । वास्तविकता खोलौं कि नखोलौं भन्ने भयो । साथीको अवस्था राम्ररी नबुझी सबैकुरा खोल्नु सुखद नहुने ठानी उसले बनावटी कुरा ग¥यो—‘‘बाजुङमा फुपू बिरामी हुनुहुँदो रहेछ र भेटेर आएको, फर्किँदा ढिलो भैहाल्यो । तलबाट जाउँ भने अस्तिको घटनाले गाडी पनि चल्न दिएको छैन, यसैले माथिकै बाटो आउनुप¥यो भनेर आएको । सधैं गाडीकै बाटो गइन्थ्यो, आज यो नयाँ बाटो आएको, बाटोमा लडेर हातमा अलिअति चोट लाग्यो । खनियाघाट झरेर माइला बाकी छोरीकहाँ बस्नुपर्ला भन्ने सोचेर यो बाटो आएको अँध्यारो भैहाल्यो । तपार्इँसँग भेट्न लेखेको रहेछ !’’ दलबहादुरले बाबुसँग उसको परिचय गराउँदै भन्यो—‘‘उहाँ मेरो असाध्यै मिल्ने साथी दिलिप घर्ती । हामी पहिला इन्डियामा एउटै कम्पनीमा काम गथ्र्यौं । डेढ वर्षजति त एउटै कोठामा बस्यौं । पछि उहाँ अर्कै कम्पनीमा काम गर्न थाल्नुभयो, मचाहिँ त्यहीँको त्यहीँ छु ।’’ उसको परिचय पाएर बाबु पनि साह्रै खुसी भयो र हत्तपत्त भित्र गएर आराम गर्न आग्रह गर्दै श्रीमतीलाई खाना तयार गर्न लगायो । दुवै साथीहरू माथि तलामा गएर कुराकानी गर्न थाले ।
तुल बहादुरले आफ्नो सबै कुरा साथीलाई सुनाएपछि दिलीपले पनि घरायसी अवस्थादेखि कम्पनीको जागिर छोडेर आएको कुरासम्म ग¥यो । उसले आफू माओवादीमा लागेको कुरा अझै खुलाएन । खाना अघि दुवैले घरमै बनाएको रक्सी अलिअलि पिए । खाना खाएर दुवै एउटै कोठामा सुत्न गए । रातभरजसो दुवैले घरायसी व्यवहारदेखि राजनीतिसम्मका कुरा हृदय खोलेर गरे । तुलबहादुरको राजनीतिक आस्था बुझिसकेपछि अव दिलीपलाई आफ्नो यथार्थ कुरा लुकाउन जरुरत लागेन र सबै कुरा खोल्न थाल्यो । दिलीपको कुरा सुनेर तुलबहादुर एकछिन स्तब्ध बन्यो । त्यसपछि उसले दिलीपलाई केही दिन उसकै घरमा बसेर अलि दिनपछि सँगै इन्डिया जान सुझाव दियो । ‘‘मेरो पनि छुट्टी एक हप्ताभन्दा बढी बाँकी छैन । सँगै इन्डिया जाऊँ, त्यहाँ एउटा न एउटा काम कसो नपाइएला र ? केही नलाए उतैबाट अरवतिर जानुहोला । यो द्वन्द्व समाप्त नभइन्जेल तपाईँ गाउँ फर्किने कल्पनै नगर्नुहोस् । बरु भारत छिर्न अलि गाह्रो हुन्छ । मसँग कम्पनीको पुरानो र नयाँ दुईवटा आइ.डि. छन् । एउटामा तपाइँको फोटो राखेर नाम सच्याउन सक्यौं भने बाटोमा चेक गर्नेलाई भइहाल्छ । तिनीहरूलाई आइ.डि.मा फोटो देखेपछि पुगिहाल्छ । म कुरो मिलाइहाल्छु, कार्डमा कम्पनीको फोन नंवर समेत भएकाले अझै विश्वासिलो हुन्छ । तैपनि सकभर तिनीहरूको आँखा छल्नेगरी हिँड्नुपर्छ । बिहान बाँचै बजे तल बाटोमा झरेर बागलुङबाट आएको सुनौलीको गाडी समाउनु पर्छ । सुनौलीको गाडीमा धेरैजसो लाहुरेहरू हुन्छन् र तिनको चेकजाँच मालढुङ्गामा भइसकेको हुँदा पछि त्यति टाइट हुँदैन ।’
दिलीप फर्केर घर जाने स्थिति थिएन । त्यसैले तुलबहादुरको सुझाव उसको लागि बाँच्ने त्राण बन्यो । तुलबहादुरले कुश्मा गएर औषाधि ल्याई उसको उपचारमा सघाउ पु¥यायो । जरो आएको भन्दै दिलीपलाई घरबाट बाहिर निस्कनै दिइएन । चार–पाँच दिनमा घाउ केही कम भएपछि ऊ पनि तुलबहादुरसँगै भारततिर जाने तयारी ग¥यो । ऊसँग लगाएको लुगा अनि व्यागमा पाँच–सात सय रूपैयाँ र केही कागजपत्र बाहेक अरु केही थिएन । सबै व्यवस्था तुलबहादुरले नै गरिदियो । दिलीप र तुलबहादुर भारतमा छँदा दिल्लीको एउटै कम्पनीमा काम गर्थे । तिनीहरू डेढ वर्षसम्म एउटै कोठामा बस्ने र सँगै खाने गरेका थिए । आपसमा घर, परिवार, समाज अनि देश र राजनीतिको बारेमा पनि छलफल हुने हुनाले तिनीहरू बीचको सम्बन्ध आत्मीय बन्दै गएको थियो । तिनीहरू त्यहाँको नेपाली एकता समाजमा पनि जोडिएपछि राजनीतिक रूपले केही सचेत बनेका थिए । पछि दिलीप त्यहाँ छोडेर अर्को कम्पनीमा गएपछि भने संपर्क पातलिएको थियो । कुराकानीकै क्रममा दिलीपले थाहा पायो– तुलबहादुर राष्ट्रिय जनमोर्चाको निकट रहेछ । दिलीप पनि पहिला त त्यही पार्टीकै निकट थियो तर गाउँमा राज्यले चलाएको हत्या र आतङ्क अनि आफ्नै भाइको हत्यापछि ऊ कम्पनीको जागिर समेत छोडेर माओवादीमा लागेको थियो ।
उनीहरू बडो मुस्किलले सुरक्षा जाँचबाट बचेर दिल्ली पुगे । दिलीपले डेढ वर्षजति दिल्लीमै स–सानो नोकरी ग¥यो । यस अवधिमा उसको घरमा संपर्क हुन सकेन । न त त्यतिखेर उसँग मोवाइल थियो न त घर–परिवार र गाउँमै टेलिफोनको व्यवस्था भइसकेको थियो । चिठी पठाउनु त्यत्तिकै जोखिमयुक्त थियो । उसको घर र परिवारलाई सेनाले निगरानी गरिरहेको थियो । यसैले व्यक्ति मार्फत् खवर पठाउन पनि सम्भव भइरहेको थिएन । यही अवस्थामा ऊ कम्पनीमै काम गर्ने कोही दलाल मार्फत् मलेशिया पुग्यो । आफू काम गर्ने कम्पनीको मालिकले मलेशियामा पनि कम्पनी खेलेको हुँदा उसैको कम्पनीमा काम गर्ने भनी उसलाई लगिएको थियो । त्यहाँ पुग्नासाथ उसलाई लिन एकजना अपरिचित व्यक्ति आयो । उसले अर्को व्यक्तिलाई जिम्मा लगायो । यसरी हस्तान्तरित हुँदै जाँदा उसलाई क्वालालम्पुरबाट निकै परको ग्यान्टिङ हाइल्याण्डको पहाडी थुम्कोको एउटा कृषि फर्ममा काममा लगाइयो । त्यहाँ कुनै बाह्य संपर्क गर्नसम्म दिइँदैनथ्यो । छन त त्यहाँ अरु दुई–चार जना नेपाली पनि काममा लागेका थिए तर तिनीहरू पनि बन्दी जस्तै बनेर बसेका थिए । त्यहीँ फर्ममा नै उनीहरूलाई खानेबस्ने व्यवस्था गरिएको थियो । यसरी आठ वर्षसम्म ऊ मलेशियामा बेखवर भएर बन्दी जस्तै भई बस्न पुग्यो । संयोगवस एकदिन कम्पनीको भारतीय मालिक त्यहाँ निरीक्षणमा आउँदा उसले भेट्ने अवसर पायो । आफ्नो समस्या रुँदै बताएपछि उसकै सहयोगले दिलीपलाई नेपाल फर्किने वातावरण बन्न पुगेको थियो ।
× × ×
विगतलाई सम्झँदै जाँदा रातको बाह्र बजेको थियो । बसका सबैजसो यात्रुहरू मस्तसँग निदाइरहेका थिए । उसले पनि निदाउने प्रयास ग¥यो तर पटक्कै सकेन । उसले आफ्नो घरपरिवारका बारेमा अनेकौं अड्कल लगायो । कहिले नकारात्मक पक्षबाट सोच्दथ्यो र छङ्गाछुर भीरबाट खसेझैं हुन्थ्यो अनि कहिले सकारात्मक पक्षबाट सोच्थ्यो र नयाँ नयाँ सपना सजाउँदै उत्साहित बन्दथ्यो । बागलुङबाट अर्को बस वा जिप चढ्नुपर्ने भएपनि बिहान बागलुङ पुग्नासाथ घरपरिवारका बारे थाहा हुनेछ भन्ने लाग्यो । पक्कै पनि कसै न कसैले मलाई चिन्नेछन् वा नचिने पनि घरको बारेमा केही न केही थाहा हुनेछ । तीन बजेसम्म उसले आँखा झिमिक्क गर्न सकेन । तीन बजेपछिको चिसो हावाले उसको बाफिएको मस्तिष्कलाई ताजा बनाइदिएछ कि ऊ निदाउन थाल्यो । बागलुङ पुगेपछि यात्रुहरू ओर्लन थाले । तर ऊ भने एक्लै निदाइरहेको थियो । बस चालकले उसलाई उठाउँदै भन्यो—“ओ, दाइ ! बागलुङ आयो, ल ओर्लनोस् !” चालकको चर्को आवाजले ऊ जर्खराउँदै उठ्यो र आफ्नो सुटकेस र झोला लिएर झ¥यो । बिहानको छ बजेको हुँदा चहलपहल सुरु भइसकेको थियो । उसले सरसर्ती चारैतिर नजर फैलायो । यहाँको परिवेश पनि नितान्त नौलो लागेर आयो । मानौं ऊ आफ्नो जिल्ला सदरमुकाम बागलुङ होइन अन्यत्र कतै आइपुगेको छ । चियापसलमा ग्राहकहरू झुम्मिन थालेका थिए । ऊ अलि परको चिया पसलमा गयो । त्यहाँ पनि चार–पाँच जना व्यक्तिहरू चिया पिउँदै थिए । कोही गाउँतिरका मान्छे भेटिन्छन् कि भनी यसो आँखा डुलायो तर त्यस्तो कोही नभेटेपछि दोकानदारसँग सोध्यो —“दाइ, हटियातिर जाने गाडी पाउँदैन ?” दोकानदारले हातको इसाराले भन्यो—‘‘ऊ त्यतातिर लाग्छ हटिया, बुर्तिवाङतिर जाने बस ।” हिँड्न नपर्ने भयो भनी ऊ केही ढुक्क भयो । “भाइको घर कता प¥यो नि ?” दिलीपले अस्पष्ट जवाफ दियो—“त्यतैतिर हो ।” पसलेले पनि हटियातिरको कुनै लाहुरे होला भनी सोच्यो र बढी सोधेन । उसको मनभित्र कता–कता पसलेले आफ्नो घरतिरको कुनै अशुभ खवर भनिदिन्छ कि भन्ने अज्ञात भय मडारिएको थियो ।
चियासँगै अण्डा र पाउरोटी खाएपछि ऊ पसलेले देखाएतिर सोझियो । त्यहाँ दुई–तीनवटा जीप र एउटा बसले यात्रुको प्रतीक्षा गरेझैं देखिन्थे । बस हिँड््ने सुरसार थिएन भने एउटा जिपचाहिँ स्टार्ट गरिरहेको थियो । उसलाई देख्ने वित्तिकै जिपवालाले भन्यो—“दाइ कहाँ हो ? दुई सिट मात्र बाँकी छ, ल आउनोस् ।” उसले आफू हटियातिर जाने बताएपछि जिपवालाले बसतिर देखाइदिँदै भन्यो—“ऊ त्यो बस जान्छ ।” बसमा आधाभन्दा बढी यात्रुहरू शान्तसँग बसेका थिए । उसले बसको कन्टक्टरलाई सोध्यो– “कतिबेला जान्छ ?” “सात बजे हिँडिहाल्छ । जाने भए ऊ त्यहाँ गएर टिकट काट्नोस्, फेरि सिट नपाउला ।” टिकट काटेर ऊ बसभित्र छि¥यो । उसलाई लाग्यो—यो बसमा पक्कै पनि ताराखोला र हटियातिरकै यात्रुहरू बेसी होलान् । यसैले बसभित्रका कोही न कोही पक्कै आफूले चिनेका मान्छे हुनुपर्छ ! उसले सरसर्ती बसभित्रका सबै यात्रुतिर नजर फिँजायो र बसमा बसेका यात्रुहरूले पनि उसलाई हेरे । तर कुनै पनि अनुहार परिचित जस्तो लागेन । व्यक्तिको जीवनमा दश वर्षको अवधि भनेको थोरै होइन । एक दशकमा व्यक्तिको जीवनमा मात्र होइन भौतिक परिवेशमा पनि धेरै परिवर्तन भएको हुन्छ ।
एकै छिनमा बस हिँड्न थाल्यो र बसको गतिसँगै उभित्र पनि सम्झनाको छाल बेस्सरी उर्लन थाल्यो । ‘कस्तो भयो होला मेरो घर ? कस्ता भए होलान् बाआमा र छोरा अनि कस्ती भइहोलिन् शीला ! मलाई यसरी अप्रत्यासित रूपमा देख्दा के गर्दा हुन् ! कति खुसी होलान् ! एक दशकसम्म पति–सुखबाट विमुख श्रीमतीको अनुहार कति उज्यालिन्छ होला ? पीडाले रन्थनिएका बाआमाको आत्माले बल्ल शान्ति पाउने छ ।’ ऊ मीठो र आश्चर्यमय भेटको कल्पनाले रोमाञ्चित हुन पुग्यो । ‘अव कहिल्यै पनि घर छोडेर हिँड्ने छैन, यतिन्जेल गर्न नपाएको बाआमाको सेवाको हर्जाना र व्याज अत्यन्त श्रद्धा र सम्मानसाथ चुक्ता गर्नेछु । आफूले पढ्न नपाएको धोको भाइलाई पढाएर पूरा गर्छु भन्ने थियो, ऊ पनि मारिएपछि अव छोरोलाई पढाएर त्यो धोको पूरा गर्नुपर्छ । आफूले ल्याएको पैसा शीलााकै सल्लाहले खर्च गर्नुपर्छ । विचरा, कति पीडा खपेर बसिहोली ! यहाँ यसरी बसेको छु भन्ने खवरसम्म पठाउन सकेको भएपनि उनीहरू आशाको दियोमा तेल थप्दै बस्दा हुन् तर के गर्ने संपर्कविहीन भएर बस्नुप¥यो । भागेर जाऊँ भने पनि आफूसँग पासपोर्ट थिएन । मलेशिया जानु नै मेरो ठूलो गल्ती थियो । भारतमै स–सानो नोकरी गरेर बसिरहेको भए कमसे कम यति लामो समयसम्म संपर्कविहीन हुनुपर्ने थिएन … …।’ सोच्दासोच्दै ऊ झर्ने ठाउँ आइपुग्यो । हटिया उसको गाउँ नभएपनि स्थानीय बजार थियो । स–सानो किनमेल गर्न पनि उसको गाउँ ताराखोलाका मानिसहरू यहाँ आउँथे । यसैले उसको गाउँसँग हटियाको नाता थियो । बसबाट ओर्लिएर वरिपरि हे¥यो । ठाउँ र परिवेश नै नयाँ र नौलो जस्तो लाग्यो । एक दशक अघि आफू हुँदासम्म यहाँ गाडी आउँदैनथ्यो, बागलुङबाट दिनभर कस्सिएर हिँड्दा पनि घर पुग्न गाह्रो–गाह्रो हुन्थ्यो । ठूला ठूला आर.सि.सि. घरहरूले बजार ढाकेर अर्कै स्वरूपको भइसकेछ हटिया ! ‘यो स्वरूपको हटियाले यहीँका बासिन्दालाई त नचिन्ला जस्तो छ भने पल्लो गाउँको मलाई यसले के चिन्थ्यो र ?’— उसले मनमनै भन्यो । उसलाई आफ्नै गाउँ नजिक आइपुगेर पनि कुनै विरानो गाउँमा आइपुगेंकि जस्तो भइरहेको थियो । उसले आफ्नो गाउँ ताराखोलातिर हे¥यो । गाउँतिर हेर्नासाथ मुटु ढक्क फुलेर आयो । खुसी र भयको भेल एकसाथ उर्लिएर एकैठाउँ मिसिए जस्तो भयो । समथरिलो फाँट, फाँटभन्दा केही माथि राता–सेता घरहरू र घरका वीच वीचमा देखिने डाले घाँसहरूको दृश्यले टाढाबाट हेर्दा ताराखोला गाउँ निकै सुन्दर र आकर्षक थियो । नजिकै शान्त भएर बगिरहेको खोलाले यहाँको माटोलाई सिँचित गरी उर्बर बनाउन सघाइरहेको थियो ।
बस रोक्ने ठाउँमा सानो चिया पसल गरेकी एउटी युवतीले उसलाई निकै गढेर हेरी । उसलाई पनि कता कता परिचित अनुहार जस्तो लागेर आयो, तर न युवतीले चिनेर बोल्न सकी न ऊ नै बोल्न सक्यो । दश वर्षको अन्तरालमा उमेर पुगेका कति छोरीहरू बिहे गरेर गइसके होलान् अनि कति घरमा नयाँ बुहारी भित्रिए होलान् । अनि कसरी चिनोस् उसले आठ–दश वर्ष यता बिहे भएका बुहारीहरूलाई ! त्यस पसलमा गएर चिया पिउँदै आफ्नो गाउँघरको खवर सोध्ने विचारले ऊ पसलको एउटा कुर्सीमा गई बस्यो । युवतीले पुनः उसको मुखतिर हेरेर सोधी—“दाजु विदेशबाट आउनुभए जस्तो छ, कहाँ प¥यो होला घर ?” दिलीपले केही अप्ठेरो जस्तो गरेर जवाफ दियो—“त्यहीँ पर ताराखोला हो । मनवीर खत्रीलाई चिन्नुहुन्छ ?” उसले बाबुको नाम दिएर सोध्यो । “भाइले, बुबाले भए चिन्नुहुन्थ्यो होला, म त बल्ल पोहोर साल बिहा भएर आएकी नयाँ मान्छे, कसरी चिन्नु र खै !” चिया र चना खाएर ऊ बाटो लाग्यो । उसले लिएको सुटकेस र झोला देखेर दुई तीन जना बच्चाहरू नजिकै आए । अघिपछि बच्चाहरूसँग आफंै झ्याम्मिन र बोल्न रुचाउने उसलाई आज ती बच्चाहरूसँग किन किन बोल्न मन लागेन । ती बच्चाहरूको अनुहारतिर हेरेर के के सोच्यो र दोकानबाट चकलेट किनेर तिनीहरूलाई दुई–दुई वटा दियो । उसलाई ती बच्चाहरू देखेर कता–कता छोराको झल्को लाग्यो । सोच्यो—‘मैले छाड्दा छोरो यिनीहरू जत्रै थियो । अहिले त यिनीहरूभन्दा धेरै ठूलो भइसक्यो होला । म आएको थाहा पाएको भए शायद यहाँसम्म लिन आउँदो हो ।’ झोला ठिकैको भएपनि सुटकेस भने अलि ठुलै थियो । सुटकेस बोक्न कोही मान्छे खोज्नुपर्छ कि भन्ने लागेर एकछिन त्यसै उभियो । ‘घरको स्थिति नबुझिकन यत्रो वर्ष हराएको मान्छे यत्तिकै भरिया लिएर जाँदा…।’ ऊ अनेक आशङ्काले घेरियो । फेरि सोच्यो– ‘अव आधा घण्टाजतिको बाटो हो, आफैंले बोकेर जानुपर्ला ।’ पछाडि झोला भिरेकै थियो, सुटकेसलाई घरि टाउकोमा चढाउने र घरि हातमा झुण्ड्याउने गर्दै हिँड्न थाल्यो । भित्री बाटो घरको आँगन–आँगन र कान्ला–कान्ला गर्दै हिँड्ने हो भने आधा घण्टामै घर पुग्न सकिन्थ्यो । ऊ पहिला हटिया आउँदा यसरी नै आउने गथ्र्यो तर किन किन आज उसलाई त्यसरी भित्री बाटो हिँड्न मन लागेन । सकभर कसैले नदेख्ने गरी एकैचोटि घर पुग्न पाए भन्ने लाग्न थाल्यो । भित्र कता–कता डर लागे जस्तो, कुनै अपराधबोध भए जस्तो वा कुनै सन्त्रास उत्पन्न भएजस्तो लागिरहेको थियो ।
बाटोमा एउटी महिला भैंसी चराइरहेकी थिइन् । छाता ओढेकी हुँदा अनुहार छोपिएको थियो । उसलाई शीलाको झल्को लाग्यो । कतै शीला नै भैंसी चराउन आएकी त हैन ! शरीरको बनावट मात्र होइन लवाइ पनि मिल्दो नै लाग्यो । उसको हृदय एकाएक रोमाञ्चित हुन थाल्यो । महिलाले उसलाई देखिन शायद, नत्र गाउँमा आउन लागेको नयाँ व्यक्ति देख्नासाथ स्वाभाविक चासो लाग्नुपथ्र्याे । ऊ एकैछिन थकाइ मार्न उभिएझैं टक्क उभियो र ती महिलातिर हे¥यो । एकछिनपछि तिनको दृष्टि दिलीपतिर प¥यो । तिनले छाता पछाडितिर ढल्काएर चिन्न खोजेझैं नवागन्तुक व्यक्तिलाई हेरिन् । दिलीपको मन खिस्रिक्क भयो । अघि भर्खर पलाएको उत्सुकता हराएर गयो । उनी न शीला थिइन् न त शीलासँग मिल्दो अनुहारकी नै थिइन् । अलि प्रौढ उमेरकी दलित महिलाझैं देखिन्थिन् । ऊ केही बोलेन र ती महिलाले पनि एकछिन हेरेपछि छातालाई साविकझैं सोझो पारी अनुहार छोप्न पुगिन् ।
गाउँको गोरेटो बाटोबाट थोरै माथि उक्लिनुपथ्र्यो उसको घर जान । यसैले बाटोबाट उसको घर देखिँदैनथ्यो । तैपनि बाटोमा उभिएर माथि घरतिर हे¥यो । यति लामो बाटो आउँदा पनि उसलाई चिन्ने एउटै भेटिएनन् । कस्तो सन्नाटा ! किन यति सुनसान छ गाउँ ? त्यस्तो चहलपहल हुने गाउँ अहिले किन यस्तो बस्ती नै नभए जस्तो ? केही भय र केही संशयसँगै केही खुसी र उत्साह पनि उसको मनमा हावाको झोक्काझैं प्रवाहित हुन थाल्यो । ‘मलाई यसरी अकस्मात र अकल्पनीय रूपमा देख्दा के गर्लान् मेरा बाआमा ! अनि बर्षौंदेखि हराएको खुसी अकस्मात भेटाउँदा कति गद्गद् होलिन् शीला ! बासँग राम्ररी बोल्न र चिन्न समेत नपाएको छोरो खुसीले कति उफ्रिएला ! पहिला छोरोले देख्यो भने त चिन्नै नसकेर ट्वाल्ल परेर हेर्छ होला ! बरु सबै जना घरमा छन् कि छैनन् ।’ उसले हातको घडी हे¥यो, पौने तीन भएछ । ऊ पूरा घर देखिने ठाउँमा पुगी एकछिन अडियो र घर वरपरको परिवेश नियाल्न थाल्यो । छैन, खासै परिवर्तन भएको छैन । कता–कति आर.सि.सि. घर बनेछन्, कतिपय घरका छाना फेरिएछन्, बाँकी सबै उस्तै ! ठाउँ ठाउँमा डोजरले जोतेर बाटो चाक्लो बनाएछ, हराभरा गाउँ उराठिलो भएछ । गाउँको रूप बिग्रिएझैं, कौमार्य हराएझैं वा अनुहारमा अस्वाभाविक पाउडर र लाली पोतेर बसेकी बुढी बेश्या जस्तो पो बन्न पुगेछ ! घर देख्नासाथ उसको छाती ढक्क फुलेर आयो । उसको नशा नशामा रातो र सेतो रक्तकोष एकसाथ प्रवाहित भएझैं खुसी र उदासी एकसाथ प्रवाहित हुन थाल्यो । घरमा आउन पाउँदाको आनन्द र घरको परिवेश देख्दाको अत्यास एकसाथ मिसिन पुग्यो ।
बाहिर पिँढीमा बसेका बाबु, गोठमा काम गर्न लागेकी शीला, भित्र खाजा बनाउँदै गरेकी आमा अनि आगनमा खेलिरहेको छोराको कल्पना गर्दै ऊ घर नजिक पुग्यो । तर उसले कल्पना गरेभन्दा भिन्न थियो घरको परिवेश । घर वरपर कुनै रौनक थिएन, एकदम सुनसान थियो । वातावरण पनि उजाड जस्तो लाग्यो । घर बाहिर कोही मानिस नदेखेपछि उसको मन अझ गह्रौं भएर आयो । मुटुभित्र चीसो पानी बगेझैं हुन थाल्यो । जति–जति पाइला अघि बढाउँदै गयो उति–उति जमिन भासिएझैं हुन थाल्यो । बारीले गोडमेल नपाएको प्रस्टै देखिन्थ्यो । घर पनि लिपपोत नगरे जस्तो, घरको भित्ता पनि ठाउँ ठाउँमा उप्किएको । ढुङ्गाको छानो भएपनि छानो चुहिएर होला एक–दुई ठाउँमा प्लाष्टिक घुसारेर ढुङ्गाले अँठ्याए जस्तो ! गोठतिर हे¥यो, एउटा भैंसीको थोरे बाँधिएको थियो । गोठमा बाँधिएको थोरेले उसको आशङ्काको पारोलाई थोरै तल पु¥यायो । आफूले छोडेर गएको घरभन्दा धेरै नै उजाड, साँच्चिकै ‘छोडेको घर’ जस्तो लाग्यो । ढोका खुलै हुनाले आशङ्काको पारो केही तल झ¥यो । गह्रौं पाइला घिसार्दै आँगनमा पुग्यो अनि आमालाई सम्बोधन गरेर बोलायो— “आमा !” फेरि दोहो¥याएर अलि चर्को स्वरमा बोलायो—“आमा !!” लगत्तै छोरोलाई बोलायो—“राजु ! ए राजु !” कुनै प्रतिक्रिया आएन । सुटकेस पिँढीमा राखेर उभिएरै यताउता हेर्न थाल्यो । पहिला कसलाई देख्न पाइएला ? बा, आमा, शीला वा राजु ? ढोका खुलै हुनाले धेरै टाढा नगएको अड्कल लगायो । तर अघिको खुसी र उत्साह मर्दै एक खालको उदासी र अत्यासले छोप्न लागेको थियो ।
माथि तलामा कसैले हलुका खोकेजस्तो आवाजले ऊ केही आश्वस्त भयो । आवाज महिलाको थियो । पिँढीमा एउटा पुरानो गुन्द्री ठड्याएर राखिएको थियो, डिलतिर तानेर बस्यो । भित्रबाट एउटी महिला निस्किन् । तिनलाई देख्नासाथ ऊ खङ्ग्रङ्ग भयो । शरीरको सारा रगत जमेजस्तो हुन पुग्यो । ती महिला उसकी आमा वा श्रीमती नभएर गाउँकै भाउजू पर्ने महिला थिइन् । ती महिलाले केही बेर आगन्तुकको मुखमा हेरेपछि आश्चर्यचकित हुँदै भनिन्— ‘‘दिलीप बाबु ?!’’ उसले पनि ती महिलातिर गडेर हे¥यो । आफ्नो घरमा बा, आमा, श्रीमती र छोरा होलान्, आफू आएको देख्नासाथ हर्षविभोर हुँदै उसलाई छोप्लान् अनि अहिलेसम्म भोगेका पीडा, पीर र व्यथाहरू एकाएक हराएर गई खुसी र आनन्द बर्षिन थाल्नेछ भन्ने अनुमान विपरीतको स्थिति देख्न पुग्दा ऊ निस्सासिएझैं हुन पुग्यो । एकाएक अनेकौं आशङ्काका काला बादलहरू मुस्लिएर उसलाई छोप्न थाले । एकैछिन दुवैले एक–अर्कालाई हेरिरहे, केही बोलिहाल्न सकेनन् । भाउजूको अनुहार अनि घरको परिवेशले नै अनिष्टको सङ्केत गरिसकेका थिए । भाउजूका आँखाबाट आँसु टिल्पिलाएपछि उसको वरिपरि अँध्यारो छाउन थाल्यो । बडो अप्ठेरोसँग उसको गलाबाट शब्द निस्कियो— ‘‘भाउजू, खै त बा–आमाहरू ?” भाउजूका टिल्पिलाइरहेका आँखाबाट आँसु झर्न थालेपछि उसका आँखाले आँसुको भाषा बुझिहाले र रोक्दारोक्दै पनि उसका आँखाबाट आँसु बग्न थाले ।
भाउजूले पटुकीको छेउले आँसु पुछ्दै भनिन् —“बाबु ! कहाँ हराउनुभथ्यो यतिन्जेल ? तपाईँलाई त उत्तिखेरै बेनी घटनामा सेनाले मा¥यो पो भन्थे । पार्टीका मान्छेले नै त्यो खवर ल्याएपछि बाआमा धेरै दिनसम्म थला पर्नुभयो । देउरानी त दुई दिनसम्म बेहोसै भएकी थिइन् । एक–दुई पटक त पार्टीका मान्छेहरू आएर सम्झाएका पनि थिए । तपाईँ हराएको दुई वर्षपछि बा बित्नुभयो । छोरोले पनि छ–सात कक्षा पढेर त्यसै छोड्यो । देउरानीले छोरालाई पढाउन धेरै बल गरिन्, केही लागेन । पढ्न छोडेपनि घरमै आमालाई सघाएर बसेको भए हुन्थ्यो, त्यसै बरालिएर हिँड्यो । कोही काठमाडौंमा छ भन्छन्, कोही नेपालगञ्जमा देख्यौं भन्छन् । कोही गाडीमा खलाँसी भएर हिँड्छ भन्छन् ।” ‘छोरो काठमाडौं वा नेपालगञ्जतिरको बसमा हिँड्ने गरेको’ भन्ने सुन्नासाथ आफूले काठमाडौं बसपार्कमा भेटेको र ‘नेपालगञ्ज जाने हो ?’ भन्दै सुटकेस समाउन खोजेको केटोलाई सम्झन पुग्यो । उसको मस्तिष्क चौंडालेपिङ झैं फन्फनी त्यही केटाको नजिक घुम्न थाल्यो ।
भाउजूले थपिन्—‘‘छोरो हराएको अलि महिनापछि देउरानीले पनि घर छोडेर हिँडिन् । शीला कता हराइन् कता, केही पत्तो भएन । अहिले तीन वर्ष भयो उनी हराएको पनि । देखेरै हो कि त्यसै हो, कोही बुटबलमा देखेथ्यौं भन्छन्, कोही फरालेर मरी अरे पनि भन्छन्, कोही के भन्छन् कोही के भन्छन् । यता आमा एक्लै हुनुभयो । रोग लागेको थियो । मलाई बोलाएर ‘बुहारी ! तिमी पनि एक्ली नै छौ, मेरो यो स्थिति छ, आऊ यहीँ बसौं’ भन्नुभयो । मेरो पनि कोही सहारा थिएन । तपाईँको दाइले अर्की ल्याएपछि मेरो खोजी–खवरी केही भएन । घर नजिकै कटेरो बनाएर राखिदिएका थिए । पाखुरो चलाएरै खाएकी थिएँ । आमाले नै मलाई यहाँ ल्याउनु भएको हो । भन्नुहुन्थ्यो—‘म अव धेरै बाँच्दिन, नाति फर्केर आउने हो–होइन ठेगान छैन । आयो भने पनि तेरा कोही छैनन् । घर सम्हालिदिइस् भने आफ्नै आमा सम्झने छ । केटो आएन र अन्तै बस्यो भने पनि तैेंले यसलाई आफ्नै घर सम्झेर बसेस् ।’ आमा बेला–बेलामा तपाईँलाई सम्झेर भक्कानिनुहुन्थ्यो । तपाईँलाई केही भएको छैन भन्ने मात्र थाहा भएको भए पनि घर यसरी उजाड हुने थिएन । बा त बाँच्नु हुन्थ्यो कि हुन्नथ्यो कुन्नि तर आमा, देउरानी र छोरोलाई चाहिँ अहिले घरमै देख्न पाउनु हुन्थ्यो । बाबु, किन त यतिन्जेल खबरसम्म नगरी बस्नुभएको ?”
ऊ घुँडामा मुन्टो राखेर धेरैबेर रोइरह्यो, मुन्टै उठाएन । एकछिनपछि भाउजूले सम्झाउँदै भनिन् —‘‘के गर्ने बाबु, लेखेकै यस्तै रहेछ ! अव मलाई आमा जस्तै सम्झनुहोस्, छोरो काठमाडौंतिर छ कि कता छ, खोजेर ल्याउनुहोस् । देउरानी पनि जिउँदै रहिछन् र कसैसित गएकी रहिनछन् भने तपाईँ आएको थाहा पाएर पक्कै आउनेछिन् । अन्तै हिँडेकी रहिछन् भने तपाईंले पनि अर्की बिहे गरेर घरजम गर्नोस् । अझै उमेर गएको छैन् । मन सम्हाल्नुहोस् बाबु ! युद्धमा लागेर घर उजाड भएका धेरै परिवार छन्, तिनलाई सम्झेर चित्त बुझाउनोस् । कति टाढाबाट आउनुभएको होला, हातखुट्टा धुनोस् र आराम गर्नोस् ।’’
भाउजूले ठूलो अम्खोरामा पानी ल्याएर उसको नजिकै राखिदिइन् । उसले कपडा र जुत्ता समेत नफुकाली रोएर फुलेको मुख र हात धोयो अनि भाउजूसँग मागेर दुई गिलास पानी खायो । घरायसी सर–सामान भएको सुटकेस भाउजूलाई दिएर भन्यो — ‘‘भाउजू, यो राख्नोस् । म उनीहरूलाई खोज्न जान्छु ।” आफूले भिरेको सानो झोला लिएरै ऊ हिँड्न थाल्यो । भाउजूले उसलाई रोक्न खोज्दै भनिन् —‘‘कहाँ आउन नपाउँदै हिँड्न खोज्नुभएको बाबु ! साँझ पर्न लाग्यो । गए पनि एक–दुई दिन आराम गरेर, राम्ररी बुझेर जानु होला । गाडीमा हिँड्ने भएपछि छोरालाई फेला पारिहाल्नुहुन्छ, किन आत्तिनुभएको त्यसरी !” उसले सुनेको नसुन्यै ग¥यो र जताबाट आएको थियो त्यतै लाग्यो । बाटोमा झर्ने बेला फर्केर घरतिर हे¥यो—अघि आउँदा जसरी हेरेको थियो त्यसै गरी । अनि सरासर बाटोमा निस्कियो, दायाँ बायाँ केही नहेरी । हटियामा आइपुग्दा घाम डुब्नै लागेको थियो । ऊ समयको ख्यालै नगरी अगाडि बढ्यो, बढिरह्यो ।
एक घण्टाजति हिँडेपछि झमक्क साँझ प¥यो तर उसले त्यसको पर्वाह गरेन, मूल बाटो हिँडिरह्यो । केही समयपछि हर्न लगाउँदै पश्चिमतिरबाट बस आएको देख्यो । ऊ अगाडि उभिएर हात उठायो । बस रोकियो । ‘‘कहाँ हो ?” कन्टक्टरले सोधेपछि उसले ‘बागलुङ’ भन्दै बस चढ्यो । उसलाई थाहा थियो जहाँ जाने भएपनि बागलुङकै बाटो जाने हो । त्यहाँभन्दा अघि जानेरहेछ भने बस जहाँसम्म जान्छ त्यहीँसम्म जानुपर्ला ! संभवतः बुर्तिवाङबाट काठमाडौं वा सुनौली जान हिँडेको नाइट गाडी थियो तर उसले कुनै पर्वाह गरेन । उसको यात्राको कुनै गन्तव्य थिएन, जहाँसम्म जान्छ त्यहाँसम्म पुग्ने मात्र थियो । बस आफ्नै रफ्तारमा दौडियो । उसले आफू कुन बसमा चढेको छु भन्ने पनि थाहा पाएन र थाहा पाउन पनि चाहेन । कहाँ पुग्ने भन्ने पनि सोचेन । भन्नलाई त भाउजूलाई आमाछोरा खोज्न भनेपनि उसको गन्तव्य अहिले छोराको खोजीमा थिएन न त शीलाकै खोजीमा थियो । शून्य मन–मस्तिष्क लिएर ऊ अज्ञातस्थलतिर हिँडिरहेको थियो । बाहिर अँध्यारोले छोपिसकेको थियो । बसको ड्राइभरले गीतको क्यासेट खोल्यो—
‘‘भोलि उठी कहाँ जाने केही थाहा छैन फर्की आउने हो कि हैन केही थाहा छैन ।’’
(कास्की)