ऊ चाउरे मात्र होइन
एक्ले पनि हो, कसैले ढुङ्गे कान्छो भन्छन्
सायद बिरलै घरहरु बने होलान् उसले ढुङ्गा नबोकेर
ऊ नितान्त एक्लो फगत एक्लो आजीवन एक्लो ।
गरिबी निर्धनमा हुन्छ, यो झुटा हो
टिनले छाएको घर, कुनै गाउलेको भन्दा किन कम छ र !
फरक यति हो
अरुका ढोका दिनमा कैयौं पटक उघ्रन्छ तर
चाउरेको ढोका बषौंसम्म कसैले खोल्दैन ।
एउटी छोरी पनि छ रे ! विहेमै दाइजो आएकी
कानुनले बाउछोरी बनेपछि ऊ कहिले फर्किन
चाउरे परिश्रमी छ त्यति नै इमान्दार पनि
निर्देशित रोबर्टजस्तै बस्दैन गन्तव्य नपुगिकन
चुरुप्प गिलासको स्वादसँग दिनभरिको थकाइ मेट्छ
भारी नबोक्दा पीडा बोध हुन्छ उसलाई ।
यदि सेवा धर्म हो भने चाउरे पवित्र मन्दिर पनि हो
उसलाई डुङ्गा बनाएर बैतर्नी तर्नेहरु लामबद्ध छन्
ऊ धर्मको साहु पनि हो उसका ऋणीहरुले
सायद मनको तमसुक च्यात्न चोला बदल्नै पर्छ ।
सृष्टिको पालनकर्ता विष्णु हुन् भने
उसले कसलाई पालेन र ?
चाउरे विष्णुकै अवतार पनि हो
ऊ दाइजोको प्रतीक पनि हो
कहिले बाउद्वारा छोरीकहाँ
कहिले छोरीद्वारा बाउकहाँ पठाइन्छ ।
आफ्नो पसिना चुस्नेहरुसँग उसको कुनै गुनासो छैन
बरु कहिलेकाहीँ उल्टो ब्याजको सलामी चढाउँछ ।
चाउरे फजुल योजनाको रकम पनि हो
जसको तनलाई भाँचेर जति पनि फाइदा कमाउन सकिन्छ ।
त्यसैले त,
चाउरे कसैको मान र इज्ज्त पनि हो
उसको उपस्थितिमा बिचराहरुको शिर उभिण्डो पर्छ
चाउरेको सम्पति धेरैलाई अंश र बखडा लाग्छ
तर पनि चाउरेलाई सबैले एक्ले भन्छन् मलाई त उदेक लाग्छ ।
(रुपाटार, उदयपुर)