नेपालीय साहित्यमानारी स्रष्टाहरुको ठूलो योगदान छ । सबै विधाहरुमा नारी स्रष्टाहरु देखिएका छन् । अवसरको कारण होला, महिला स्रष्टाको संख्या ह्वात्तै बढेको छ । यो सुखद सन्देश हो ।
गुल्मी कुर्घामा २०१५ सालमा चन्द्रकला विष्टको कोखबाट जन्मिएकी साहित्यकार मैना भण्डारीको बाबुको नाम भक्तबहादुर विष्ट हो । उनी हाल गुल्मी जिल्लाको परमानन्द नगर चोरकाटे बस्छिन् ।
मैना भण्डारीको राजनीतिक जीवनको पृष्ठभूमि निकै लामो र वजनदार छ । उनी आदर्शबाट विचलित नभएकी असल राजनीतिकर्मी हुन् । गुल्मी जिल्लाका जल्दाबल्दा राजनीतिककर्मीहरुमध्ये एक हुन् । उनले मूल्यको राजनीति गर्न चाहन्छिन् । आजम यस कृतिको समीक्षामा राजनीति इतर साहित्यिक योगदानका कुराहरु मात्र राख्न चाहन्छु ।
मैना भण्डारीका प्रकाशित कृतिहरु आधा दर्जन ज्यादा छन् । उनको पहिलो कृति गीत‘कोशेली’(२०२८) हो । यही कृतिबाट उनी नेपालीय साहित्यमा औपचारिक रुपमा प्रवेश गरेकी हुन् । उनको दोस्रो कृति‘गीती संग्रह’ (२०५०) हो । त्यसरी नै ‘महिला वेदना’ (२०५२), ‘गीती सँगालो’ (२०५३), ‘वेदना र व्यक्तित्व’गीतीक्यासेट (२०५५), ‘महिला सन्देश’ (२०६०), ‘काँडाभित्रको फूल’ (२०६५) हो ।
‘काँडाभित्रको फूल’कविताको भूमिकामा महाकवि मोदनाथ प्रश्रित र कोमल भावनाका प्रतिमूर्ति साहित्यकार शीतबिन्दुले भूमिका लेखेका छन् । महाकवि प्रश्रितले मैना भण्डारीको विषयमा यसरी लेखेका छन् —“उनको कलम कवितातिर क्रियाशील हुँदै आएको छ । नेपालको जनक्रान्तिमा विभिन्न विषय र पक्षसँग उनका कविताले हातेमालो गरेका छन् । यो सँगालो त्यसैको चिनारी हो । उनका कविता कोरा भावुकताको लहडबाजीमा अल्झेका छैनन् । भावनाभन्दा विचार बढी बोकेका छन् ।”
कवि शीतबिन्दु मैना भण्डारीको विषयमा लेख्छन्—“कवि मैना भण्डारीले आफ्ना कविताहरुमा आफ्ना भोगाइ र भावनाहरुलाई आफ्ना सपना र कल्पनाहरुलाई, आफ्नो देश र परिवेशलाई आफ्ना गीत र कविताहरुमा पोखेर यो सँगालो प्रस्तुत गर्नु भएकोमा हार्दिक बधाई दिन चाहन्छु । निरन्तर अध्ययन, अथक अभ्यास र अर्थपूर्ण अन्तरक्रिया मार्फत उहाँले आगामी दिनमा नेपाली साहित्यलाई अझ राम्रो कोशेली उपहार दिन सक्नुहोस् ।”
कुनै पनि कविता बन्नका लागि भावना मात्र भएर हुँदैन । त्यसमा रमरम विचार पनि हुनु पर्छ । विचारलाई कला र शिल्पले रंगाएर चहकिलो र प्रष्ट बनाएर राख्नु पर्छ । ललित शब्दविन्यासका साथ बिम्ब, प्रतीक र विभिन्न अलङकारहरुले सजिएर दुलहीजस्तो भएर आएक ाविचारहरु बढी कलात्मक र प्रभावकारी हुन्छन् । जसले पाठक मनलाई आल्हादित बनाउँछन् । छिट्टै प्रभाव पार्दछन् । तर अहिले पनि प्रगतिशील काव्यकारितामा नारावादको धङधङ्गी हटेको छैन ।
कवि मैना भण्डारी प्रगतिशील नारी स्रष्टा हुन् । कुनै पनि वर्ग, जाति, क्षेत्र, धर्म, भाषाको एकाधिकारलाई अन्त्य गरी सहअस्तित्व, समानता र स्वतन्त्रताको आधारमा नयाँ सर्वोदय समाज निर्माण गर्ने साहित्य प्रगतिशील साहित्य हो । लोकतान्त्रिक मूल्य मान्यतालाई अन्तर्यमा टेकेर प्रकट भएको साहित्य नै प्रगतिशील साहित्य हो । उनी जनताको बहुदलीय जनवादको पक्षमा रहेको हुनाले उनी स्वतः प्रगतिशील साहित्यकार हुन् । यसमा सबै दल, सबै धर्म, सबै भाषा, सबै वर्ग, सबै लिङ्ग, सबै क्षेत्र, सबंै संस्कृतिलाई स्वाधीन र स्वतन्त्र बनाउदै आत्मपहिचान र आत्म सम्मानदिएर मूलधारमा हिँडाउन चाहन्छिन् ।
कवि मैना भण्डारीले आफू सामाजिक यथार्थवादी र स्वच्छन्दतावादी हुँ भने पनि उनको सामाजिक यथार्थवाद र स्वच्छन्दवाद प्रगतिशीलतामा आधारित छ । शास्त्रीय बन्धनमा जेलिएका साहित्यिक सिद्धान्तलाई त्यागी जीवन र जगतका स्वतन्त्र चिन्तन गर्ने रोमान्टिक साहित्य नै स्वच्छन्दतावादी साहित्य हो । त्यसरी नै जीवन र जगतमा वस्तु जस्तो छ त्यस्तै रुपमा टपक्क टिपेर कलात्मक रुपमा थपक्क राख्ने एक साहित्यिक मान्यता यथार्थवाद हो । उनी यथार्थवादी साहित्यिक मूल्यलाई वरण गरेकी साहित्यकार हुन् । उनको स्वच्छन्दतावाद र यथार्थवाद प्रगतिशील साहित्यमा आधारित छ ।
कवि मैना भण्डारीको काँडाभित्रको फूल कवितामा ५२ वटा कविताहरु संग्रहित छन् । सबै कविताहरु लगभग समान पंक्तिका छन् । कुनै अलि लामा त कुनै अलि छोटा भएपनि प्रायःकविताहरु एक पृष्ठ भित्रैका छन् । छोटाछोटा लाग्ने सबै कविताहरु ६० पृष्ठमा फैलिएका छन् ।
उनको पहिलो कविता हो— सहिदको सम्झना । उनी सहिदलाई पहिलो सम्मान दिएर आफ्ना अन्य कविताहरु राख्छिन् । यस गीती कवितामा विगत ७० वर्षदेखि क्रान्ति र परिवर्तनको लागि जीवन न्यौछावर गर्ने ज्ञात अज्ञात सहिदहरुप्रति श्रद्धान्जली प्रकट गरिएको छ । यो गीती कविता हो । कवियत्री लेख्छिन्—
श्रद्धाञ्जली छ देशका लागि जीवन गुमाउने सहिदलाई सम्मान छ हाम्रो देशका लागि बलिदान दिने वीरहरुलाई ।
उनको ‘नेपालआमा’कवितामा परिवर्तनप्रति आशा देखाइएको छ । प्रगतिशील साहित्य आशावादमा आधारित हुन्छ । कविले परिवर्तन र समृद्धिप्रति आशा जगाउनु पर्छ । पाठकहरुलाई निराशा र पलायनको गर्ततिर धकेल्ने कविहरु प्रगतिशील कवि हुन सक्दैनन् । कवि लेख्छिन्—
नेपालमा शान्ति र सुशासन चाहिन्छ तब मात्र नेपालको मुहार हाँसेको पाइन्छ तिम्रो सपना साकार हुन्छ आमा अब नेपालमा गणतन्त्र फल्छ फुल्छ आमा ।
अदृश्य चाहना कवितामा कवि मैना भण्डारी स्वच्छन्दतावादी देखा पर्छिन् । यहाँ कविले आफ्ना भावनालाई स्वच्छन्द रुपमा छताछुल्ल पोख्न चाहेकी छन् । मनका अदृश्य र अतृप्त चाहनालाई पूरा गर्न बार र बन्धन तोड्न चाहन्छिन् । विचार प्रकाशन गर्न नपाएर कुण्ठिएर रहन नदिन उनले खुल्ला वैकुण्ठ समाज बनाउन चाहन्छिन् । कवि भन्छिन्—
कठघराजस्तै बनाएको छ सामाजिक बार र बन्धनले छेकबार तोड्न लागौंजस्तो छ नदी उर्लेको तरङ्गले ।
राष्ट्रिय विभूतिले जस्तै आँट गरौँ कवितामा कविले हाम्रा अग्रजहरुले उठाएका कुराहरु हामीले आत्मसात गर्दै नेपाललाई उठाऔँ भन्छिन् । कवि लेख्छिन्—
अरनिको जस्तै सीप छ कि छैन नेपाललाई उठाउने हात छ कि छैन हत्या हिंसा बढ्दै गयो पीर छ कि छैन देशलाई सेवादिन सक्ने शिर छ कि छैन ।
वीर सहिद मदन आश्रितको शीर्षक कवितामा मदन आश्रितको सपनालाई साकार पार्न हामीहरु गणतन्त्रसम्म पुग्यौं । उहाँहरुको महानतालाई हामीले बिर्सने सकिदैन । अहिले मदन आश्रितको आवश्यकता खड्केको छ । अहिले नेपाल आमाले मदन आश्रितको सम्झना गरिरहेकी छन् । कवि भन्छिन्—
नेपाल आमा माग्दैछन् गुहार बाँचेको भए चाँडै फेथ्र्यौ आमाको मुहार मदनआश्रित दुई ध्रुवतारा छोडि गयौ यो संसार सारा ।
मेरो जन्मभूमि कुर्घा तिमीमा जननि जन्मभूमिश्च स्वर्गादपि गरियसी भन्दै सम्झना गरेकी छन् । कुर्घाले उनलाई पलपलमा सम्झिरहन्छ । त्यहाँका पाखापखेराहरुमा कविका पदचिन्हहरुले उनको भावनालाई पछ्याइरहेका छन्् । कविले आफ्नो जन्मभूमिप्रति केही पनि गर्न नसकेकोमा दुःख मान्दै भन्छिन्—
म तिम्री छोरी भएर पनि केही गर्न सकिनँ थोरै भएपनि यो पुस्तकमा कोरेर दुई शब्द भएपनि आत्माको शान्तिखोज्दैछु थोरै भएपनि ।
विधुवा महिलाको वास्तविकता कवितामा कविले विधवा महिलाले भोग्नु परेको बडो हृदयविदारक पीडाको चित्रण गरेकी छन् । विधवालाई गरिने अमानुषिक विभेद र सामाजिक उपहास अत्यन्त करुण र दर्दनाक छ । विधुवाको विषयमा बनाइका कुरीतिहरुले हाम्रो हिन्दू परम्परामाथि नै प्रश्नचिन्ह खडा गरिदिएको छ । विधवाहरु मनिस भएर बाँच्न गाह्रो भएको बताउँदै भन्छिन्—
विधवाको भावनालाई कसले पो बुझ्छ र ? रोदन र चित्कारलाई कसले पो सुन्छ र ? मान्छे हिँड्दा देखे भने साइत परेन भन्छन् बोक्सीको आरोप लगाई लगाई खेद्छन् ।
विभेदको पीडा कवितामा कविले विभेद समाजलाई खण्डित बनाउने खराव रसायन हो । यस खराव रसायनलाई हटाएर व्यक्तिव्यक्ति, वीचमा, समुदाय समुदाय वीचमा जोड्ने सञ्जीवनी खोज्नु पर्छ । छोरीप्रति समाजको हेर्ने दृष्टिकोण राम्रो छैन । छोरीहरु नजन्मदै गर्भबाटै विभेदको शिकारमा पर्छिन् । घरमा सामन्ती हैकम र कडा बुहार्तनको चापमा परेर छोरीले स्वतन्त्रताको सास फेर्न पाएकी छैनन् । पितृसत्ताका दुर्गुणहरुलाई हटाएर समानता र सहकार्यमा आधारित समाज बनाउनु पर्छ भन्दै कवि भन्छिन्—
हठार घण्टा घरको कामदासी सरह भाकी छौँ दुईचार पैसा चाहियो भने हात थाप्दै छौँ जन्मिएको आँगन घर आफ्नो बनाऔँ जन्मसिद्ध अधिकार लागू गराऔँ ।
उठ युवाकवितामा कविले युवाहरुले मुलुकको लागि केही गर्नुपर्छ भन्दै विदेशतिर नजान सल्लाह दिएकी छन् । नेपालबाट तीक्ष्ण मस्तिष्क र बलिया पाखुरा विदेशतिर पलायन हुँदा उनको मनमा दुःखको हुँडलो मच्चिएको छ । यसरी मुलुकमा समृद्धि आउँदैन भन्दै कवि भनिन्छन्—
फर्क युवा फर्क नेपाली धर्तीलाई सिंगार यही देशमा हुक्र्यौं बढ्यौ देशकै निम्ति मर ।
अन्त्यमा कवि मैना भण्डारीको यो कृति सरल र सरस छ । कृतिमा मुद्रा राक्षसको प्रभाव छैन । आवश्यक अनुसार प्रतीक र विम्ब आएका छन् । कवि शितबिन्दुले भने भनेझै सोझो प्रस्तुतिको ठाउँमा कलात्मक प्रस्तुति आवश्यक देखिन्छ । अझै पनि लालित शब्द संयोजनको खाँचो महशुस हुन्छ । काव्य प्रयोजनका दृष्टिले ठिकै रहे पनि कलाकारिता खट्कन्छ । आम रुपमाभन्दा कृतिको महत्व उच्च छ । यो जागरणमूलक कृति हो । अन्धविश्वास कुरीति, पलायन विरुद्ध आधुनिकताको सन्देश दिएको सफल कृति हो । कवि मैना भण्डारीलाई शुभकामना ।
(रुपन्देही)