हाँगाहरु पर परसम्म फैलिएर लत्रिएको झ्याम्म परेको एउटा काँढे जङ्गली फूलको झाङमुनि हामी बस्थ्यौँ । चारैतिर फूलका हाँगाहरु फैलिएर ग्वाम्लाङ्ग बाक्लो खास्टो ओढेजस्तो थियो हाम्रो घर । फूलको त्यस झाङको अगाडि र पछाडिबाट बुट्यान पन्छायर हामीले ससाना द्वार निर्माण गरेका थियौँ । त्यहीँबाट हामी पस्ने र निस्कने गथ्र्यौं अर्थात् यसो भनौँ हामी आवतजावत गर्दागर्दै त्यस्ता द्वार निर्माण हुन गएका थिए । जम्मा नौजनाको परिवार थियो हाम्रो, आठजना छोराछोरी र एउटी आमा । हामीले आफ्नो बालाई अहिलेसम्म चिनेको छैन ।
काठमाडौंको माघको जाडो, रातभरी हामी त्यही छहारीमुनि कठाङ्ग्रिन्थ्यौँ । रातभर आठैजना छोराछोरीलाई आमाले आफ्नो पेटले च्यापेर न्यानो पार्ने कोशिस गर्थिन् तर पनि जाडो यति धेरै थियो कि रातभर हामी कठाङ्ग्रिएर काईंकाईं र कुँईंकुँईं गरी चिच्याई रहन्थ्यौँ । हाम्रो छाप्रोदेखि केही पर वरिपरि अग्लाअग्ला घरहरु भएको मानव वस्ती थियो । हाम्रो चिच्याहटले ती मानव वस्तीका महिलाहरुलाई बाधा पु¥याएछ कि वा हाम्रो मायाले हो तिनीहरु हाम्रा नजिक आएर केही पुराना बोरा र प्लास्टिकका थोत्रा टुक्राटाक्री हाम्रो झाङ्माथि ओढाई दिए । भुइँमा पनि हामीले बोरा ओछ्याउन पायौँ । आमाको काख र ती बिछ्यौनाले हामी राती निदाउन सक्ने भयौँ । फुटेका प्लेट र कपहरु पनि हाम्रा अगाडि आइपुगे । मानव वस्तीका केही दयालु महिलाहरुले दाल भात, मासुको झोल र हाडखोड पनि हाम्रा फुटेका थालमा पस्कन थाले । मानव वस्तीबाट पाएको यस न्यानो मायाले हामी छिटछिटो हुर्कन थाल्यौँ ।
आमा घुमफिर गर्न बाहिर निस्कने गर्थिन् । दिनभरिमा दुई तीन पटक आफ्नो निवास फर्कन्थिन् र हामीलाई पालै पालो दूध ख्वाएर फेरि निस्कने गर्थिन् । आमा घुम्न निस्केपछि हामी झाडीबाट बाहिर निस्कन्थ्यौँ र घाम ताप्दै लडिबुडी गथ्र्यौं, आपसमा लाप्पा खेल्थ्यौँ । दाजुले एकपटक मेरो कान टोकी दियो । आमाले उसलाई हप्काएपछि डराएर भाग्यो । बडो रमाइलो थियो हाम्रो आगन र निवास । केही दिनमै हाम्रा तीनैजना दाजु भाइलाई मानव वस्तीका मानिसहरुले लिएर गए । अब हाम्रो परिवारमा छजना मात्र थियौँ । दाजु भाइ नभएपछि अलि नियास्रो लाग्यो ।
हामी हुर्कंदै गएपछिको एकदिनको कुरा हो, घुमेर फर्कंदा आमाले एउटा डाँगो साथै लिएर आइन् अथवा यसो भनौँ एउटा डाँगो आमाको पछि लागेर आयो । आमा हाम्रो छेउमा आइन् । डाँगोले त हामीतिर आँखा तरेर पर जाओ भनी ङार्रङुर्र पो गर्न थाल्यो ए ! हामीलाई डर लाग्यो । उ चाहिँ हाम्री आमाको छेउमा लुसुक्क टाँस्सिएर बस्यो ।
आमा फेरि बाहिर निस्किन् । डाँगो पनि सँगै निस्क्यो । यो क्रम बढ्दै गयो । हामीलाई आमा माया गर्न खोज्थिन्, त्यो डाँगो भने हामीलाई हप्काइरहन्थ्यो । हुँदाहुँदा एक दिन त आमाको छेउमा आई भनेर त्यस डाँगोले मेरी एउटी बहिनीको कानै टोकी दियो । बहिनी रुँदै भागी । फेरि आमा र त्यो डाँगो सँगै बाहिर निस्के ।
पाँचैजना दिदी बहिनीले सल्लाह ग¥यौँ, “यस डाँगाको चाल ठिक छैन । यसलाई हामी सबै मिलेर ठीक पार्नु पर्छ” । घुमफिर गरेर त्यो डाँगो फेरि आमासँगै फक्र्यो । त्यो हाम्रो आँगनमा आइपुगेको थियो । पहिले हामीले जोडले भुकेर उसलाई तर्सायौँ । टेरेन, नजिकै आएर हामीलाई हप्काउन पो थाल्यो । हाम्रो पालो आँट गरेर एकैचोटी त्यसमाथि झम्टियौँ । कसैले पुच्छरमा, कसैले कानमा, कसैले खुट्टामा र कसैले ढाडमाथि नै चढेर पटक–पटक टोक्न थालेपछि हामी पाँच दिदी बहिनीको सामुहिक आक्रमणसँग उसको केही चलेन । पुच्छर लुकाएर त्यो अपराधी भाग्यो । त्यसपछि त्यो डाँगो हाम्रो आँगनमा फेरि कहिल्यै आएन ।