म कोरिरहेकी छु देशको सग्लो नक्सा । खाली पानामा कोर्छु असङ्ख्य रेखाहरू जसरी कोर्छ एउटा चित्रकार क्यानभासमा आफ्नी आमाको मुहारचित्र । अनायस करेसाको डिल भत्किन्छ पर्खाल उठाउँछु सिकुवासम्मै चिरा पर्न खोज्छ आँगन कुर्कुच्चा दुखिन्जेल किच्छु/टाल्छु र मेट्छु धाँजाहरू ! विषाक्त हावा बोकि आउने आँधी उडाउनै खोज्छ मलाई बलेँसी चिरा पार्ने मुसलधारे वर्षा बगाउन खोज्छ मलाई छानाबाट झरेका पानीका तप्कनाले समेत शिरदेखि पैतालासम्मै भिजाउँछ तर पनि म उभिइरहन्छु पहाडजसरी घरको मूल खाँबो समातेर र कोरिरहन्छु सहस्र रेखाहरू ! ओ ! सिमाना काटिजाने चराहरू पहाड भत्काएर बगिजाने खोलाहरू देवल उठाइरहेका पौरखी धमिराहरू माटोको दरबार उठाइरहेका कमिलाहरू सुन, भूगोलका यिनै मसिना रेखाहरूले त जोडेकी छु मैले तीन कोटी स्वाधीन मुटुलाई जहाँ उम्रिन्छ प्रेम र विश्वासको बिउ र लटरम्म खुसीको घाम फल्छ ! छामिहेर त आँखा चिम्लिएर आफ्नै मुटुको ढुकढुकी हो, धड्किरहेको छ त्यहाँ छुटेका भूगोलसँगै छुटेका मनहरू एकाकार भएको स्वाधीन देशको सग्लो नक्सा । (टेम्केमैयु, भोजपुर)