हरियो सुसाइड नोट बोकेका परदेशीहरू आउँथे मगमगाउँथे हार्दिक भावहरू झमझमाउँथे प्रेयसीका पाउजु र घिस्रिरहन्थ्यो बुढो लौरी आमाको घाँसको भारीसँगै गुन्जिन्थ्यो जुहारी घन्किरहन्थ्यो आदिवासी धुन ती सबै–सबै कहाँ गए ? विज्ञान, दर्शन र इतिहास सुनेर थोत्रीएको पिँढीको गुन्द्रि बिर्सिएर कुन यात्रामा निस्किए माथिल्ला घरे माइला बा ? भोलि यही बाटोमा भेटिएला/नभेटिएला आमाका पैतालाका डोबहरू ! न कुनै आहत न कुनै पदचाप समय आफैं मलामी आफैं मुर्दा बनेर लम्पसार छ ए ! छिरिङ ए ! खान चित्र प्रर्दशन गर्न किलोको आड चाहिए जस्तै देशलाई चाहिएको छ हाम्रा पाखुराहरूको आड हाम्रा चेतनाहरूको आड मौरीहरू मुर्झाउन नखोज भर्नै बाँकी छ यो देशको घारमा महको चमक ! झुल्किन्छ–झुल्किन्छ हामीले जीवनभर खोजिरहेको उज्यालो घाम पर्दा बनेको यो कैदी समयमा पनि तराई, चुरे भावर र पहाडमा महाभारत, हिमाल र भोटमा कुन–कुन जातका फुल फक्रिसके होलान् ? जङ्गलमा डढेलोपछि पनि रुख/विरुवा पलाउँछन् । जङ्गलमा डढेलोपछि पनि वसन्त आउँछ । (धादिङ)