सबैको नजरमा आउने
सहयोगमा अति सहयोगी
धुलाइमा मात्र होइन
उपयोगमा अति उपयोगी
सबैमा प्रिय
म त केबल झुम्रो साथी
अपार आनन्द दिने ।
सक्छु म पार्टीका झन्डामा सजिन
गाडीको टलकमा उन्मात्त हुन
महलका कुनाकाप्चामा लरबराउन
म त केबल झुम्रो साथी
अपार आनन्द दिने ।
कहिले पार्टीले भन्डा बनाउँछ
कहिले मालिकले गाडीको धुलो उडाउँछ
कहिले भातृसंगठनले मादल बजाउँछ
त कहिले संस्कृतिकर्मीले नृत्य देखाउँछ
म त केबल झुम्रो साथी
अपार आनन्द दिने ।
पगरी गुथ्नेले पगरी गुथ्छ
भकारी बाँध्नेले भकारी बाँध्छ
खलो बढार्नेले खलो बढार्छ
लेप लगाउनेले लेप लगाउँछ
बुट्टा भर्नेले बुट्टा भर्छ
सम्मानितले झन्डा फरफराउँछ
म त केबल झुम्रो साथी
अपार आनन्द दिने ।
अब म रहन्न झुम्रो
बन्दिन सजाउने तिम्रो टालो
राष्ट्रिय अस्मितामा रमाउन
विदेशीको नजरमा टल्किन
झुम्रो हैन अब साथी
बन्ने छु देशकै झन्डे टालो
अपार आनन्द दिने ।
(गुल्मी)