सोच्नुहोस् त
त्यो दोबाटोमा रहेको
चट्टानसरी छ नारीको जिन्दगी
कोही समीप आउँछन्
मायाले हेर्छन्
स्नेहभाव पोख्छन्
छताछुल्ल हुने गरी
कोही भिज्छन्
सिमसिमे पानीमा भिजेजस्तै
कोही डुब्छन्
सागरको गहिराइसम्म
कोही उत्रिन्छन्
नदीमा मृत शरीर
उत्रेसरी
कतिले गहिरिएर हेर्छन्
धेरै परपरसम्म सोच्छन्
अनि कोर्न थाल्छन्
आफ्नो जिन्दगीको योजना ।
कोही टपक्क टिप्न खोज्छन्
र खेल्न खोज्छन् स-साना गोटा सम्झेर
कोही हुत्याउने आँट गर्छन्
पातोजस्तै गरी धेरै टाढाटाढासम्म
कोही फुटाउन प्रयत्नशील हुन्छन्
अनावश्यक वस्तु सम्झेर
कोही लगेर राख्न चाहन्छन्
चर्पी र भान्छा कोठाहरुमा
कसैले इज्जत दिन्छन् र सजाउँछन्
बैठक, पूजाकोठा र मन्दिरहरुमा
तर अडिग रहेको त्यो चट्टान
नचलमलाइकन धीर रहन्छ
र सहन्छ यातनाहरुलाई
कल्पिन्छ ती मायालु स्पर्शहरुलाई
अनि बनिदिन्छ भावुक कहिलेकाहीँ
सम्झिन्छ नारीको जिन्दगी
जसरी नारी बनेकी हुन्छे
त्यही चट्टान समान बेकामे र उपयोगी ।
उत्पत्तिसँगै बाँधिएन उसलाई
संस्कार र रुढीबादीका जञ्जिरहरुले
सिकाइएन सन्तानबीचको भेदभाव
नत सिकाइयो अपमानका पाठहरु
उसका लागि सब समान छन्
आमा-छोरी, सासु-बुहारी, देवरानी-जेठानी
कोही कसैमा फरक छैनन्
उसलाई चरणकमलमा पर्नु छैन ढोँगीहरुको
नत प्यास मेटाउनु नै छ भोगीहरुको
नारीजस्तै फूल बनेर मुस्कुराउनु छैन उसलाई
पीडा भित्रभित्रै छट्पटाएर अंकुराउनु छैन कदापि
नत छाउपडीमा नै जान परेको उसले
नत कटाएको छ पीडादायक रातहरु
रक्तस्रावको छट्पटीसँगसँगै
हुनु परेको छैन बलत्कारको सिकार कसैबाट
न रुनु परेको छ त्यो कहालीलाग्दो रातबाट
तर नारी बोल्न सक्दिन,चुपचाप बस्छे
र सहन्छे आफ्नै मोलमोलाइका कुरा ।
बेचिदिन्छन् चट्टानजस्तै गरेर
यहाँ बेचेपनि उसले जल्नु पर्दैन
नारीले जस्तै गरेर दाइजोको निहुँमा
फाल्नु पर्दैन अनाहकमा ज्यान
दिनुपर्दैन जिन्दगीको तिलान्जली
हुनु परेको छैन बोक्सी
खानु परेको छैन कसैको चुटाइ
गिर्नु परेको छैन समाजबाट
सहनु परेको छैन तिरस्कार
कहिल्यै मर्दैन उसको श्रीमान
पखालिँदैन सिउँदो
फुटालिँदैन नाडीका चुरा
चुडाइँदैन गलाको पोते
बिताउनु छैन उसले तड्पाइका रातहरु
हुनुपर्दैन बिधवा
र लगाउँदैनन् ऊ माथि आरोप प्रत्यारोपहरु
नत लगाउँनै सक्छन्
नरभक्षी नरपशुहरुले गिद्धे नजर ।
हे चट्टान तिमीले जिन्दगीका
हजारौँ घुम्तीहरुमा
घामपानी हावाहुरी झरीबादल
सहेजस्तै गरेर
सहन्छन् नारीहरुले पनि
घृणा, तिरस्कार
दण्ड, सजाय
मोलमोलाई
यहाँ तिमीजस्तै नारी हुनसक्छन्
तिम्रा हरकुरामा साथ दिन सक्छन्
तर तिमी नारी भएर सहन
कदापी सक्दैनौ
चट्टान कदापी सक्दैनौ ।।।
(स्पेन)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।