“बा–आमा खुब खुसी भए रे, म जन्मदा । धर्म परम्परा अनुसार छोरो अत्यावश्यकै पर्छ रे ।“ ऊ सानै छँदा बाले भनेको सम्झ्यो ।
उसको बिहे भयो । लोग्ने बन्यो । जिम्मेवारी बढ्यो । अब बा–आमाको भन्दा पनि स्वास्नीका लागि बाँच्न थाल्यो । लोग्ने हुनुको दायित्व बोध भयो । स्वास्नीका रहरहरु उसका थप उर्जा बने । बाका अघि सकिँदैन भनेका कुरा अहिले चुपचाप गर्न थाल्यो ।
बाको च्यातिएको कछाड र आमाको भ्वाङ्ग परेको गुन्यूले भन्दा स्वास्नीको रेशमी साडीले घच्घच्याउन थाल्यो । रेशमी साडीकै लागि घर छोड्यो । सहर पस्यो ।
छोरा–छोरी जन्मिए । बाबु बन्यो । जिम्मेवारीको चाङ लाग्यो । लालन–पालन, भरण–पोषण, पढाइ–लेखाईका साथै उनीहरुको भविष्य निर्माणको ठूलै पहाड खडा भयो ।
“राजुकी आमा, यो पाराले धानिएला जस्तो लागेन । विदेस जानुपर्याे ।“ साँझ सुत्ने बेला उराठ स्वरमा बोल्यो ।
“गर्नु पर्याे त । स्वास्नी, छोरा–छोरीका लागि ।“ उसले सहज रुपले उत्तर दिई ।
ऊ विदेस उड्यो । काम पनि ठिकै पायो । महिनै पिच्छे खर्च पठाउन थाल्यो । “सबै पैसा खर्च नगर्नु । बचत गर्नु । भविष्यका लागि ।“ फोनमा स्वास्नीलाई सम्झाउँथ्यो । घरतिरको खबर सब ठिक भएको सुन्दा खुसी हुन्थ्यो ।
भिजाको म्याद सकियो । अनेक जुगाड लाएर दुई वर्ष म्याद थप्यो । तल्लाघरे रुद्रेले फोन गर्याे– “ए घनश्याम ! घर आउँदैनस् । तेरा बा त सिकिस्त बिरामी छन् त । छोरा– छोरा मात्र भन्छन् । तेरै निम्ति प्राण अडेजस्तो छ । डाँडाका जून । मैले भनेको नभनेस् नि ।“
“ए हो ! ल ल ।“ घनश्याम द्रवीभूत भयो ।
यस्तो जरुरी कुरा पनि नभनेकोमा स्वास्नीप्रति क्रुद भयो । ऊ पनि खबरै नगरी घर आयो । बा थिएनन् । आत्म ग्लानी भयो । स्वास्नीको असल लोग्ने र छोरा– छोरीको जिम्मेवार बाबु बन्न सके पनि बाबुको कर्तव्यनिष्ट छोरो बन्न भने सकेन ।
(कोहलपुर)