परेवाका जोडीले घरको पालीमा गुँड बनाए । गुँड तयार भएपछि पोथीले फुल पारी र ओथारो बसी ।
फुलबाट चल्ला निस्केछन्, चीँचीँ आवाज आयो । दुवैले पालैपालो चारो खुवाउन थाले । साना चल्ला प्वाँख नउम्रेका पखेटा फटफटाउँदै चारो खान्थे, बस्थे । दृश्य रमाइलो थियो । मन प्रफुल्ल भयो ।
केही दिनमै चल्ला हुर्किए, गुँडबाट बाहिर निस्किएर भुर्रभुर्र उड्न थाले । त्यो दृश्य पनि रमाइलो देखियो ।
एक बिहान वातावरण सुन्दर र शान्त थियो । भाले, पोथी र चल्लाहरू एउटै डालीमा बसेर खेलिरहेका थिए । त्यस्तैमा चल्लाहरू भुर्र उडे र माथि आकाशतिर गए । मैले हेरिरहेँ, उड्दै गरेका परेवा धेरै पर गए र ओझेल भए । फर्केर आएको हेर्न आतुर मेरा आँखा निराश थिए । तर, ती फर्केनन् ।
आकाशतिर हेर्दै गरेका मेरा आँखा बिस्तारै भुँइतिर झरे । भाले र पोथी पहिलेकै डालीमा बसेर झोक्राइरहेका थिए ।
त्यही बेला मोबाइलमा लिखित सन्देशको सङ्केत आयो । हेरेँ, छोराको रहेछ—
“हामी यहाँ सन्चै छौँ, तपाईंहरूलाई पनि सन्चै होला । ग्रिन कार्डको लागि निवेदन दिएका छौँ । त्यो नबनेसम्म यो देश छोड्न मिल्दैन । अलि वर्ष यतै बसिन्छ होला ।”
(गुल्मी)