सखारै निस्कन्छन् घरबाट केही जोर बेरोजगार पैतालाहरु र जम्मा हुन्छन् भञ्ज्याङ्माथिको चिया पसलमा । रातभरि सियाले टर्रो पारेको मुख चियाको सर्को र सिग्रेटको धुवाँले मिठ्याउछन् र उतार्छन् अघिल्लो रातको ह्याङोभर । एकै छिनलाई चिन्ता गर्छन् रोग, रिन, शोक र भोकमरीको तर चिन्तालाई निर्मुल पार्ने उपाय छैन र खोज्छन् समय व्यतित गर्ने उत्तम उपाय । टाइम पास ........ कसरी हुन्छ टाइम पास ? ओछ्याउछन् कुसुममाथि गुन्द्री र थणी कोरुम पुगाउछन् ट्वान्टीनाइन, साइटिङ, दसपत्ता र कलब्रेकको दिनभरिको न्युनतम टाइमपासपछि बस्छन् तीनपत्ताका खालहरुमा मध्ये राती हुन्छ र टुङ्गिन्छ खेल गोजि भरिन्छ साहुको रित्तो हुन्छ पकेट बेरोजगारहरुको हारको तिर्खा मेट्न फेरि सुरु गर्छन् पिउन कालापानीका कोथणा, साईखोलाका लिच्चि आदि इत्यादि । आज पनि घर पुगेको पत्तो हुँदैन बिहान हुन्छ सोच्छन् "रिन कसरी तिर्ने" र सोच्छन् कालापहाड बम्बै जाउँला अहँ हुँदैन लकडाउन छ कोरोना कहर पो छ । फेरि अर्को दिमाखले सोच्छ कोरोनाले लैगो भने क्या गर्ने जिन्दगी मस्तले जिएर त मरुँ वाह सोच्छ दिमाख र सुरु हुन्छ उही दिनचर्या । के गाउँमा कम्रेडहरु बेरोजगार छन र ? (अछाम)