‘उठो रे ठरुवा ! कैसिन् सुटठो बंगुर जैसिन् !’
रेडियोको भन्दा चर्को आवाज सुनियो भिखुरामको कानमा । त्यो आवाज उसकी प्यारी श्रीमती भुतिनीको थियो ।
‘आज टे जार लागटा यार !’
आँखा नखोलेरै भिखुरामले मुख खोल्यो । लामो हाई काढ्यो । हात खुट्टा तनक्क तन्कायो । सिरानमा बजिरहेको रेडियो छाम्यो । त्यसको बटन घुमायो ।
‘लगातार चार दिन देखिको बर्षाले कैलालीका अधिकांश बस्तीहरु जलमग्न ……. !‘ वाक्य पुरा नहुँखै रेडियो बन्द भयो ।
‘आज टो मजा आएगा बुरी …. ! जट्रा मारो मच्छी … !’
मनको आधा खुशी हिन्दीमा र आधा थारु भाषामा ओकेल्यो उसले ।
लगाइएको झुल तानेर पट्याइसकेकी थिई भुतिनीले ।
त्यो रेडियो थिएन । भिखुरामले त्यसलाई समाचार सुन्न ल्याएको हैन । देश र सरकारको समाचारसँग उसलाई के मतलव ! खासमा त्यसलाई साउण्ड बक्स भन्न सकिन्थ्यो तर भिखुराम डिजे भन्थ्यो । पोहोर होलीमा गीत बजाउन ल्याएको थियो । मजदुरी गरेर आएको पैसाले किनेको । तर त्यसमा एफ एम रेडियो पनि बज्दो रहेछ । रेडियोमा पनि त दिनहुँ थारु भाषा र हिन्दी भाषाका गीतहरु बज्छन् । राम्रै भयो !
सिमान्त समुदायको मानव हो भिखुराम । राज्यबाट किनारामा पारिएको उसको घर पनि किनारामै थियो । हुलाकी सडकको किनारा ! नदीको किनारा ! जङ्गलको किनारा ! नगरपालिकाको किनारा ! पुनर्वहाली भएको मुक्त कमैया बस्तीको किनारा … ! उसको एउटै घर धेरै थोकको किनारा परेको थियो ।
उसका बाऊ बाजेले मूलधारका साहुमहाजनका घरगोठमा जुनी बिताए । कमैया कमलरी भएर जुनी बिताउनु कति कष्टकर हुन्छ भन्ने कुरा उसका डाईबाबाले कहिल्यै सोचेनन्, सोच्न भ्याएनन् । साहुमहाजनका सेवाचाकरी गर्दा उनीहरुले आफुलाई बिर्सिए । आफ्ना दुःखकष्ट बिर्सिए । केही गरी मालिकलाई रिझाउन पाइयोस् ! महिना बर्षमा दुईचार दिन भए पनि मालिकले हाँसेर बोलेको सुन्न पाइयोस् ! बस्, जुनी सफल भएझैँ ठान्थे उनीहरु । तर भिखुरामको पुस्तालाई कसैले झस्काइदियो । उनीहरुको चेतनामा ककस्ले केके कुरा भरिदियो । उनीहरुका आँखाको पर्दा कस्ले उघारिदियो ? उनीहरु आफ्नो बारेमा सोच्न थाले । देशकाल परिस्थिति के के भयो के के ! साहुमहाजनका घरगोठबाट बाहिर निस्किएर उनीहरु कमैया शिविरमा पुगेका हुन् । अचेल ज्याला मजदुरी गरेर जीवन चल्न थालेको छ । उनीहरुका आफ्ना सपना जन्मिन थालेका छन् ।
०००
सिध्रा हिजैको थियो । त्यसैलाई फेरी तताई भुतिनीले । रातो खुर्सानीको अचार बनाई । भात पाकिसकेको थियो । अरु दिनभन्दा सबेरै खाए उनीहरुले । अरु दिन त छोराछोरीलाई पनि खुवाएर काममा जान्थे । छोरो सानै भएकाले केही दिन पिठ्युमा बोकेरै लगी काममा । आज परिस्थिति केही फरक थियो । मजाको बर्षात भएको थियो । आज माछा पाइने सम्भावना धेरै छ । के थाहा ! यस्तो बर्षात भोलीपर्सी रहला नरहला !
आजको दिन खेर जान दिनुहुन्न । आज सकेजति भुरा छोप्नुपर्छ । यही सोची भुतिनीले । त्यसैमा सहमत भयो भिखुराम । आज जता गए पनि भुरा पाइन्छ । मिलेर एकै ठाउँ जानुभन्दा अलगअलग गए बढी भुरा आउँछ । बरु छिट्टै फर्किनुपर्ला । योजना बनाए उनीहरुले । गोरुलाई अलिकति पराल फालेर हिँडे उनीाहरु ।
घरबाट निस्कनु अघि उनीहरु दुवैले एक एक बटुको जाँढ पिएका हुन् । भिखुरामलाई हेक्का भएन उसले कति पियो ! उसलाई हतारो थियो । ऊ भन्दा अघि अरु कोही पानीमा हेलिएको नदेखियोस्, उसको जालभन्दा अघि अरु कसैको जालले पानीमा फन्का नमारोस्, उसको डढियाभन्दा पहिले अरु कसैको डढियामा माछा नपरुन् …… ।
भुतिनी जाल काँधमा भिरेर उत्तर लागि भिखुराम दक्खिन् । उनीहरुको दुइ वर्षे छोरो सारुख विछ्यौनामा सुतेकै थियो । पाँच वर्षे छोरी काँजल भर्खर उठेर आँखा मिच्दै ढोकाबाट बाहिरको जलमग्न संसार चियाइरहेकी थिई । हिन्दी सिनेमाका मन पर्ने अभिनेताका नामबाट भिखुरामले आफ्ना छोराछोरीका नाम राखेको थियो ।
‘डाई ! मै फेन् मारटुँ आज मच्छी …. !’
‘छाई ! आज टु ना मार, बैठल रह घरे । भैया फेन बहार ना जान डेऊ ….. !’
बाहिर पानी धेरै भएकोले छोरीलाई भित्रै बस्न र बाहिर ननिस्कन भन्दै भुतिनी बाटो लागी । छोरीले उसले भनेको कुरा सुनी कि सुनिन, हेक्का रहेन । भिखुरामले त झन यतिसम्म पनि भन्न बिस्र्यो । छोराछोरी तिर उसको ध्यान गएन । उसको मानसपटमा केवल आज धेरै माछा मारेर ल्याउने कुराले मात्र ठाउँ लिएको थियो ।
‘आज के ल्याइटा ढेउर मच्छी !’
उनीहरु प्रतिष्पर्धाको मानसिकता बोकेर माछा मार्न गए । अरु दिन उनीहरु अक्सर सँगै जान्थे । एकै खल्ला, एकै नाली या एकै लदियामा मिलेर माछा मार्थे । तर आज जताततै खल्ला, जताततै नाली र जताततै लदिया बनेका थिए । घरदेखि टाढा दूरदूर सम्म पानी नै पानी थियो । जमिनको सतह कतै देखिदैनथ्यो । अर्थात जताततै माछा नै माछा हुने सम्भावना थियो ।
०००
थारुहरु माटोमा जन्मिन्छन्, पानीमा हुर्किन्छन् । उनीहरुको सबैभन्दा प्रिय बस्तु पनि माटो र पानी नै हो । बालबालिका होउन, जवान या बृद्धबृद्धा नै किन नहोउन्, माटोको सुगन्ध र पानीकोे रङ्गले उनीहरुलाई लोभ्याइहाल्छ ।
डाइबाबा गैसकेपछि दुवै आँखा पुछी काँजलले । उसले अघाउन्जी हेरी दैला अघिको पानीको सागर । दूर दूरसम्म फैलिएको त्यो सागर उसले जविनमा पहिलो पटक देखेकी हुँदी हो । या देखे पनि सम्झना नहुँदो हो । निकै रमाइलो मानी हेरी उसले बर्षातको भेल । घर अघिल्तिरको नालीको फोहर पानीमा डाइबाबासँगै भुरा छोप्ने प्रयास धेरै पटक गरेकी थिइ उसले । आज उसलाई आफै भुरा खोज्न र आफै छोप्न रहर जाग्यो । केही दिन अघि उसैका लागि बनाइदिएको सानो बल्छी समाती उसले । दैलामै उभिएर बलेसमिा बल्छी खेलाउन थाली । त्यो गँड्यौला बिनाको बल्छी थियो । चारो बिनाको । आकर्षण बिनाको । आकर्षण नभएको बस्तुले कसैलाई अल्झाउन सक्दैन । बल्छीको नजिकै परेनन् भुराहरु । बल्छी राखेर फाटो जालको एक टुक्रा ल्यार्इृ भित्रबाट । आँगनमा ओछ्याई । धेरै पटकको प्रयास पछि ऊ केही भुरा समात्न सफल भई । जीवनमा पहिलो पटक काँजलले आफ्नै हातले भुरा समाती । ती खुशीका भुरा थिए । ऊ अरु भुरा खुशीको खोजिमा जुटी ।
भित्रबाट रुँदै आयो साहरुख । ऊ भर्खर बिउँझेको थियो । एक छिन बालिका काँजलले भाइ सारुखलाई भुल्याइ फकाई । डाइबाबाले राखी छोडेको भात पनि खाए उनीहरुले ।
बलेसीको पानीमा भुरा छोप्ने प्रयास गर्न थाली काँजल । उसको त्यो आवश्यकता थिएन, बाल रहर थियो । उसकै पछिपछि थियो सारुख । घरकै वरीपरी जमेको पानीमा निकै बेर अल्झिए उनीहरु । सिमसिम पानी परिरहेको थियो । उनीहरु निथ्रुक्कै भिजेका थिए । भिज्नुमा पनि उनीहरु अनुपम आनन्द मनाइरहेका थिए । बर्षा बढ्ने घट्ने चक्र निरन्तर थियो । ससाना भुराहरु पानीमा बग्दै पौडिदै आँगनमा आउने र आँगनबाट जाने क्रम पनि निरन्तर थियो । काँजल र सारुख जस्तै माछाका भुरा पनि उत्सव मनाउँदै थिए सायद । भुराका बथान सँगै काँजल र सारुख पनि बिस्तारै आँगन बाट बाहिरिए र नालीको भेलतिर खेल्न थाले ।
०००
बर्षातमा माछा मार्नु थारुहरुको बाध्यता र रहर दुवै हो । साहुमहाजनका घरमा कमैया बस्दाका कहालीलाग्दा दिनहरुमा उनीहरुलाई मिठो मसिनो खाने सुविधा र अधिकार दुवै थिएन । जिब्रोको रहर र पेटको भोक मेटाउन यस्तै सिध्रा, घोँगी, गङ्गटाहरुको जोहो गर्थे । जसले यो कमालाई बालबच्चैदेखि देखे भोगे उनीहरुमा त्यसैको लत बस्यो । आउँदो पुस्ताले त्यसलाई रहर र बाध्यता मात्रै नभएर सँस्कारको रुपमा समेत बुझ्यो । यी सबै आयाममा नारिएर हिँडेका हुन भिखुरामका दम्पती ।
चारैतिर माछा मार्ने थारुहरुका मेला जस्तै देखिन्थे दम्मारतिर । सडक किनाराका नाली, खेत खल्ला, ससाना खोल्सा खहरे जताततै जाल फिजारिरहेका । भिखुराम भीड मन पराउँदैनथ्यो । भीडमा माछा पनि धेरै पाइन्थेनन् । तब ऊ एक्लै अलि टाढा गएको थियो । ऊ मोहना किनार तिरै पुगिसकेको थियो । दिनभर त्यहीं जाल हानेर बिताउने मनस्थिति बनायो उसले । कम्मरमा डढिया बाँधेर खल्लामा जाल घुमायो । उसको खुशीका भुराहरु एकएक गर्दै जालमा पर्दै गए । ऊ फेरी फेरी जाल घुमाउने काममा व्यस्त रह्यो ।
जाल र पानीसँग लगातार छ घण्टा बितायो भिखुरामले । त्यो अवधिमा ऊ पानीमा डुव्यो चुर्लुम्म ! बर्षातमा भिज्यो, निथ्रुक्कै । आँधीमा हेलियो । तर उसलाई यी कुनै कुराको पर्वाह भएन । यस्ता घामपानी, आँधीहूरी उसले जीवनमा कति भोगेको छ कति !
जीवनमा पहिलो पटक हो उसले यति धेरै माछा मारेको । डढिया भरेर पनि पोलिथिनमा पनि आधा बनायो उसले भुरा । बर्षातमा आकासबाट माछा झर्छन भन्छन मान्छेहरु । उसलाई पनि हो कि जस्तो लागेको थियो । दश महिना सुख्खा रहने खेतका गरामा बर्षतमा मात्रै माछा कहाँबाट आउँछन् ? आकाशबाटै त झर्लान् नि ! …. यसतै लाग्थ्यो भिखुरामलाई । … तर …. आज उसको मनमा अलि संशय पैदा भएको छ । यभि धेरै माछा आकाशमा काँ बस्छन् ? धर्तीमा सुख्खा खडेरी पर्ने मौसममा आकाशमा पनि त तातो हावा बहेको हुन्छ नि ! तातो लू आकाश बाटै त धर्तीमा बग्छ नि ! त्यो बेला माछाका भुरा काँ गएर लुक्छन त ?
यति ठूलो डढिया माछा भरेपछि भिखुराम माछको उत्तपत्तिको बारेमा ध्यानमग्न भयो । उसलाई लाग्यो अलि थोरै थोरै माछा आकाशबाट आए पनि यति त आउन्दैन् । यो वर्ष सुख्खा पनि अति नै थियो । हुन त यस्ता गृष्म शरद उसको जीवनमा हरेक वर्ष आइरहन्छन् तर यो वर्षको गर्मी सधैंभन्दा बढी थियो । यो वर्षको गर्मीमा उसको झुप्रोमा सधैंभन्दा बढी सर्पहरु देखिए । छोराछोरीलाई आजसम्म मुश्किलले जोगाइराखेको छ । आफ्नै ज्यान मुश्किलले जोगाइराखेको छ । सायद गर्मी बढी भएरै होला यो वर्ष वर्षा पनि बढि भएको । जेहोस्, यो आजका माछा आकास बाट खसेका जस्ता लागेनन् उसलाई आजका माछा कर्नालीबाट उभो बगेको हुनुपर्छ । कि खुटिया नदिबाट आएको हुनुपर्छ ।
लगातारको बर्षातले खुटियाको पानी बढेर बस्ती पसेको छ भन्ने समाचार उसले हिजै रेडियोबाट सुनेको थियो । समाचारमा अझै केही दिन वर्षा बढ्न सक्ने पनि सुनेको थियो । वर्षा बढ्ने समाचारले उसलाई दुखी बनाएन् । ऊ मनमनै मुस्कुराएको थियो । र मनमनै भनेको थियो– बढोस् अझै केही दिन्, माछा मार्न पाइन्छ ।
गाउँघर जलमग्न हुनु उसका लागि कुनै दुःखको विषय रहेन । त्यो अनुपम खुशीको मौसम थियो । हुन सक्छ भोलि पनि यसरी नै माछा पाइने छन् । अलि धेरै माछा त उसले केही दिनदेखि जम्मा गरिसकेको छ यसपाली माछा राम्रै पाइयो । यी माछालाई ऊ भोली घाम लागेको दिन सुकाउनेछ । घाम नलागे चुलोको आगोमै सेक्नेछ । यसपाली जाडोसम्मै पुग्छन् उसका माछा ।
०००
घरतिर हिँडिहाल्नु अघि उसले अन्तिम पटक जाल फिजायो उर्लदो भेलमा । उसको जाल निकै गह्रौँ लाग्यो । माछाले मात्र जाल यति गह्रौँ हुदैन । भिखुरामलाई थाहा छ जालमा सधैँ माछा मात्रै पर्दैनन् । भ्यागुता, गङ्गटा, सर्प समेत पर्न सक्छन् । कहिलेकाहीँ त सुनगोहोरो समेत पर्न सक्छन् । उसले भार छाम्दा अनुमान लगायो – यति भारी माछा सर्प केही हुँदैनन् । गोहोरो पनि हुँदैन् । काठको मुढा पनि त हुनसक्छ नि ! के थाहा, मरेको कुकुर विरालो, स्याल या केही जनावर पनि त हुन सक्छ । उसको एक मनले भन्यो – आजको पानी आकाशबाट मात्रै आएको हैन, कुन नदी कुन ताल, कुन बम्मबाट बग्दै आएको हो । कतैबाट ठुलै माछा पनि त आएको हुन सक्छ ? उसको मनमा थोरै खुशीको बतास चल्यो । त्यो माछा नै निस्के के गर्ने भन्ने योजना समेत बनाउन भ्यायो उसले । पानीको गहिराई बाट जाल तानेर सतह माथि पु¥याउँदाको छोटो समय अवधिभित्र उसले धेरै थरी अनुमानहरु लगाउन भ्यायो ।
अलि बल लगाएर जाल तान्यो भिखुरामले । धमिलो पानीको सतहमा जालभित्रको बस्तु देखियो । त्यो माछा थिएन । सर्प, गोहोरो,अजिङ्गर थिएन । मरेको कुकुर, बिरालो या अरु जनावर केही थिएन । त्यो एक बालकको शरीर थियो । जाल नजिक तानेर हे¥यो । बालकको हैन, बालिकाको देह थियो । भिखुराम आत्तियो । एक्कासी उसको टाउकोमा चट्याङ्ग खसेजस्तो भयो । त्यसपछि के भयो, उसले केही थाहा पाएन । केही बेर पछि ऊ निन्द्रा बाट बिउझिएजस्तो भयो ।
त्यतिबेला दिनको दुई बजेको थियो सायद । तर भिखुरामलाई हेक्का रहेन । उसलाई त्यो चकमन्न रातजस्तो लाग्यो । जीवनकै सबभन्दा अन्धकार रात ! आकाशमा कालो कालो बादल मडारिरहेको थियो, पानीको मात्रा बढ्दै घनघोर वर्षा भन्न मिल्ने झरी थियो । तर भिखुरामलाई त्यो वर्षाजस्तो लागेन । किनकी आँखाबाट खस्न सुरु गरेको थियो घनघोर झरी । उसले पैतलामुनि पनि कालो बादल नै देख्यो । अघि पछि चारैतिर । जीवन नै कालो वादलको भुमरीमा फसिरहेको देख्यो । उत्तरबाट बग्दै बग्दै आएको भेलले उसले भर्खरै बटुलेका भुराहरु हुत्यायो । उसको खुशी र सपनाका भुराहरु भेलमा बग्दै बग्दै गए । उसले रोक्ने प्रयास गरेन, फगत हेरिरह्यो ।
‘रे ठरुवा, छाइ छावा कहाँ चल्गिलस्, घरेमे ना रही…!’
उत्तरबाट हतार हतार गर्दै भुतिनी आउँदै थिई । उसको वोलीले भिखुरामको मुटुमा अर्को तीर रोपियो । ऊ शून्य भयो, जड्वत् !
‘ना सुन्ठो रे ठरुवा, का कहनु मै … ?’
नजिकै पुगेर भुतिनी फेरी कराई । उसको बोलीमा घबराहट थियो । त्यो भिखुरामले प्रष्टै महसुस गरेको थियो । ऊसँग बोल्ने शव्द थिएन । मुटु भक्कानिएको थियो । उसले फर्केर पनि हेरेन ।
‘ऐया डाई ! यी का हो ?’
डढियाको छेऊमै पल्टिएको जड शरीर देखेर भुतिनि आत्तिई । भिखुराम अझै केही बोलेन । भुतिनीले जति आत्तिए पनि जति सोधे कराए पनि भिखुराम बोलेन । ऊ होसमा थियो या थिएन, त्यो पनि थाहा भएन् ।
डराउँदै आत्तिदै भुतिनी डढिया नजिक गई । जड शरिर पल्टाई र हेरी ।
मस्तिष्कको कुनै कुनाबाट एक तारा बेजोडले खस्यो र उसको आँखैबाट गयो । त्यसपछि भुतिनीले चारैतिर घोर अन्धकार देखी । त्यो अन्धकारको बीचमा एक बालकको जड शरिर देखी । त्यो जड शरिरमा एक शान्त अनुहार देखी ।
त्यो अनुहार उसैकी प्यारी छोरी काँजलको थियो ।
(कैलाली)