सखारै निस्कन्छन् घरबाट
केही जोर बेरोजगार पैतालाहरु
र जम्मा हुन्छन्
भञ्ज्याङ्माथिको चिया पसलमा ।
रातभरि सियाले टर्रो पारेको मुख
चियाको सर्को र सिग्रेटको धुवाँले मिठ्याउछन्
र उतार्छन् अघिल्लो रातको ह्याङोभर ।
एकै छिनलाई चिन्ता गर्छन्
रोग, रिन, शोक र भोकमरीको
तर चिन्तालाई निर्मुल पार्ने उपाय छैन
र खोज्छन् समय व्यतित गर्ने उत्तम उपाय ।
टाइम पास ........
कसरी हुन्छ टाइम पास ?
ओछ्याउछन् कुसुममाथि गुन्द्री र थणी
कोरुम पुगाउछन्
ट्वान्टीनाइन, साइटिङ, दसपत्ता र कलब्रेकको
दिनभरिको न्युनतम टाइमपासपछि
बस्छन् तीनपत्ताका खालहरुमा
मध्ये राती हुन्छ र टुङ्गिन्छ खेल
गोजि भरिन्छ साहुको
रित्तो हुन्छ पकेट बेरोजगारहरुको
हारको तिर्खा मेट्न फेरि सुरु गर्छन् पिउन
कालापानीका कोथणा, साईखोलाका लिच्चि
आदि इत्यादि ।
आज पनि घर पुगेको पत्तो हुँदैन
बिहान हुन्छ सोच्छन् "रिन कसरी तिर्ने"
र सोच्छन् कालापहाड बम्बै जाउँला
अहँ हुँदैन लकडाउन छ कोरोना कहर पो छ ।
फेरि अर्को दिमाखले सोच्छ
कोरोनाले लैगो भने क्या गर्ने
जिन्दगी मस्तले जिएर त मरुँ
वाह सोच्छ दिमाख
र सुरु हुन्छ उही दिनचर्या ।
के गाउँमा कम्रेडहरु बेरोजगार छन र ?
(अछाम)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।