जीवन संगीनीले
मृत्यु मार्ग पछ्याएपछि
म एक्लो ठान्दैछु आफूलाई
सग्लो र अग्लो घरमा
एक्लै भेट्छु आफूलाई
टीभीको स्क्रीनमा उनलाई देख्छु
घरका चोटाचोटामा उनलाई भेट्छु
बाहिर आगनमा
मखमली फूल्दा छोरीका यादहरुले सताउँछन्
टुसुक्क बस्न नभ्याउँदै
गुन्द्रीमा छोराका छायाँहरुले बस्न दिदैनन्
गोठतिर लौरो टेक्दै जाँदा
पुतली गाईले अतीत सम्झाउँछे
बार्दली त मेरा लागि बादल पारिको देश भैगो
छिमेकीहरुसँग साँध जोडिए पनि काँध फरक लाग्छ
एक्लो मान्छु घरभरि
सन्तान हुँदा पनि
अग्लो घर पुड्को मान्छु
फराकिलो आगन
कचौराको पिँधजस्तै लाग्छ अचेल
परदेशिएका छोराहरुले मोबाइलमा बात मार्छन्
छोरीहरु मायाका पोका फुकाउन माइत आउँछन्
नातिनातिनाहरु मेरो चश्माले मलाई नै हेर्छन्
तर
मन मान्दैन
सम्झि रहन्छु
आफू पढेको स्कूल
र
आफूलाई पढाएका गुरुहरु
बिर्सिन्न
गाउँबेसी गर्दै घाँसदाउरा गरेका संगीहरू
भुल्दैन
रोदीघरमा नाचेको र पिरती साटेको
आज पनि
मैले आफूलाई बृद्ध ठान्दिन्ँ
तैपनि
म जन्मिएको दिन बाबाले आँपको रुख रोप्नु भाथ्यो रे
अस्तिसम्म घरकै डिलमा थियो
उसले फल दिदैंन भनेर
हिजो बाहुबल भएकाहरुले
बञ्चरोले मासे
त्यसैले म उराठ छु
त्यस दिनदेखि
मैले
एक गाँस अन्न
एक थोपो पानी
मुखमा हुलेको छैन
रातभर जाग्राम बसेको छु
सोचेको छु
फल नदिने आँपको रुख र मबीच के अन्तर छ र
विहानै
मनको कुनोमा एउटा नक्सा बनाएँ
हामीजस्तै बस्नेहरुका लागि
एउटा प्रौढ घरको
जहाँ
हामी हुने छौँ
हामी जस्तैका मन बस्ने छन्
घृणा र दयाको रोटी होइन
माया र सद्भावका गाँस मिल्ने छ
हाम्रा मनका रोग निको पार्ने डाक्टर हुने छन्
हाम्रा कथा र ब्यथा सुनिदिने मान्छे हुने छन्
जाडोमा एक आङ् ओढाई दिने आफन्ती हुने छन्
गर्मीमा पसिना पुछ्ने हामी हुने छौँ
आजैदेखि प्रण गरेको छु
मैले प्रौढ घर बनाउने छु
तिमीहरुले मलाई के भन्छौ !
(रुपन्देही)