किसान स्केच - एक
जब गाउँमा अनिकाल पस्छ
ठिक त्यो बेला कि त दिल्लीले खान्छ
कि त चेन्नईले खान्छ
गाउँको रणमायाहरुको अर्ग्यानिक सपना
किन खान्छ ?
सत्ता मौन छ ।
किसान स्केच- दुई
आमाले जीवनको दुइ एपिसोड
यै खेत खनेर बिताइन्
जहाँ अहिले निर्माण भएको छ
सयदिने रोजगारको आधा कल्चो बाटो ।
किसान स्केच - तीन
कृषक सन्चवीर लिम्बुको
कोदो बारीको भित्तामा झुन्ड्याएको छ
'एजुकेसन फर्र अल'
लेखिएको सर्बशिक्षा अभियानको बोर्ड
त्यही बोर्डको फेदमा बसेर
सोधी बस्छ सन्चवीर लिम्बु
अक्षर भनेको कस्तो हुन्छ ?
स्कूल भनेको कस्तो हुन्छ ?
किसान स्केच - चार
जब जब यो देशको शिक्षा आयोगहरूले
सर्बशिक्षा अभियानको घोषणा गर्छ
तब तब नै किन अशिक्षित हुन्छ हँ
गाउँको असंख्य सन्चवीर लिम्बुहरु ?
किसान स्केच - पाँच
अदुवा कुहेर प्रष्टेसन भएको
किसानहरुको चेतनालाई ब्ल्याकमेल गर्छ
साला यो कुच्चोको भाउ
जब सुकाउरोमा परेर मर्छ अलैंची
दिलमाया दिदीहरुको बैशालु सपनाले
सुसाइड गर्छ अलैंचीको बोटबोटमा झुन्डिएर ।
किसान स्केच - छ
फल्दै फल्दैन कोदो
दश रुप्पे के.जि छ कुच्चोको भाउ
अभावले जहिल्यै समाति बस्छ
किसानहरुको स्कूल जाने छोरा छोरीको खुट्टा
यो कण्डोमको एड देखाउँने राष्ट्रिय टि भी च्यानलले
किन देखाउँदैन हँ अलैंचीको बिज्ञापन?
(कालिम्पोङ/दार्जीलिङ/भारत)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।