धारेहात लगाउँदै
मुख नदुखुन्जेल
मलाई गाली गर्न बन्द गर
यसमा मेरो के दोष ?
बहनु मेरो धर्म हो
उकालोबाट ओरालोतिर झर्छु म
यही मेरो कर्म हो
त्यसैले
मलाई गाली नगर्नु
हात उठाई
धारेहात लगाई
मलाई नसराप्नु ।
गङ्गा भनी पुजेको नदी
हामी सबैलाई जीवन दिने नदी
हिंस्रक बन्यो नभन्नु
हाम्रा बस्तु, चौपाया बगायो
खेत, खलियान बगायो भन्दै
गुनासो मात्र नगर्नु ।
पहिले म गहिरो थिएँ
फराकिलो भएर बहन्थेँ
अहिले
मलाई साँघुरो बनाएका छन्
म अतिक्रमणमा परेको छु
यति विघ्न विनाशको जिम्मेवार
म हुँदै होइन
त्यसैले
मलाई गाली नगर
मेरो भूभाग हड्पिँदा पनि
म त मलाई दिएकै बाटोबाट बगेको हुँ
दोष जति मेरो थाप्लोमा थुपारेर
तिमी कसरी पानीमाथिको
ओभानो बन्नसक्छौ ?
हो
अप्रिय लाग्छ मलाई
मान्छेहरूका रोदन
उनीहरू घरबारविहीन भएको
हेर्न कठिन छ मलाई
म आफैले
असङ्ख्य जीवजन्तुको लाश
बोकेर लानुपर्दाको दुःख
मानिसकोभन्दा रत्तिभर कम छैन
तर पनि
बहनुको विकल्प मसँग छैन
निरन्तर बग्नु मेरो धर्म हो
मेरो कर्म हो
म चाहन्छु
मेरो बाटो नछेकून्
मलाई रोक्न नखोजून् ।
(काभ्र)