“लोकल छ थापा दाइ ! ” बिरमानले मासुपसलभित्र पस्दै सोध्यो ।
” पिउने कि टोक्ने ” ! हँसिलो र ठट्यौली पाराका थापा दाइले हातको हाउभाउ सहित प्रतिप्रश्न गरे, र थपे, “कति बनाऊँ ? ”
“अब दुईजना छौँ कति खाइएला र ? डेढदुई किलोको जोख्नु न । चट्ट मरमसाला हालेर लेगपिस तयार गर्नु । छिटो है !” बिरमान र सँगैको साथी टेबुलमा बसे ।
परिकार तयार भो । ब्रान्डेडले लोकललाई साथ दियो । दुई सामाजिक घनत्व बोकेका बिरमानहरूले लोकल कुखुराको लेगपिस राजनीतिक घोचपेच र आ-आफ्नो समाज सेवाको डम्फु बजाउँदै सफा गरे ।
°°°°°°°°
मोबाइलको भाइब्रेसनले फोन आएको जनाउ दियो । दुबैतिरको “हेलो” हेलोपछि तीस सेकेन्ड वार्तालाप भयो ।
“जे गर्नुहुन्छ तपाईको खुशी, केटाकेटीले खसीको मासु भुटेर खाने भनेर हैरान पारेका छन् ।” उताबाट फोन काटियो ।
“ए भाइ ! आधा किलो ब्वाइलर तौल त !” बिरमानले होटलमा काम गर्ने केटोलाई अर्डर गर्यो ।
“आधाले पुग्छ र सर !” केटोले मासु जोख्दै गर्दा बिरमानतिर नहेरी सोध्यो ।
“केटाकेटी झोल मन पराउँछन्, तिमी हल्ला नगरी प्याक गर त !” बिरमानले दाँतमा तुथपिक धुसार्दै आदेश दियो ।
–
(धनगढी)