मैले हिँडे पनि नहिँडे पनि
उचाइहरु चुमे पनि नचुमे पनि
गन्तब्य संगाले पनि
नसंगाले पनि
शास्वत
ओढारहरुले एकदिन मेरा पाइलाहरु
जफत गर्नेछन !
मिठा सपना देखे पनि नदेखे पनि
आखाँहरु फोडीदिने छन !
चित्कार जिन्दगीको सुने पनि नसुने पनी
कानहरु तोडिदिने छन !
र मलाई बेहिसाब अँध्यारोमा बाँध्ने छन ।
हर अस्तित्वले भोगेको कथाको दृश्य
मैले पनि भोग्नु पर्नेछ
मेरा नसाहरु रोकिने छन्
ज्योतिहरू गुम्ने छन्
आवाजका तरङ्गहरु मसम्म
आइपुग्ने छैनन्
मेरा हर कोषहरू पुरानो अतीतमा
रुपान्तरण हुनेछन्
म सधैको निम्ति कारागारमा
कैद हुनेछु ।
हो त्यति नै बेला
त्यही घडीमा
नाट्यशालामा ठुलो भिड लाग्नेछ
आँसुहरुको !
हाँसोहरुको !
स्मृतिको कुनै कुनाहरुबाट
नाता कोट्याएर
दुस्मनी कोट्याएर
साथीत्व कोट्याएर
नाटक मन्चन गरिनेछ
बिजयको !
पराजयको !
समर्पणको !
घमण्डको !
संबेदनाको !
नेपथ्यमा बेजोड ताली पिटिनेछ
रङ्गमङ्चमा पात्रहरु नाटक गरेर
कहिल्यै थाक्ने छैनन्
ओढार नभेटिन्जेल !
ओढार नभेटिन्जेल !!