छचल्किन्छ घरिघरि
राष्ट्रियताको मौजुदा संवेदना
खै ! सीमा दुख्छ कि देश
भन सरकार प्रमुख
अवहेलनाको टीका लगाएर
कहिले भेटिन्छ सामथ्र्यको उचाइ
कहिले बाँडिन्छ पहिचानको हार्दिकता ।
गाउनु छ आत्मियताको संगीत
बजाउनु छ विजयको मंगल धुन
बैशाखीमा उभिएर
कहिलेसम्म हिँडाउँछौ बद्नियतको बाटो ।
खस्नै लागेको राष्ट्रियता
बोक्नु छ मधेश भएर
थेग्नु छ पहाड भएर
मलाई नेपाली भएर बोल्ने मौसम भए पुग्छ
मलाई स्वाधीन भएर फुल्ने आद्रता भए पुग्छ ।
बिडम्बना !
फट्दै गएको बादलजस्तो
कहिले चुलिन्छ हाम्रो विश्वासको गजुर
कहिले फुल्छ मौलिकताको लालीगुराँस
भन सरकार प्रमुख
पराधीनताको सिरानी हालेर
कहिले सम्म खुवाउँछौ
आँसुको दाल भात ।
(भोजपुर)