पन्ध्र वर्षको उमेरमा सुर्खेत झर्दा पहिलोपटक साइकल देखेको म दुइ पाङ्ग्रे लिखुरे साइकलमाथि ठुलो भिमकाय ज्यान भएको मान्छे चढेर टिङटिङ घण्टी वजाउदै गुडेको देख्दा आश्चार्य चकित भएको थिएँ । पछिपछि म आफै साइकिल सिक्न थालेँ।
साइकल सिक्दा उछिट्टिएर कतिपटक माछाझैँ पछारिएँ । कतिपटक साइकलवाट उछिट्टिएर जमिनमा घसारिदा हातखुट्टाका छाला खोस्रिएर रगत वग्यो । साइकलको पाइडिल हान्दा चेनमा रगाडिएर गोलिगाँठामुनिको छाला खुइलियो । एकपटक त ग्राभेल गरेको रोढीमा चिप्लिएर घुँडानेर जिन्स पाइन्ट नै च्यात्तियो ।
अर्को पटक एकजना साथीलाइ पछाडि राखेर साइकल हाँक्दा रोडमा अगाडि वनाएको माटाको व्यारिएरमा उछिट्टिएर सम्वेदनशील ठाउँमा चोट लाग्दा मैले पहिलोपटक तोरिको फूल देखेको थिएँ । साइकल एक ठाउँमा थियो । म एक ठाउँमा थिए भने साथि अर्कै ठाउँमा थियो ।
त्यतिखेर वीरेन्द्रनगर वजारमा रु सात प्रतिघण्टा भाडामा साइकल पाइन्थ्यो । हामी दुइ घण्टा भित्र साइकलमा लाटिकोइली काँक्रेविहार पुगेर फर्किन्थ्यौँ।
साइकललाइ कष्टपूर्ण तरिकाले सिके पनि मैले मोटरसाइकल सिकौँला र चढेर हिडौँला भनेर कल्पना गरेको थिइनँ । मेरो लागि वाइक वाघ थियो । वाघको ढाडमा वसेर वाघकै कान निमोठनु मेरा लागि असम्भव थियो । तर एक दिन यस्तो समय आयो घर नजिकैबटा मोटरबाटो खनियो । पहिले दुइ खुट्टे र चारखुट्टे हिँडने ठाउँमा दुइ पाङ्ग्रे र चार पाङ्ग्रे हिँडन थाले ।
पहिले सुइसुइति हिँडेको गोरेटो वाटो मोटरवाटोमा रुपान्तरण भएको देख्दा हिँडने जाँगर लाग्न छाड्यो । पन्ध्र वर्षको उमेरमा साइकल देखेको म तीस वर्षको उमेरमा मोटरसाइकल किन्ने योजना वनाउदै थिएँ ।
आफ्नै आँखा अगाडि आफूजस्तै मान्छेहरु वाइकमा सरर हुइकिदा मैले मन थाम्न सकेको थिइनँ । म हल्का खालको सेकेण्ड हेण्ड वाइक किनेर सिक्ने निस्कर्षमा पुगेको थिएँ ।
साथीभाइहरुले नयाँ भन्दा पनि पुरानो वाइक किनेर सिक्न सल्लाह दिन्थे । मलाई पनि नयाँ वाइक किनेर ठाउँ ठाउँ पछार्नुभन्दा पुरानो वाइक किनेर सिक्नुनै उतम लाग्यो ।
एकदिन पुरानो वाइक मलाइ खोज्दै आइपुग्यो । वाइक पुरयाउन आएको मान्छे वाइकजतिकै ख्याउटे थियो । उसले सुर्तिले काला भएका दाँत देखाउँदै वाइकको चाबी मतिर वढायो।मैले पुरस्कार थापेझैँगरी वाइकको चाबी वुझेँ।
मैले रु पचास हजारमा सेकेण्डहेण्ड वाइक किनेँ।वाइक यामहा कम्पनीको थियो ।
त्यसभन्दा अगाडि १५० सिसिको आफन्तको पल्सर वाइक सिक्ने अवसर पाएको थिएँ ।जब वाइक भटभट गर्थ्यो वाइकमाथि चढेपछि मुटु पनि वाइकको इन्जिनझैँ भटभट गर्न थाल्थ्यो।मुटु जति नै भटभट गरे पनि मैले सम्भालिएर फुटव्रेक, क्लोज, डिसव्रेक, एक्सिलेटर, गियर आदिको जानकारी लिएर हल्का फुल्का चलाउन पनि थालेको थिएँ।
एकदिनको कुरा हो सिक्दासिक्दै घ्वावाइ आवाज आएर एकैचोटि म पल्सर वाइकको मुनि झण्डै माउले चल्लालाइ छोपेझैँ चेपिएको थिएँ।फेरि साथीको सहायताले उठेर चलाउने प्रयास गर्दा भरखर नारेको वहर गोरु जुवालि फुत्काएर भागेझैँ वाइक हातवाट फुत्केर कान्लामुनि गएको थियो ।म भने उतानो टाङ भएर माथि नै पल्टेको थिएँ।मेरो शरिरमा डरले झाँक्री चढेझैँ कम्पन आइरहेको थियो ।मेरो मुटुले वाइकको इन्जिनकै गति लिइरहेको थियो ।मैले तत्काल वाइक चढने आँट गर्न सकिन।
तर रहरलाइ डरले छेकेन।मेरो हातमा यामाह वाइकको चाबी र विलवुक थियो ।भोलिपल्ट विहानै नजिकैको विध्यालयको चहुरमा वाइक सिक्ने योजना वन्यो।सानोतिनो रकेटनै प्रक्षेपण गर्न लागेझैँ चहुरमा मानिसहरुको उपस्थिति थियो ।मैले वाइकलाइ लात हाने तर स्टार्ट भएन ।पुषको महिना चिसोले इन्जिन चिसिएर हो कि वाइकनै पुरानो भएर हो।वाइकले स्टार्ट हुने जाँगर देखाएन।किक हान्दा हान्दा शरीर फतक्कै गल्यो।जाडोमा पनि खलखल्ति पसिना आयो तर वाइक स्टार्ट भएन।म थकित भएर विधालयको पेटिमा वसे ।त्यहाँ उपस्थिति भएका मध्य वाइक सम्वन्धि सामान्य ज्ञान भएकाले समेत दुइचार लाति हानेर वाइक स्टार्ट गर्ने प्रयास गरे तर उपलव्धि शून्य भयो ।केही वेरपछि म आराम गरेर उठेँ अनि दुइपटक जति किक हाने यसपालि भने वाइक स्टार्ट भयो ।वाइकको साइलेन्सरवाट टियर ग्याँस जस्तो धुवाँको मुस्लो निस्कियो र हावामा विलायो।मैले मुटु दह्रो वनाएर वाइकको ह्याण्डिल समाएर एक्सिलेटर वटारे वायुपंखी घोडाझैँ वाइक हावामा वतिदै अगाडि वढयो र डयाम्म भुइमा पछारियो।पछारिएर एकदम राम्रो भयो ।नत्र सिधै अगाडि वढेको भए माथिल्लो चहुरवाट सिधै अगाडि कर्कटपाताले बनेको तल्लो भवनको छानुले मेरो शिर छेदन गर्न पनि वेर लाग्थेन।
त्यो दिनको सिकाइ त्यहि स्थगित भयो ।फेरि अर्को दिन विहान भर्खर डोजरले खनेको मोटरवाटोमा धुलो उडाउदै र छेउकुना गर्दै म यामाहा माथि सवार थिएँ।जाँदा जाँदा एउटा खोल्सो आयो वाटोमुनि खोल्सोमा वाँसको झ्याङ थियो । यामाह त्यति सोझियो ।मैले रोक्ने प्रयास गरेँ तर यामाह रोकिएन।टेलिभिजनमा वाइकको विज्ञापन गर्दा मान्छे सहित वाइक उडेर एक ठाउँवाट अर्को ठाउँमा पुगेझै म वाइकसँगै वाँसको झ्याङतिर गुटुमुटु भएँ ।मेरो दायाँ खुट्टा वाइकको पाङ्ग्रा भित्र छिर्यो ।म पासामा परेको कालिजझैँ हलचल गर्न नसकेर वाँसको झ्याङनेर उतानो परिरहेँ।त्यतिकै मा वाटोमा यताउता हिँडने मान्छे र गाउँका मान्छे आएर मेरो खुट्टा पाङ्ग्रावाट निकाले अनि मलाई र वाइकलाई
वोकेर वाटो छेउ निकाले।
वाइकको भाइजर फुटेर कुरुप भएको थियो ।अगाडिको हेडलाइट फुटेर आँखा फुटेको गोरुझैँ देखिएको थियो ।मेरो खुट्टामा निलडाम पर्नेगरी चोट लागेको थियो ।हात कोतरिएर छाला खोस्रिएको थियो ।मलाई दुइ तीन दिनसम्म वाइक चढ्ने हिम्मत आएन।मैले वाइक नचलाउने निधो गरेँ।विस्तारै चोट निको भयो ।
“घोडा चढने मान्छे लडछ”मैले बूढापाकाहरुले भन्ने गरेको उखान सम्झिएँ।
तर म वाटोमा फेल भएको थिएँ।अब फेरि चहुरमा चलाएर हात वसाल्नु पर्ने थियो ।म अर्कोदिन विद्यालयको चहुरमा पुगेँ।हेडसर लगायत दुइजना अरुले पनि वाइक सिक्ने रहर गर्नु भो।मैले पुरानो वाइक वेच्ने निर्णय गरेँ।उहाँहरुले सिक्ने प्रयोजनका लागि वाइक किन्नु भयो ।रु तीस हजारमा वाइक थर्ड हेन्ड भयो ।मैले विलवुक र चाबी हेडसरलाई वुझाएँ।
पुरानो वाइकको सन्दर्भमा एक जना साथीले भनेको कुरा सम्झिन्छु- “वाइक पञ्चर भयो भने टायरमा पराल कोच्ने, पेट्रोल सकियो भने पिसाव फेरेर चलाउने….!” यस्तो उटपटयाङ कुराले मलाई भित्रैदेखि हाँसो उठ्थ्यो।
लगतै त्यो वर्षको दशैमा तलव र चाडवाड खर्च वुझेर मैले १२५ सिसिको नयाँ पल्सर वाइक किनेँ।नयाँनयाँमा वाइकको खुवै जतन गर्न मन लाग्थ्यो ।अलिकति हिलो धुलो लाग्नवितिकै सरफ र सेम्पोले धोएर सफाचट पार्थें।कच्ची बाटो थियो ।दिनमा तीन पटकसम्म पछारिन्थ्यो ,छ पटकसम्म ढल्थ्यो।सामान्य चोटपटकको वयान गरी साध्य थिएन।आफ्नो चोटपटकभन्दा पनि वाइकप्रति सहानुभूति जाग्थ्यो।
कहिलेकाहीँ वाइक किनेकोमा पछुतो लाग्थ्यो ।मैले वेकारमा वाइक किनेछुजस्तो लाग्थ्यो ।
मैले वाइक राख्ने ठाउँ सडकवाट तल थियो ।एकपटक अध्यारोमा हेडलाइट वालेर वाइक चलाएर राख्ने ठाउँ नजिक पुगेको थिएँ।ओरालोमा स्टार्ट बन्द भयो ।वाइकको हेडलाइट निभ्यो।स्टार्ट बन्द भएपछि चारैतिर अन्धकार छायो ।मैले एक्कासि क्लोज थिचेछु।वाइकले ओरालोमा झनै गति लियो ।हतासिदै डिसव्रेक दावेछु।वाइक अध्यारोमा घरको करेसामा जोतिन पुगेछ।मोबाइलको लाइट वालेर हेरेँ।दायाँतिरको लुकिङग्लास भाँचिएर सिंङ फुक्लिएको पाडोजस्तो देखियो ।
वायाँतिरको लुकिङग्लास आफै निकाले वल्लअलि मिलेको देखियो ।
कच्ची सडक थियो ।हिँउद याममा धुलोले वाइक चिप्लिएर हैरान हुन्थ्यो । वर्षातको हिलोमा वाइक गड्दा झरेर तान्नु पर्थ्यो ,कहि चिप्लिएर पल्टिन्थ्यो भने कहीँ रोपाइँमा लगेको गोरुझैँ हिलाम्य भएर निस्किन्थ्यो।हिउँदमा भन्दा वर्षामा वाइक चलाउने काम साह्रै खर्चिलो हुन्थ्यो ।हिलो पसेर डिसप्याड छिटो विग्रिन्थ्यो ।चेनस्प्याकेट वदल्नु पर्थ्यो।कहिले केमचेन, कहिले क्लोज प्लेट, कहिले के त कहिले के सामान विग्रेर वदलिरहन पर्थ्यो।पेट्रोल खर्च त नियमित नै भयो।यस्तो सडकमा वाइक चलाएर पिच सडकमा चलाए सरह वार्षिक कर वुझाउनु पर्दा मन कागतिझैँ अमिलो हुन्थ्यो।
एकपटक वाइक चलाउँदा चलाउदै स्टार्ट बन्द भयो ।स्टार्ट गर्न खोजे स्टार्ट नै भएन।वाइकवाट टुल बक्स निकाले ।वेट्रीको कारणले हो कि भनेर वेट्री जाँच गरेँ।वेट्रीमा लगाएको विर्को तान्दा वेट्रीभित्रको एसिड उछिट्टिएर आँखामा पर्यो।सयौं खुर्सानी एकैपटक पिसेर आँखामा धुलो हालेझैँ भयो ।संयोगबस धारा नजिकै थियो । रन्थनिदै गएर आँखामा पानी छ्यापेर पखालेँ।अलि शितल भयो ।
अर्कोपटक वाइक स्टार्ट बन्द भयो ।हेर्दा सवै कुरा ठिकै देखिन्थ्यो ।जतिनै प्रयास गरे पनि वाइक स्टार्ट भएन।मिस्त्रीलाइ फोन गरेँ।उसले भनेझैं टुलवक्स झिकेर प्लग खोलेर हेरेँ ।प्लगमा कालो धुवाँ जमेको थियो ।उसैले भने अनुसार प्लग सफा गरेँ।फेरि हाले वाइक स्टार्ट भयो ।अर्को दिन फेरि स्टार्ट बन्द भयो ।फेरि त्यही प्रक्रिया दोहोर्याएँ स्टार्ट भयो ।
हुँदाहुँदा म झोलामा नयाँ एक्स्ट्रा प्लग वोकेर हिँड्न थाले।अर्को पटक वाइकको ह्याण्डिल लुज भयो ।ग्यारेजमा लगेँ।मिस्त्रीले सजिलोसँग एलएनकिले कसेर वनाइदियो।केही समय चलाएपछि फेरि उही समस्या दोहोरियो।ग्यारेजमा गए वाइक वनाएँ अनि एउटा एलएनकि किनेर फर्केँ।फेरिफेरि त्यस्तै हुँदा आफैले कि प्रयोग गरेर ह्याण्डिल कसेँ।म पनि वाइकको मिस्त्रीजस्तो भएँ।सानोतिनो सामान विग्रिदा आफै मर्मत गर्ने भएँ।
वाइक पञ्चर हुन्थ्यो ।पञ्चर टाल्न ग्यारेजमा लैजान्थेँ।फेरि।पञ्चर हुँदा चाहिन्छ भनेर पञ्चर टाल्ने स्टिकर किनेर झोलामा हाल्थेँ।धेरै पटक पञ्चर हुदा लिकुइड हालेँ, पञ्चर प्रुफ वनाएँ।तर समस्या त्यतिले समाधान भएन।एक पटक ओरालो बाटोमा अगाडिको डिसप्याड जाम भएर घुँडा फुट्नेगरी पछारिएँ।
अर्को पटक फुटव्रेकमा भाटो अडकिदा भितातिर वजारिएँ।कहिले डिसव्रेक नलागेर हलो धसेझैँ वाइकलाइ भितामा धस्नु पर्यो।
१२५ सिसिको वाइकको सामान ग्यारेजमा खोजेको वेला पाइन्थेन।वाहिरवाट मगाउनु पर्थ्यो।मिस्त्रीहरु भन्थे-“यो वाइक त्यति सक्सेस छैन।”यस्तै यस्तै कारणले अनसक्सेस १२५ सिसि पल्सर वाइक सोरुममा लिलाम गरेर अर्को वाइक लिन वजाज सोरुम पुगेँ।हुनपनि त्यो वाइकपछि वजारमा आएन।
रु एक लाख साठी हजार को वाइक त्यहि सोरुमले रु पचास हजारमा लियो ।मैले अरु पैसा थप गरेर १५० सिसिको पल्सर वाइक किनेँ।मेरो हातमा नयाँ वाइकको चाबी थियो ।
तर पुरानु वाइक छोड्नुपर्दा म अलि भावुक वनेँ।मैले फर्किएर पुरानु वाइक हेरेँ।उसले हात हल्लाएर मलाइ विदा गरेझैँ लाग्यो ।हुनपनि कैयौं घामपानीमा हामीसँगै थियौं ।कैयौं लामा छोटा यात्रामा हामी सँगै हुन्थ्यौँ।अध्यारोमा होस या उज्यालोमा हामी सहयात्री थियौँ ।धेरै वर्ष संगत गरेको घनिष्ट साथि छुटेझैँ हाम्रो साथ सोरुममा छुट्यो।जुन ठाउँमा हाम्रो भेट चार वर्ष अघि भएको थियो उही ठाउँमा हामी छुट्टियौँ।
(दैलेख)