मनहरु बगर भए भने
क्रान्तिको ढुङ्गो उम्रन सक्छ ।
सत्ताको बुट
बारुदको फुट
फगत त्रास - समय
फगत सन्त्रास
शोक, भोक र क्रोधको
भोकै भोग हुनुभन्दा
अनुदार भए भने मनहरु फेरि
शान्तिको मुद्रा टुक्रन सक्छ ।।
मान्छेहरु-
माउते भएपछि
नबिर्सन वाहनको भोक
आँखामा लागेपछि
भोकका डामहरु
शिकार हुनसक्छन्
लगाम समाउने हातहरु नै.....।
विश्वास रोपेर फुलेका फूलहरुले
अविश्वासको बास्ना दिन थाले भने
फेरि,
मनहरुमा
विध्वंस फुर्न के बेर ?
तिमीसँग आस्थाको सम्झौता हो
मनोमालिन्यको धारामा
हस्ताक्षर गरेको हो कहाँ र ?
मनले मन खाएको न हो
अपमान भएपछि फेरि
अन्धाधुन्ध प्रतिशोधहरु थाले भने
अर्थहरु मुछिन्छन् रक्तकणले
फगत विनाश बनेर ।
तिमीले, पुनरावेदनको आवाज
उठाउनु अघि नै
अन्त्यका एकपक्षीय फैसलाहरुले
मान्छेहरु
मनहरु बगर भए भने
क्रान्तिको ढुङ्गो उम्रन सक्छ ।।
(गान्तोक, सिक्किम)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।