जनता
अस्पताल र अस्पतालको प्राङ्गणमा
औषधीमुलो नपाएर
बेड र अक्सिजन नपाएर
छटपटाउँदै र चिच्याउँँदै
जीवन बचाउन अनुनयविनय गर्दै
इहलीला त्याग र आत्मदाह
जे गरे नि
के भो र वाल मतलव !
किनकि,
म हरिलठठू र निकम्मा
अनि गैरजिम्मेवार र सत्तालिप्सा
जे जस्तो भए नि
सहजै चलाएकै छु
शासन र सत्ता
अनि निकै पाएकै छु
तलव र भत्ता ।
तसर्थ,
तिमी भन्दै गर
प्रतिगमन ! अग्रगमन !!
म “म” नै छु र हँु
तिमी एकचोटि “म” भएर त हेर ।
जनता
महाव्याधी र महासङ्कटमा
आँट, साहस र आत्मबल साँचेर
प्राणवायु भिख थाप्न
रोदन र क्रन्दन गरेर नि
जीवन धान्ने त्यान्द्रो नपाएर
विक्षिप्त र व्यथित भई
सांसारिक माया, मोह र क्रोध त्यागेर
महाप्रलयभित्र विलय हुँदै
मृत्युशैयामा गए नि
के भो र वाल मतलब !!
किनकि,
म अनुदार र अदुरदर्शी
अनि भ्रष्ट र अपारदर्शी
जे जस्तो भए नि
अनवरत पाएकै छु
छापबिदो भत्ता र सत्ताको
अनि बेला बेला लिएकै छु हुर्मत
नपुंसक छेपारे जत्थाको ।
तसर्थ,
तिमी भन्दै गर
प्रतिगमन ! अग्रगमन !!
म “म” नै छु र हुँ
तिमी एकचोटि “म” भएर त हेर ।
जनता
महामारीको आपद र विपदमा
बन्द गाउँ सहरको
कोठाभित्र थुनिएर
रोग, भोक र शोकमा रुमल्लिएर
चिटचिट पसिनामा निथ्रुक्क भिज्दै
हारगुहार बिन्तीभाउ गरेर
ढाडस र सहयोग खोज्दै
अनि आहत र राहत पर्खदै
अकालमा मृतुवरण गरे नि
के भो र वाल मतलब !!!
किनकि,
म उत्तरदायी, अनुत्तरदायी र लोभीपापी
अनि लम्पट र छलकपटी
जे जस्तो भए नि
सदावाहर दिएकै छु
राम्रालाईभन्दा हाम्रालाई नियुक्ति
बारम्बार लिएकै छु
दक्षिण, उतर अनि पश्चिमाको सल्लाह र जुक्ति ।
तसर्थ,
तिमी भन्दै गर
प्रतिगमन ! अग्रगमन !!
म “म” नै छु र हँु
तिमी एकचोटि “म” भएर त हेर ।
(सिमकोट, हुम्ला)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।