जूनजस्तै हुनु मैले कहिले भनेँ र ? आज तिमी जून जस्तै बन्ने कुरा गर्छौ मलाई अस्ताउने जून भन्दा सारा धर्तीलाई उज्यालो बनाउँदै खस्ने तारा नै मन पर्छ बेसारे शितलताभन्दा एक झुल्को उज्यालो नै सही छोरी तिमी बेसारे जून होइन चेतनाको तारा बन्नू । फेरि उही गुलाफको कुरा नगर छोरी मसँग अक्सर फूलहरु मन पर्दैन मलाई तिमीलाई थाहा छ नि छोरी फूलसँगै मन्दिरको कुरा आउँछ देवताको कुरा आउँछ मालाको कुरा आउँछ थरीथरीका घाँटीको कुरा आउँछ । यी बेसारे फूलहरु जहाँ जुनसुकै बेला जसको शिरमा पनि बसिदिन्छन् जसको घाँटीमा पनि सजिदिन्छन् बरु फूल नै बन्नु छ भने धाइराको फूल बन तिमीलाई थाहा छ नी छोरी ! कि थाहा छैन ? धाइराको फुल देवतालाई चड्दैन धन्न यी मान्छेहरुले धाइराको फुल चोखो राखिदिए । साँच्चि छोरी ! कुनै बेला फूलहरुको इतिहास लेखियो भने धाइराको फूलको बेग्लै इतिहास लेखिने छ हो छोरी ! यतिबेला म धाइरिङ्गमा छु हेरिरहेको छु धाइराको फूल र सम्झिरहेको छु तिमीलाई। (पोखरा)