तिमीलाई
तिमीले जत्तिकै चाहने मान्छे,
तिमीलाई
तिमीले जत्तिकै प्रेम गर्ने मान्छे,
तिम्रा हरेक उत्साहमा
हरेक निराशामा
हरेक सबलता र दुर्बलतामा
हरेक सही अनि गल्तीहरुमा,
निरन्तर साथ दिने तिमी मात्र हौ ।
जबसम्म
तिम्रा गुणहरुले
अबगुणहरुलाई जितिरहन्छन्,
जबसम्म
तिम्रा हरेक संभावनाहरुले
सकारात्मक ध्रुव पछ्याइरहन्छन्,
जबसम्म
तिम्रो जीवनको लय
तिम्रा वरिपरिका मान्छेहरुको,
फाइदासँग
अवसरसँग
अनि खुसीसँग
जोडिइरहन्छ,
तबसम्म मात्र
तिम्राहरु तिम्रा हुन्छन् ।
जब
तिम्रा वरिपरिका मान्छेहरुको
आशा अनुरुप
चाहना अनुरुप
तिम्रो जीवनको लय मिल्न छोड्छ,
जब
तिमीले कोर्न थाल्छौ
आफ्नाहरुसँग नमिल्ने खालको
आफ्नै खुसीको चित्र
जब
तिम्रा आफ्नाहरु धेरथोर
दुख्न थाल्छन् तिम्रो कारणले
तब
आफ्नाहरुको रङ्ग
पराइको जस्तै बनेको पत्तै हुँदैन ।
सत्य निकै तितो हुन्छ
तितै होस्
तर सत्य, सत्य हुन्छ ।
तिम्रो हर अवस्थाको
आफ्नो मान्छे
तिमी नै हौ
तिमी मात्रै हौ ।
तिमीले आफ्नो ठानेका
सबै मान्छेहरु
तिम्रो सद्गुणका
तिम्रो शक्तिका
अनि
तिम्रो संभावनाका मात्र आफ्ना हुन् ।
(देवदह, रुपन्देही)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।