उच्छलन हाइकु सङ्ग्रहका लेखक तेजविलास अधिकारी नेपाली साहित्यको क्षेत्रमा आफ्नो परिचय बनाउन सफल हाइकुकार व्यक्तित्व हुन् । तेजविलास अधिकारीको जन्म पिता मधुविलास अधिकारी र माता उमा अधिकारीबाट बि. सं. २०३२ साल साउन २ गते चितवन जिल्लाको इच्छाकामना (साबिकको दारेचोक) गाउँपालिकाको वडा नम्बर ३, कुरिनघाटमा भएको हो । प्राध्यापन क्षेत्रमा पेशागत संलग्नता रहेका अधिकारी साहित्यका सिर्जनात्मक कार्यमा पनि उत्तिकै क्रियाशीलता देखिन्छ ।
तेजविलास अधिकारीको ‘उच्छवास २०७२’, ‘उद्वेग २०७५’, र ‘उच्छलन २०७६’ गरी हालसम्म तीनओटा हाइकु सङ्ग्रह प्रकाशित छन् । समीक्षा, समालोचना र कविता लेखनमा पनि उनको कलम निरन्तर छ । प्रकाशनका हिसाबले उच्छलन उनको पाँचौ प्रकाशित कृति हो । उनका दुईवटा समीक्षा कृतिहरु प्रकाशित छन् । यसकारणले पनि तेजविलास अधिकारी पाठकका बीच परिचित स्रष्टा हुन् ।
यस छाटो समीक्षा लेखमा उनका उच्छलन हाइकुसङ्ग्रहमा समावेश रहेका हाइकुहरुबारे केही पाठकीय दृष्टि राखेको छु । उच्छलन हाइकु सङ्ग्रहमा जम्मा १६८ ओटा हाइकुहरु रहेका छन् र यी सबै हाइकुहरु ५६ पेजमा समेटिएका छन् । हाइकु सुरु हुनुभन्दा अगाडिका केही पेजहरु हाइकुमाथि विभिन्न विद्धानहरुले दिनुभएको भूमिका र टिप्पणीहरु रहेका छन् । प्रा. डा. मधुसूदन गिरीले ‘मौन विद्रोहका झण्डामुनि यथार्थका कोलाजहरु’ शीर्षक दिएर आफ्नो भूमिका मन्तव्य दिनुभएको छ । यसरी नै डा. हरिप्रसाद सिलवालले पनि ‘विचार र विवेश संयोजित ऐनः उच्छलन हाइकु सङ्ग्रह’ भनेर आफ्नो विचार प्रस्तुत गर्नुभएको छ । अझै टेकनाथ पाण्डेयले ‘मैले बुझें …..शब्दमा’ भनेर उच्छलनभित्र रहेका हाइकुहरुलाई केलाउनु भएको छ ।
तेजविलास अधिकारी साहित्यमा समकालीनतालाई टिपेर समाज परिवर्तनका लागि लेखिरहने लेखक हुन् । उनी समाजमा नराम्राको पक्षपोषण गरिरहेकाहरुको विरुद्धमा आफ्नो कलमलाई बुलन्द गर्छन् । उनको यो हाइकुसङ्ग्रह समाजमा घटेका राजनीतिक, सामाजिक र आर्थिक पक्षलाई समेटेर तयार पारिएको सामाजिक र न्यायिक पक्षधरताको एउटा दस्तावेज हो । उनी ‘अन्याय अत्याचारको विरोधमा जसरी बन्दुक उठाइन्छ, त्यसरी नै कलम पनि उठाउनु पर्छ । चेतना जागरणका दृष्टिले बन्दुकभन्दा कलम धेरै शक्तिशाली छ । कलमबाट उठाइएको आवाजले समाज रुपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ’ भन्दै यी हाइकुमार्फत आफूलाई आन्दोलनमा सशक्त उभ्याउँछन् । ‘राजनीति जनमुखी भयो भने सर्वसाधारण जनताले सुख पाउँछन्, राजनीति नेतामुखी भयो भने नेतालाई चैन र जनतालाई सकस हुन्छ’ उनी भन्दछन् ।
आज नेताहरु सत्ता स्वार्थमा लागेका छन् । कार्यकर्ताहरु शक्ति, सत्ता र शासकहरुको दास बनिरहेका छन् भन्ने यथार्थलाई हाइकुकार अधिकारीले आफ्ना हाइकुमार्फत उठाएका छन् । उनका हाइकुहरुमा देशको वर्तमान राजनीति, यसले निर्माण गरेको असहिष्णु र सिद्धान्दच्युततामाथि कटाक्ष छ । केही साक्ष्यहरु छन् यहाँ :
लालयुग रे समानता हरायो उस्तै छ लुट (पृ. ३) सार्वभौम त चुनावको भाषण श्रम खाडी (पृ. ८) राजधानीमा आलिसान महल फाप्यो व्यवस्था (पृ. १३) फेरि देखियो समाजवादी सोच आहत जन (पृ. ३२)
सङ्ग्रहमा रहेका केही हाइकुमा प्रकृति प्रेम पाइन्छ । मान्छेको प्रकृतिसँगको सम्बन्धले नै मानिसलाई निरन्तर सङ्घर्षशील बनाउँदै आइरहेको छ । यो सम्बन्ध जहिल्यै पनि सौहाद्र र मित्रवत् हुनु अनिवार्य छ । तर आज मान्छेको व्यवहारले प्रकृतिमाथि सङ्कट छ । त्यसैले हाइकुकार यहाँ कतै प्रकृतिसँगको सुमधुर आशा राख्छन् र कतै मान्छेसँगै विषाद् पोख्छन् ।
तिहार आयो फुलेछ लाखौं फूल दङ्ग म माली (पृ.२) जीवन खोज प्रकृतिमा कति छ त्यति अस्तित्व
यसै गरी उनले केही हाइकुमार्फत सामाजिक विकृति र विसङ्गतिका विषयहरुमाथि प्रहार गरेका छन् ।
बाढी भुकम्प दुःखभन्दा प्रचार माग्ने मेलो पो (पृ.८) नयाँ छ चोक फस्टाएको छ राम्रै गफ व्यापार (पृ.१५)
राज्य जनताप्रति उत्तरदायी त बनेन नै । राज्य प्रशासनमा रहेका स्वयं राज्यका कर्मचारीहरुप्रति पनि दायित्वविहीन बनिरहेको, एकातिर एकथरी भ्रष्टहरु मौलाइरहेको र अर्कोथरी हातमुख जोर्न पनि कठीन बनिरहेको, राज्यको नीतिहरु असन्तुलन बन्दै गइरहेको यथार्थप्रति पनि अधिकारीका हाइकुहरुले चित्रण गरेका छन् ।
तलब मात्र हातमा कर्मचारी सत्र छ हाई (पृ.४) शक्ति छउञ्जेल सकेको जम्मा पार खै अर्को पाला ।
हाल विश्वभर फैलिरहेको कोविड महामारीको सङ्क्रमणले त्रस्त मानव जीवन र स्वास्थ्य अभावका कारण विश्व नै निरीह बनिरहेको अवस्थामा यसको रोकथाम मानिस स्वयंको सचेतता हो, मानिसले आफ्नो दैनिक व्यवहारमा फेरबदल ल्याएर नै रोगमुक्त जीवन बाँच्न सकिन्छ भन्ने कुरालाई पनि यस सङ्ग्रहमा रहेका हाइकुले प्रस्तुत गरेको छ ।
जोगिन गाह्रो भो कोरोना भाइरसमा स्वयम आफैं नै (पृ.४)
निष्कर्ष
तेजविलास अधिकारीका यी प्रतिनिधि हाइकुले नेपाली समाजमा मौलाएका सामाजिक विकृति, विसङ्गति र राजनीतिमा देखिँदै आइरहेको विशृङ्खलता, राज्य व्यवस्थामा भएको परिवर्तनपछि पनि प्रशासनिक कार्य र व्यवहारमा देखिएको दुश्चरित्र, आर्थिक गतिहीनताप्रति कडा प्रहार गरेको छ । पर्यावरणमाथि भइरहेको प्रदुषण, प्रकृतिप्रतिको प्रेम र मुलुकको भविष्यप्रतिको आशावादिता उनका हाइकुहरुको मुल विषय बनेका छन् । उनका हाइकुहरु कतै व्यङ्ग्यमिश्रित छन् । विम्ब प्रयोगले हाइकुहरु सशक्त बनेका छन् । हाइकुहरु घतिला र गतिला छन् । कुनै हाइकुको बिचको पङ्क्तिमा आठ अक्षर रहेको छ । हाइकुको नियमअनुसार बिचको पङ्क्ति सात अक्षरमा आवद्ध हुनुपर्दछ । यसो हुनु लेखकको कमजोरी पक्ष देखिन्छ ।
समग्रमा भन्नुपर्दा हाइकुका विषय र प्रसङ्गहरु वर्तमान समयसापेक्ष नै रहेकोले हाइकुले आफ्नो स्थान बनाउन सफल रहेको छ । तेजविलास अधिकारीका हाइकु वर्तमानमा समयसापेक्ष, राजनीतिक, प्रशासनिक, सामाजिक, आर्थिक, पर्यावरणीय विषयका विविध आयाममा लेखिएका सशक्त हाइकुहरु रहेका छन् भन्दा अत्युक्ति हुने छैन ।
(हर्मी, गोरखा)