एउटा फराकिलो सडक होस्
गाउँको सानो सानो कुइनेटोहरू ,
अथवा गोरेटोहरू
ऊ मौन हुन्छ जहिले पनि
तर ऊ कसैको समाधि होइन
बस् ...ऊ कहिले प्रश्न गर्दैन
ऊ कहिले गुनासो गर्दैन ।
ऊ जहिले पनि एउटा गन्तव्य बनिदिएको हुन्छ
एउटा नयाँ सोचको
एउटा सफलताको
एउटा चेतावनीको
एउटा सपनाको
एउटा विश्वासको
एउटा इतिहासको
एउटा धर्मको ।
तर...!
ऊ जहिले मौन नै त बस्छ
ऊ साक्षी बनेको हुन्छ
सुकर्म कुकर्मको
हरेक साँझ बिहान
उसलाई थाहा हुन्छ
परिवर्तनका मागहरू
समयका कोलाहलहरू ।
उसलाई थाहा हुन्छ
कालो धनका आगमनहरू
उसलाई थाहा हुन्छ निर्मम हत्याहरूका दृश्यहरू
उसलाई थाहा हुन्छ
नारी पुरूषका बलत्कारका दृश्यहरू
अनि उसलाई थाहा हुन्छ
बाटो नपाएका
आत्माहरूका चित्कारहरू ।
हो उसलाई पक्कै थाहा छ
पेटमा कस्सेर पटुकी बाँधेर
फोहोरको ढ्वाङ्गसँग परिचय साटेर
उसको छात्तीमा न्यानोपन खोज्दै
उसलाई सुमसुम्याउँदै
एक पहरको मिठो निद्रामा
शीतको आक्रमणले
मृत्युलाई अंगालेको ।
उसले सहेको छ
एउटा मत्यु मान्छेको
गनगन, गुनासो,
परिबन्धका कथाहरू ।
ऊ त्यो बतासे बालकको
साक्षी नबनेको पनि कहाँ हो र
उसलाई फ्याँकिएको
ऊ हुर्केको
उसले पाएको संस्कार संस्कृति
सभ्यताको सबै सबैको
हो उ साक्षी हो
तर ऊ कालो कोटको
परिबन्धबाट मुक्त छ ।
उसलाई यो पनि थाहा हुन्छ
उसको आँखा जहिले नि तैनात छ
उसलाई जासुसी गर्न
वल्लो घर, पल्लो घर
त्यो गाउँ र यो गाउँ
घुम्न जानु छैन
उसले खुसुक्क कसैको कान पनि भर्नु छैन ।
तर ऊ जहिले पनि द्वन्दको अकारण
कारण बन्नु उसको दुर्भाग्य हो ।
बरू म भन्छु
तिमी कुनै मन्दिरको शिलाजस्तो नबन्नु
तिमी कुनै विशेष व्याक्तिको सालिक नबन्नु
खोलिदेऊ बरू
ती अन्धकारका
अदृश्य पन्नाहरू ।
केही बोलिदेऊ
केही हाँसिदेऊ
केही रोइदेऊ
बस् तिमी ...तिम्रो अस्तित्वको
आफै घोषणा गरिदेऊ ।
(दार्जिलिङ)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।