एउटा छोरालाई होटल म्यानेजमेन्ट पढ्न विदेश पठाकी छिन्, छोरीलाई नेपालमै एग्रिकल्चर पढाएकी छन्, घरमा गएर हेर्यो भने उस्तै रमित लाग्ने वातावरण छ । यो देख्दा हामी अरुको आशमा बाच्ने, र केही गर्ने आँट नभएका हुतिहारा अल्छेहरुलाई, अम्बिका दिदीको पौरख र जाँगरले गिज्याएझैँ लाग्छ ।
एक दिन हामी दुईचार जनाको समूह मिलाएर उनको घर जाने भयौँ ।
एक घण्टाको यात्रापछि हामी उनको घर पुग्यौँ । पुग्दा उनी तरकारीका नयाँ बेर्ना सार्न, हाते ट्याक्टरले, जोत्दै थिइन् । हामी आएको देखेपछि उनी बिसाएर हामीतिर आइन् । हामीलाई उनको घर वरीपरिको कोठेबारी देखाइन् ।
घर पछाडिको सानो फारममा तरकारी खेती लहलहाउँदै थियो । एकाछेउमा बाख्राको खोर आठदशवटा जति बाख्रा टाट्नामा घाँस खाँदै थिए । अलिक पर्तिर बडेमानको फाँचो भएको मालीगाई, घाँस खाएर उघ्राइरहेको थियो । रमित हेरेरै नअघाउने लाग्यो त्यो दृष्य ।
भित्र लगेर उनले हामीलाई मोही र मकै भटमासले स्वागत गरिन् । भलाकुसारी गर्यौं हामी एकछिन् ।
सम्झनाका क्लिक दुईचार पोज हान्यौँ ।
म सँग आकी साथीले जिज्ञासा राखिन् ।
“यतिका काम कसरी भ्याउनु हुन्छ नि दिदी ? कि मान्छे लाउनु हुन्छ ?”
“म आफैँ गरिहाल्छु नि, किन्ने ग्राहक चैँ बारीमै आउछन् ।” गौरवका साथ भनिन् उनले ।
“यत्रो बारबेर गर्ने, जोत्नेओर्ने गाह्रो काम पनि तपाईं आफैँ गर्नु हुदोरहेछ, छोरा मान्छेको जस्तो !”
“हन, छोरा मान्छेले गर्ने र छोरी मान्छेले गर्ने काम छुट्टाछुट्टै हुने भए त खानेकुरा नि छुट्टै खानु पर्यो नि !” गलल्ल हासो छोडिन् उनले ।
एकछिन केही सोचेझैँ गरेर लामो सास तान्दै भनिन्, “काम भनेको परेपछि गर्न सकिदो रहेछ बहिनी । मलाई पनि पहिला पहिला त्यस्तै लाग्थ्यो, जान्दिनँ पनि थिएँ, तर त्यही बेलादेखि सिकेँ सबै काम ।”
“कुन बेलादेखि दिदी ?”
“श्रीमान् बितेपछि ।”
(बेलबारी, मोरङ)