कति रमाउनु हामी बेसोमतिमा पनि
जुलुस भर्दै छ सडक आफ्नै क्षतिमा पनि ।
जत्ति खाए पनि सेकबिसेक नभएपछि
कसले पो गर्छ र विश्वास ओखतिमा पनि ।
गनगनमै समय बित्दै छ अचेल उनको
शङ्का भएछ कि साँचो परिणतिमा पनि ।
क्रुद्ध काली समक्ष मरिरहेछन् छोरीहरू
के पो गर्नू र अर्चना भगवतीमा पनि ।
सन्तान एक्लै जन्माउने समय आएछ
भर पर्नै पर्दैन अचेल पत्नीपतिमा पनि ।
चिन्नै सकेनन् कि उनले आफूलाई अझै
जुँगा बटार्दै छन्, आफ्नै दुर्गतिमा पनि ।
छोराबुहारीले घरबाट लखेटेछन् उसलाई
के गर्नु र विश्वास आफ्नै सन्ततिमा पनि ।