प्रिय शशी, म सूर्य तिमी चन्द्रमा तिमी साँझमा, म प्रातमा म ताप, तिमी शितलता म दिनको यात्री, तिमी निशाकी तिमी पश्चिम हुँदा म पूर्व यस घोर विषमताको बिचमा अनि के सम्भव छ र सहयात्रा ? प्रिय शशी, के तिमी देख्छ्यौ र कुनै लक्षण हाम्रो सामीप्याताको ? हामी दुई अलिकति नजिक हुनसकेको नेपालको झण्डामा मात्रै त हो त्यसमा पनि हेर न, तिमी माथि, म तल । प्रिय शशी, तिमी हुन्छ्यौ रजनीमा पनि असंख्य ताराहरुका बिचमा र, सायद साट्छ्यौ होला मनका भावना तर हेर न मेरो दु:ख दिनको उज्यालोमा पनि म यस विशाल आकासमा एक्लासमै भौंतारिन बाध्य छु । प्रिय शशी, प्रयत्न गर्छु बेला बेला तिम्रो त्यो अप्राप्य जुनेलीले आफैभित्रको ताप शान्त पार्ने आफ्नो मनको प्यास बुझाउने तिम्रै जुनेलीको मुनि सुस्ताउने । प्रिय शशी, त्यही जुनेलीले छोपेर राखेको तिम्रो मुहारको दाग सुन्दर लाग्छ कुनै शोडषीको गलाको तिलकोठी जस्तै बेला बेला सगरमाथाहरु अबरुद्ध गर्छन तिम्रो दूरदर्शन अनि पिडामा साँझतिर हेरेर धर्तीका जुनकिरी सम्हाल्छु आफैलाई आँशु पिउँदै । प्रिय शशी, भावनीले नै लेखिदिएपछि हाम्रो कर्ममा ‘नजर परोस् भेट नहोस्’ किमार्थ लाग्दैन उदेक मप्रतिको तिम्रो अविश्वास देखेर । मनकी रानी, आश्वस्त रहू कि यो सूर्यबाट तिमी कहिल्यै बिटुलिने छैनौ तर सधै रहनु होसियार ती नक्षत्रहरू, धुमकेतुहरु र उल्काहरुको भीडमा । प्रिय शशी, तिम्रो चिन्ता लागिरहन्छ सायद मेरो अनुपस्थितिमा षडयन्त्र गर्छन् कि नक्षत्रहरू मिलेर कुनै रावणसँग तिम्रो अपहरणको वा बनाउछन् कि योजना तिम्रो चीरहरणको कुनै शकुनी वा दुर्योधनसँग मिलेर । प्रिय शशी, छेउमै बसेर तिम्रो शीतलता पिउन नपाएपनि विपुल आकासको एक कुनाबाटै दिन्छु लाखौँ लाख शुभकामना र हृदयको यो सन्देश जोगाई राख्नु आफ्ना मनोरम सोह्र कला संगाली राख्नु आफ्नो अप्रतिम अस्मिता र सम्झिदिनु कुनै पल सुदूरको यस प्रेमिल प्रभाकरलाई !