हौ ठुले लुङ्वा ! कुन जुनीको सराप पो भोगिस् हौ तैंले । हेर्न् तेरो पिल्सिएको तालु हेर्न् तेरो हातमा फुटेका ठेलाहरू हेर्न तेरो कुर्कुच्चाको गत्ति । ए ठुले लुङवा ! कुन जुनीको सराप पो भोगिस् हौ तैंले। जीवनको उकालो, ओरालोहरूमा नदेखेको होइन तैंले सपनाको हिम नबुनेको होइन रहरका थुप्रै थुप्रै पेरुङ्गोहरू । तर नि हौ कसोरी पो अचानक आगो लाग्यो तेरो संसारमा र पिल्सियो जम्मै सपनाका छालाहरू। ए ठुले लुङ्वा ! कहिलेकाहीँ त लाग्दो हो तँलाई बरू बोक्नु नपरे हुन्थ्यो भारी फर्केर जानु मन लाग्दो हो उसै गरी त्यो जमानामा । जुन जमानामा बेस्सरी रमाएको थिइस् दौतरी तरूनीहरूसँग गाएको थिइस् प्रेमिल भाकाहरू नाचेको थिइस् रातैपिछे धान छ्याङ्गै उज्यालो पारेको थिइस् रक्सी पिउँदै च्याब्रुङ बजाएर हुरुक्कै परेको थिइस् ब्या, बटुलोमा सोल्टिनी जिस्काएर तर अहिले खोइ हौ तँलाई तेरै सपनाले पो छल गर्यो कि ! या त हेपेको हो दुनियाँले कि त मान पुर्याउनु सकेनस घरको देउतालाई र त अलिकति पनि बिसेक भएन तेरो गरीबीको बिमार । ए ठुले लुङ्वा ! साचै कुन जुनीको सराप पो भोगिस् हौ तैंले र हराएको छ यो बेला तेरो अनुहारबाट संसार जित्ने एउटा बिस्वास हराएको छ तेरो ओठबाट दुनियाँ लठ्ठै पार्ने एउटा मुस्कान । हौ ठुले लुङ्वा ! साच्चै तैंले सराप नै भोगिस् पो कि ! या त छलेको हो तँलाई आफ्नै सपनाको देवताहरूले । (कालेबुङ्ग, भारत)