झमझम झरी दर्किरहेछ बाहिर मकैको पात हल्लाएर कतै गइरहेको बतासमुनि डिल नाघेर बग्दैछ सङ्लिसकेको भल । खेतीको यौटा सिजन हुन्छ हतार नगरे छोड्छ बेलाले त्यसैले हलो, कोदालो, ट्रयाक्टर, स्काइभेटर कलम,टि-पेस्ट,फायल,क्यालकुलेटर सबै-सबैलाई हतार छ हतारको अर्को नाम हो असार । वनमारा फुलेको खेत आली भित्ता ताछेर सिनित्त पार्छ खेताला, पर्मेली, साँझ अबेलासम्म असारे गीत घन्काएर गरा-गरामा रोपिन्छ श्रमको हरियो गावा । लाग्छ, असार मौसमी पर्व हो भोक धपाउने पर्व । दिक्कलाग्दो हाइ टाँसिएको अफिस तुल, ब्यानर टाँगेर चिटिक्क पर्छ गोष्ठी, सेमिनार भागबण्डा, योजना सम्झौता, कमिशन, रात अबेलासम्म फायलको दोहोरी चलाएर फाँट-फाँटमा लेखिन्छ फुपूको श्राद्द गर्ने उल्फाको काँचो निर्णय । लाग्छ, असार मौसमी मेला हो बर्षभरिको लागि विकास बिक्री गर्ने मेला । हो, जसरी दर्के थामिएपछि बिस्तारै बिलाउँछ भल त्यसरी नै असार सकिएपछि कागजमै हराउँछ विकास । (खाेटाङ)