झमझम झरी दर्किरहेछ बाहिर
मकैको पात हल्लाएर
कतै गइरहेको बतासमुनि
डिल नाघेर बग्दैछ
सङ्लिसकेको भल ।
खेतीको यौटा सिजन हुन्छ
हतार नगरे
छोड्छ बेलाले
त्यसैले
हलो, कोदालो, ट्रयाक्टर, स्काइभेटर
कलम,टि-पेस्ट,फायल,क्यालकुलेटर
सबै-सबैलाई हतार छ
हतारको अर्को नाम हो असार ।
वनमारा फुलेको खेत
आली भित्ता ताछेर सिनित्त पार्छ
खेताला,
पर्मेली,
साँझ अबेलासम्म
असारे गीत घन्काएर
गरा-गरामा रोपिन्छ
श्रमको हरियो गावा ।
लाग्छ, असार मौसमी पर्व हो
भोक धपाउने पर्व ।
दिक्कलाग्दो हाइ टाँसिएको अफिस
तुल, ब्यानर टाँगेर चिटिक्क पर्छ
गोष्ठी, सेमिनार
भागबण्डा,
योजना सम्झौता,
कमिशन,
रात अबेलासम्म
फायलको दोहोरी चलाएर
फाँट-फाँटमा लेखिन्छ
फुपूको श्राद्द गर्ने
उल्फाको काँचो निर्णय ।
लाग्छ, असार मौसमी मेला हो
बर्षभरिको लागि
विकास बिक्री गर्ने मेला ।
हो, जसरी दर्के थामिएपछि
बिस्तारै बिलाउँछ भल
त्यसरी नै
असार सकिएपछि
कागजमै हराउँछ विकास ।
(खाेटाङ)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।