तिमी ऊजस्तै थिएनौ
हामी बारम्बार भन्थ्यौँ तिमीलाई
तर तिमीले सुनेनौ ।
उसले जीवनका तमाम
सुन्दर पक्षहरु आफ्नो भनिरह्यो
नयाँ पाइलाहरु
आफ्नै भनिरह्यो
बाटोमा भेटिने फूल
कलकलाउँदो झरना
आफ्नो भनिरह्यो
काँडाहरु तिम्रो भनिरह्यो ।
उसले अवसरका आश्वासनहरु बाँडिरह्यो
सिद्धान्तका खाली पानाहरु भजाइरह्यो
आँखा बन्द गरेर
देखेको अभिनय गरिरह्यो
आफन्तलाई पराइ भन्यो
पराईलाई आफन्त ठान्यो
आफन्तलाई रच्छ्यानमा छाड्यो
पराईलाई चोटामा लग्यो
आस्थालाई नोटजस्तो बेचेर
यसरी उसले गर्नु गर्यो ।
तिमी ऊजस्तै थिएनौ
हामी बाराम्बार भन्थ्यौँ तिमीलाई
तर तिमीले मानेनौ ।
जब तिमीहरु दुई
एउटै यात्रामा निस्कियौ
हामीमा भरोसा पलायो
मरुभूमिमा बर्सातको आगमनजस्तो भयो
इतिहासका पानाहरुमा बगेको आलो रगतले
न्याय पाउने ठान्यौँ
क्रान्तिका अधुरा सपनाहरु
जुर्मुराएझैँ भयो ।
तर जब
दस्तावेजको भित्री पानामा
शिखरतिर अघि बढ्ने गन्तव्यको
चित्र हुनुपर्नेमा
लालपूर्जाका ठेलीहरु भेट्यौँ
हामीले तिमी दुईको अन्तर पत्ता लगायौँ ।
तिमी भन्थ्यौ
क्रान्ति कठोर हुन्छ
तिम्रो लालपुर्जा धरधरी च्यातेर
आज म सोचिरहेछु
साँच्चै क्रान्ति कठोर हुँदोरहेछ ।
तिमी ऊजस्तै थिएनौ
हामी बाराम्बार भन्थ्यौँ तिमीलाई
तर आज सोचिरहेछु
तिमी ऊजस्तै रहेछौ ।
(काभ्रे)












