न बर्साउनु, उसलाई फूलका पत्रहरू
यति चलाख छ मेरो छिमेक
मैले फूल बर्साएँ भने, उसले पत्थर बर्साउँछ
र भन्छ, नहिँडोस् बोकी अक्सिजन
मेरै छाती टेकी, नाक भएर बहने हावा
अनि, आकाशमा उडिजाने चराले
न बिस्ट्याओस् र न उम्रियोस्, बर र पिपल ।
ठोकिन्छ,
दक्षिणबाट चलेको सिरेटो मेरै घरको भित्तामा
र, छेक्न खोज्छ,
आगो ओकल्दै सकुनी पखेटा
मेरै घरको छानो भएर उदाउने घाम ।
फेरि खोजेझैँ लागिरहेछ,
हात्तीलाई माउतेले लगाउने
अंकुशझैँ अंकुश लगाउन
र त लागिरहेछ
केही झुकेझैँ शिर
केही रोकेझैँ श्वास
केही खुम्चिएझैँ छात्ती ।
अनि पो,
उम्रिएका हुन् छातीका भित्ताहरुमा
कठोर र राष्ट्रवादी तिखा सुइराहरु
र पो, भन्न मन लाग्छ
छोडिदेऊ सौतेनी आमाझैँ प्रगतिमा डाहा गर्नेहरु ।
सुन्छु ! हडप्न खोज्दैछन् रे सिमानामा
सिमा व्यापारी र तिर्थाटनका नाइकेहरु
सुस्ता, कालापानी र लिपुहरू ।
मलाई मेरै नेपाल बन्न देऊ
मलाई मेरै नेपाल भन्न देऊ
म नेपाल हुँ नेपाल
र त सुस्ता, कालापानी र लिपु हुँ
र पो नेपाल हुँ
बनेको हो पुर्खाहरुकै शिरबाट सगरमाथा
अस्तिपञ्जरबाट पहाड
मांसपेशीबाट तराई
बुझ्नु बरू बुझ्नु के भनौँ र ?
मेरो छिमेकलाई
मिसिएको छ यही माटोमा नाभिको गन्ध
र पो ब्युँझिएका हुन्
धमिलो सपनाभित्र डुबुल्की मार्दै
सुस्ता, कालापानी र लिपुहरु ।।
(दाङ)