जराको अगाडि हाँगाविँगा होचा पर्दारहेछन् ।
जरा वृक्षको आधार स्रोत हो । मूल स्रोतलाई पोषण गर्ने, हुर्काउने र वृक्ष बनाउने धर्ती हो । धर्ती नभई जरा फैलिन सक्तैन र जरा नभई वृक्ष हुन सक्तैन । हामी अज्ञानीहरु देख्ने गर्छाैं वृक्ष र चाहना गर्छाैं फल । तर जड नभई वृक्ष र वृक्ष नभई फल कसरी हुन सक्छ ? हामी चिन्तन गर्दैनौँ । यही सतही ज्ञानको सेरोफेरोमा अल्झिएको छ हाम्रो आधुनिक जनजीवन ।
भगवान् श्रीकृष्णले त्यसै भन्नुभएको होइन — ‘उध्र्वमूलमध शाखमस्वस्थ प्राहुरव्यम्’— अर्थात् माथि मूल र तल शाखा । यसको अर्थ बुझ्न हामी गहिराइमा जानुपर्छ । सतही सोचाइले बुझ्न सकिन्न मूलको अर्थ । हो, वास्तवमा सृष्टिको क्रम यस्तै छ — मूलपुरुष माथि हुन्छ र त्यसका हाँगाविँगा तलतल फैलिदै जान्छन् । वंशवृक्ष पनि त्यस्तै हो— माथि मूल र तल शाखा ।
मैले त्यसै मूल जडलाई महत्व दिएँ र उदयपुर नगई बिर्तादेउराली जाने आत्मनिर्णय गरेँ । सोचेँ, मूल वृक्षलाई महत्व दिइनँ भने हाँगाबिँगाबाट मैले फल प्राप्त गर्न सक्तिनँ । मेरा लागि बिर्तादेउराली मूल हो र उदयपुर शाखा वा प्रशाखा हो ।
कुरा के भयो भने — कार्यक्रम जुध्यो, म धर्मसङ्कटमा परेँ । बिर्तादेउराली कि उदयपुर ? निर्णय लिनुपथ्र्याे मैले । सोचेँ, बिर्तादेउराली मेरो शिर हो, उदयपुर मेरो शरीर । शिर नभईकन शरीर चल्न सक्तैन । शरीरलाई निर्देशन गर्ने मस्तिष्क हो र त्यो मस्तिष्क शीर्षस्थानमा रहन्छ । त्यसको मैले सम्मान गर्नैपर्छ र त्यसको निर्देशनमा म चल्नैपर्छ ।
पन्त समाज नेपालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय ग¥यो— काभ्रेको बिर्तादेउरालीमा र संयोजन गर्ने भयो परासर पन्त समाजले । पन्त समाजको दशबर्से इतिहासमा यसअघि गोरखाको छेवेटारमा यसैप्रकारको स्वास्थ्य शिविर सञ्चालन भएको थियो । तर त्यस कार्यक्रममा सहभागी हुनका लागि मलाई भाग्यले साथ दिएन । त्यहाँ जान पाएको भए गोरखाली पन्त बन्धुहरुकी आराध्यदेवी मैदानकालीको बाह्र बर्से मेला पनि देख्न पाइन्थ्यो र निशुल्क स्वास्थ्यशिविरमा सहभागिता जनाएर समाजसेवाको हिस्सेदार बन्न सकिन्थ्योे । त्यो अवसर त गुम्यो गुम्यो, अब प्राप्त भएको अवसर पनि गुमाउन त भएन नि ! त्यसै भएर पन्त समाज नेपालका अध्यक्ष तथा अवकाशप्राप्त रथी अमर पन्तलाई वचन दिएँ— म जान्छु, जान्छु, अवश्य जान्छु ।
त्यसैले आजको मेरो यात्रा नितान्त वंशगत, साहित्य भन्दा फरक, पितृप्रति समर्पित । साहित्यसेवाभन्दा स्वास्थ्यसेवाबाट प्रेरित भएर गरिएको यात्रा, पितृको आशीर्वाद लिने यात्रा । २०७४ साल फागुन २६ गतेको बिर्तादेउराली यात्रा ।
बिहानको साढे पाँच बजे प्रस्थान गर्ने भनिए पनि साढे छ बजेपछि मात्र चलेका छन्— चाबहिल चोकबाट टाटासुमो भ्यानहरु । एउटा कार र तीनवटा भ्यानमा सवार छौँ — पन्त समाज नेपालका पदाधिकारीहरु— अमर पन्त, रामबाबु पन्त, मातृकाप्रसाद पन्त, एकेन्द्र पन्त, इश्वरी पन्त र रामप्रसाद पन्त । साथमा छन् डाक्टरहरु— शिवजंग कुँवर र सुजाता पन्त पाण्डे । सहयोगीहरु छन्— इ. सुवीर पाण्डे, शिव पन्त, स्मृति पन्त, निराजनराज पन्त, कुमारप्रसाद पन्त, शोभा पन्त, सौगात पन्त, सदीक्षा पन्त, प्रतीकराज पन्त, रामप्रसाद पन्त, केशवराज पन्त, कृष्णप्रसाद पन्त, कुमारकृष्ण पन्त, धर्मराज पन्त, रमेशप्रसाद पन्त, सागर अर्याल, रुद्रप्रसाद सापकोटा,डा.स्मृतिकला पन्त र शर्मिला सुवेदीहरु । यस बाहेक हामीसँग औषधीका कार्टुनहरु र स्वास्थ्यसेवाका अन्य सामानहरु पनि छन् ।
हाम्रा गाडीहरु चाबहिल चोकबाट गौशालातिर नलागेर बौद्धतिर मोडिन्छन् । कारण सोध्छु र उत्तर पाउँछु— गाडीहरुको रोडपरमिट लिइएको छैन ।
हामी बौद्ध, जोरपाटी नाघेर वाग्मती तटमा पुग्छौँ र गोठाटारको बाटो जडिबुटी चोक पुगेर महापथमा मिसिन्छौँ । अघिपछि भएर कुदेका गाडीहरु भक्तपुरको नलिन्चोकमाकुना लागेर लामबद्ध उभिन्छन् । त्यहाँ हामीले चियानास्ता उदरस्थ गर्छौ ।
पन्त बन्धुहरुमा एउटा उल्लास छ— हामी समाजसेवा गर्न जाँदैछौँ । हल्ला पिटिएको छ खासगरी कोशीपारि काभ्रेमा । हुन पनि पन्त समाजले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै छ । पन्तहरुले नाक ठाडो पार्ने काम गरेका छन् वेला बखत । आफ्ना कामहरुलाई सार्वजनिक गरेर परिचित भइसकेको छ पन्त समाजको अस्तित्व जनसमाजमा । त्यसको एउटा अंश हो आजको निःशुल्क स्वास्थ्य शिविर ।
पन्त समाजले खाली पन्तको भलाइका लागि मात्र काम गर्दैन, विनाभेदभाव समाजसेवा पनि गर्छ भन्ने उदाहरण पेश गर्दै छ आज पनि । त्यो पनि पन्तको देउरालीमा, अर्थात् पन्तले बिर्ता पाएको देउराली बिर्तादेउरालीमा ।
यसै अठोट र निष्ठाका साथ हाम्रा गाडीहरु निर्वाध गुडेका छन् अघिपछि भएर ।
हामी पन्त वंशको गौरवाशाली इतिहासको वर्णन गरेर थाकेका छैनौँ । हो, हाम्रा पुर्खाले राष्ट्रघाती काम कहिल्यै गरेनन् । सधैँ राजसंस्थाको निकट भएर राज्यलाई पथप्रदर्शन गरिरहे र सम्मानजनक जीवन बाँचिरहे ।
हाम्रा गाडीहरु दोलालघाटको इन्द्रावती पुल नाघेर अडिए । अडिनुको अर्थ थियो— अब हाम्रो यात्रा कच्ची बाटोको हुनेछ । धुले बाटोको हुनेछ । साँघुरो बाटोको हुनेछ । खतरापूर्ण बाटोको हुनेछ । हाम्रा गाडीहरुमा कुनै वेला पनि समस्या आउन सक्छ । अपरिचित बाटो बिराउन पनि सकिन्छ । यसकारण अब हामी धेरै दूरीमा होइन, एकअर्कालाई पछ्याउँदै हिँड्नेछौँ । मात्र १५ किलोमिटरको यात्रा । तर हामीले कम्तीमा डेढ घण्टा खर्चिनेछौँ त्यस यात्राका लागि ।
हुन त म त्यही बाटो देउराली, देउराली हुँदै देउराली पुगेको दशवर्षजति भएछ । यसै शीर्षकमा नियात्रा पनि लेखेँ मैले त्यस वेला—‘देउराली, देउराली हुँदै देउरालीतिर’ शीर्षक राखेर । अर्थात् एउटा थियो— कोशी तटबाट उकालिएपछिको उच्च विन्दु पिपलटार देउराली, अर्काे थियो— बिर्तादेउराली र तेस्रो थियो— कात्तिके देउराली । यिनै देउरालीहरुको सिर्सिरे हावा खाएर सौन्दर्य पान गरेको सम्झना हुँदै छ मलाई यस वेला ।
हो, अहिले पनि हामी लामलस्कर गाडीमा उक्लिँदै छौँ कोशीतटबाट पीपलटार देउरालीतिर । मैले यात्रा गरेको दश वर्षको अवधिमा बाटो त फराकिलो भएछ तर धुलौटे बाटोमाथि अलकत्रा टाँस्ने काम अझै हुन सकेको रहेनछ ।
घुम्तीघुम्ती हुँदै उकालो लागेपछि टाढाटाढा हुँदै गइरहेको कोशीको दृश्य अत्यन्त आनन्दवर्धक थियो । त्यसै वेला बाटोको बायाँपट्टि टार परेको सुन्दर भूमिमा लहलहाउँदो खेती देखेर मन झनै प्रफुल्लित भयो ।
सोधेको थिएँ— यस ठाउँको नाउँ के होला ?
दोलालघाटदेखि हाम्रा पथप्रदर्शक बनेका कृष्णप्रसाद पन्तले भन्नुभएको थियो— फलाटे ।
इच्छा प्रकट गरेको थिएँ— यस्तै हरियालीपूर्ण उर्वर भूमि अरु पनि भइदिएको भए ……!
कृष्णजीको भनाइ थियो— यसैले त पालेको छ यो पूरै गाउँबस्तीलाई ।
कल्पना गर्छु— सबै ठाउँमा राम्रै राम्रो हुने, सबै ठाउँमा आनन्दै आनन्दको अनुभूति हुने, सबै ठाउँमा सत्यै सत्यले बास गर्ने, सबै ठाउँमा शान्ति नै शान्ति हुने र सबै ठाउँमा सौन्दर्यै सौन्दर्यले परिपूर्ण हुने भए त्यसको पहिचान कसले दिन्थ्यो ? नराम्रो नभई राम्रोको पहिचान कहाँ हुन्छ ? दुःख नभोगी आनन्दको अनुभूति कहाँ प्राप्त हुनसक्छ ? असत्य र अराजकताले राज नगरेसम्म सत्यको अस्तित्व कहाँ सम्भव छ ? अशान्ति र निराशाले बास नजमाएसम्म शान्तिको वर्चस्व कसरी सम्भव हुनसक्छ ? दुर्दशा र कुरुपताले निर्घृणी रुप नदेखाएसम्म सौन्दर्यको कल्पना कसरी गर्न सकिन्छ ?
हाम्रा सवारीसाधनहरु धुलो उडाउँदै र घुम्तीघुम्तीमा फन्को मार्दै उकालिँदै छन् । मातृकाजी चोरऔँलो तेस्र्याएर देखाउँदै हुनुहुन्छ— उ… त्यो खहरेघाट तरेर पैदल पलाञ्चोक जाने गरेको हाम्रो पुरानो बाटो । अनि उ….. त्यो झिगुखोला हुँदै पलाञ्चोक भगवती जाने बाटो ।
बिर्तादेउराली पुग्नुअघि त्यसै डाँडोको तलपट्टि एउटा सुन्दर गाउँ देखियो । मैले जिज्ञासा राखिहालेँ— यस गाउँको नाउँ के होला ? जिज्ञासा मेटिदिए तिनै कृष्णप्रसादले — ‘कोलाती’ भनेर ।
अब भने हामी त्यस बाटोको शीर्षस्थान पिपलटार देउराली पुगेका छौँ र तेर्साे–ओह्रालो–उकालो हुँदै ठाँटीडाँडा नाघेर बिर्तादेउराली पुगेका छौँ ।
कुनै राजाको पालामा पन्त (राजपण्डित) लाई बिर्ता दिएर राखिएको ठाउँ पन्तको देउराली अर्थात्, बिर्तादेउराली । देशलाई संघीय संरचनामा ढालिएपछि अहिले भने साविक बिर्तादेउराली गाविसलाई चौँरीदेउराली गाउँपालिकामा परिवर्तन गरिएछ ।
हामीहरु गाडीबाट ओर्लिएर रक्तदान शिविर राखिएको भूमेस्थान माविमा उक्लियौँ । सहआयोजक परासर पन्त समाजका स्थानीय सदस्यहरु र प्रधानाध्यापक गणेशप्रसाद पन्तले हाम्रो स्वागत गरे ।
५८० घरधुरी भएको त्यस गाउँमा ३५० घर पन्तकै भएपछि स्कुलका मास्टर र विद्यार्थीहरु पनि अत्यधिक पन्त नै त हुने भए । त्यसै भएर त हाम्रो स्वागत गरे गणेश पन्त लगायतका, मास्टरहरू र स्थानीय जनसमुदायले ।
म जहाँ गए पनि अर्थ खोज्ने मान्छे ! त्यहाँ पनि अर्थ खोजिहालेँ भूमेस्थानको ।
जवाफ दिए कृष्णप्रसादले नै — ‘यो पहिलेको मलामी खुवाउने ठाउँ । स्थानीय भाषामा भूमेस्थानको अर्थ हुन्छ— मलामी खुवाउने ठाउँ । पहिलेपहिले यसभन्दा माथिका गाउँहरुबाट मृत व्यक्तिलाई कोशी किनारमा लगी जलाएर फर्केपछि यसै स्थानमा मलामी खुवाउने गरिन्थ्यो ।’
हामी पुग्दा स्वास्थ्य जाँच गराउनेहरुको ठूलो सङ्ख्या जम्मा भइसकेको थियो । धुलिखेल अस्पतालबाट डाक्टरहरु पुगेर आँखा जाँच शुरु गरिसकेका थिए । पन्त समाजका केन्द्रिय सदस्य तथा स्थानीय समाजसेवी बाबुकृष्ण पन्तको सक्रियतामा व्यवस्थापनका कामहरु भइसकेका थिए । सुरक्षाका लागि पन्त समाजका केन्द्रीय अध्यक्ष रथी अमर पन्तको अग्रसरता तथा प्रमुखसेनानी रामहरि केसीको नेतृत्वमा एक सैन्य टुकडी भकुन्डेबेसीबाट त्यहाँ पुगिसकेको थियो र स्थानीय प्रहरीले पनि आफ्नो भूमिका निर्वाह गरिरहेको थियो ।
काठमाडौँबाट गएका सम्पूर्ण सहभागीलाई खानपिनको व्यवस्था केन्द्रीय कोषाध्यक्ष मातृकाप्रसादका भाइहरु यज्ञप्रसाद, भिमप्रसाद, बाबुकृष्ण रहरिप्रसाद पन्तको सौजन्यमा भएको थियो । भोजनका लागि नयाँ घरको बार्दलीमा लाम लागेर बस्दा देखिएका दूरदृश्य र समीपका दृश्यहरुले मेरो मन हरण गर्दै थिए । बारीको कान्लामा उभिएका घाँसेपोथ्राहरुको छेँडोबाट तल, धेरै तल कोशी नदी बगेको देखिँदै थियो तर सुसेली सुनिएको थिएन । बारीमा लहलहाएका अन्नपातको हरियालीपूर्ण दृश्य त्यत्तिकै सुन्दर लाग्दै थियो । ती मनमोहक दृश्यहरु हेर्दै गाउँमै उत्पादित खसीको मासु, मार्सी चामलको भात, तरकारी, अचार र दहीको स्वाद लिनुको आनन्द एउटा नियात्राकारका लागि यात्रा लेखनको ऊर्जा नबन्ने कुरै थिएन।
तर गृहपति पन्तभ्राताका भनाइले मलाई संवेद्य पनि बनाउँदै थियो — ‘२०७२ सालको विनाशकारी भूकम्पले सर्वाधिक नोक्सान पु¥याएको काभ्रेको एकमात्र गाउँ बिर्तादेउराली । यस डाँडोमा भएका ५३ घरहरु एउटै बाँकी रहेनन् । त्यस वेलाका झिँगटीछाने घरहरु अहिले एउटै छैनन् । सबै उडफाइबरद्वारा निर्मित जस्तापाते छानाहरु । यसैमध्ये एउटा घरको आश्रयमा छौँ हामी यस वेला ।’
बाबुकृष्णले पल्लोपट्टि भग्नावशेष घर देखाउँदै थिए— बाजेका पालामा बनेको जोरनाले घर । डेढहात गाह्रोले बनेको बलियो चारतले घर । बाजेको त्यो नासो अहिले भग्नावशेषको रुपमा छ ।
कति मीठो खाना ! कति नमीठो समाचार ? पटक्कै तालमेल थिएन खाना र दुर्घटित समाचारका बीचमा । तथापि हामीले भोजन ग¥यौँ — उदर भरिए पनि रसना नभरिने गरी । मनमनै कल्पना गरेँ— भोजन उदरस्थ गरेजस्तै दुर्घटित घटनाहरुलाई पनि खानाजस्तै सजिलै चपाउन सकिने भए कतिराम्रो हुन्थ्यो— आनन्दै आनन्द, सम्पूर्णता, विश्वशान्ति । तर प्रकृतिले आफ्नो नियम कहाँ छोड्छ — राम्रो होस् कि नराम्रो !
तर आजको आनन्द खाएर लिनुमा छैन । सौन्दर्यको नशाले लठ्ठिनुमा छैन । कल्पनाको आलोकमा उड्नुमा पनि छैन । स्वास्थ्य शिविर सञ्चालन गर्नुमा छ । अत्यधिक रोगीहरुलाई स्वास्थ्यसेवा दिनुमा छ । आजको आनन्द यही हो र आजको सफलता पनि यही हो ।
यही सङ्कल्प लिएर हामी पुनः स्वास्थ्य शिविरमा पुगेका छौँ । बडो उत्साहका साथ वल्लो गाउँ, पल्लो गाउँबाट आएर विविध स्वास्थ्यलाभ गराइरहेका सहभागीहरुसँग संलाप गरेका छौँ । पन्त समाजले गरेको सत्कार्यको प्रशंसा उनीहरुबाट सुनिरहेका छौँ ।सुन्दासुन्दै क्रमशः आगन्तुकको आउने क्रम बन्द हुन थालेको छ । डाक्टरहरुले आ–आफ्ना पेसेन्टहरुको तथ्याङ्क सङ्कलन गरेका छन् । जम्माजम्मी २२० रोगीहरुमध्ये १६७ जनालेत आँखा उपचारको निशुल्क सेवा, ४ जनाले सल्यक्रियाको अवसर तथा ९५ जनाले चश्माको सुविधा लिएछन् ।
औपचारिक समापनको तयारी भएको छ चार बजे । रथी अमर पन्तको अध्यक्षता तथा स्थानीय गाउँपालिका ८ नं. वडाअध्यक्ष धनबहादुर लामाको प्रमुख आतिथ्यमा समापन सभा आयोजना गरिएको छ । बाबुकृष्ण पन्तले कार्यक्रम सञ्चालन गरेका छन् । डा. सागर भुसाल, डा. समीर अघिकारी, डा. सुशान्त घिमिरे, डा. कृष्णप्रसाद भुसाल, डा. सागर अर्याल, अर्थाेपेडिक रुद्र सापकोटा, नर्सहरु — विवेचना पन्त,स्मृति पन्त,नवीना मानन्धर, सेविकाहरु —डा.स्मृति पन्त (पि.एच्.डी.), मञ्जु राउत, शर्मिला सुवेदी, र सैनिकतर्फ— प्रमुख सेनानी रामहरि केसी, जवानहरु– भरत रायमाझी, यज्ञप्रसाद पन्त र शिव पन्तहरुलाई प्रमाणपत्र वितरण गरिएको छ ।
काठमाडौँबाट गएका हामीहरु स्थानीयवासीहरुसँग बिदा भएर फर्कियौँ बेलुका पाँच बजे । जाँदा त्यति महसुस नगरिएको धुलोले बेलुका उग्र रुप देखाउँछ । शायद सूर्यको सान्निध्य पाएर पनि धुलोमा बढी यौवन थपिएको हो कि ! हुनसक्छ, जाँदाभन्दा फर्कँदा गाडीले तीव्रता लिएर पो हो कि ! आकाशै ढाक्नेगरी धुलो उड्यो । बाटै नदेखिने गरी धुलो उड्यो । विपरीत दिशातिरबाट आएको गाडी पास हुँदा त क्षणभर गाडी रोक्नैपर्ने अवस्था आयो । यो मेरो साँच्चिकै नौलो अनुभव थियो । जीवनको यति लामो यात्रामा हजारौँ किलोमिटर कुदियो होला धुलेबाटोमा तर धुलोको कारण चलिरहेको गाडी रोकिन बाध्य भएको मेरो अनुभवमा छैन ।
अलिअलि हो र ! चिम्नीबाट पुतपुताइरहेको धुवाँको मुश्लोजस्तो । मैले टेलिभिजनमा देखेको थिएँ रकेट उडेको र खसेको । रकेट उडेको जस्तो धुवाँ थिएन, रकेट खसेपछि उडेको मुश्लोजस्तो थियो कुइरीमण्डल ।
संयोग कस्तो परेको थियो भने क्यासेटमा लोकगीत घन्किरहेको थियो — ‘जनतालाई साह्रै नै गाह्रो भो, थानकोटको धुलोले आफ्नै बूढो चिन्न गाह्रो भो’ । शायद पैदल हिँड्नेको हालत त्यहाँ पनि त्यस्तै भएको थियो होला ! हामी झ्याल थुनेर गाडीभित्र बसेर पो….। त्यसै भएर यस वेला गीतको बोल अलिकति फरक परेको भए हुन्थ्यो भन्ने लाग्दै थियो मनमा— ‘काभ्रेको धुलोले आफ्नै बूढो चिन्न गाह्रो भो ।’
कुरा उठ्यो कसैबाट— लालबाबु पण्डितको । वातावरण मन्त्रालयको जिम्मा लिएपछि एकवर्षभित्र काठमाडौँलाई प्रदूषणमुक्त बनाइछाड्छु भनी गुड्डी हाँक्ने लालबाबुले यो दृश्य देखे भने के भन्लान् ? सार्वजनिक समारोहमा कस्तो भाषण गर्लान् ? यसको अनुमानित उत्तर कसैले दिए— बोलेको पूरा गर्न सकिनँ भनेर राजिनामा देलान् !
परिणाम त्यही भयो— बिर्तादेउरालीबाट दोलालघाटसम्मको १५ किलोमिटर यात्रा गर्न हामीलाई जति समय लाग्यो, शायद काठमाडौँसम्मको ५७ किलोमिटर यात्रा गर्न त्यति नै समय लाग्यो होला !
काठमाडौँ फर्कँदै गर्दा मैले पुष्टि गरेँ— पन्त समाज नेपाल खाली पन्तहरुको कल्याणको लागि मात्र स्थापित संस्था होइन । सबै जाति, वर्ग, समुदाय र सम्प्रदायको सम्मान गर्ने र सबैको कल्याण कामना गर्ने संस्था हो । नत्र बिर्तादेउराली पुगेर विनाभेदभाव स्थानीय जनतालाई स्वास्थ्य सेवा किन दिन्थ्यो ?
म घर पुगेपछि कल्पना गरेँ— आज म सफल भएँ । मैले आफ्नो जीवन पूर्ण सफल पारेँ । एक दिनभए पनि काभ्रेली जनताको स्वास्थ्य कामनाको लागि आफूलाई समर्पित गरेँ । थोरै भए पनि आज आफ्नो वंशवृक्षको जरामा मलजल हालेँ ।
म त हाँगाविँगा मात्र न हुँ । मेरो वंशवृक्षको जरा त मभन्दा धेरै माथि छ । म त मन्दमन्द समीरमा कता लहराइरहेछु, पात पतिङ्गरको रुपमा फहराइरहेछु । मेरो वंशवृक्ष नभएको भए मेरा जिजुबाजे पनि हुने थिएनन्, बाजे पनि हुने थिएनन्, बाबु पनि हुने थिएनन् र बाबु नै नभएपछि म त हुँदै हुने थिइनँ । तसर्थ मैले आफ्नो वंशवृक्षलाई भुल्न कदापि सम्भव छैन । वंशवृक्षको जरा भुल्न खोजेर पनि भुल्न सकिने कुरा होइन । त्यसैले त मलाई तान्यो त्यही जराले— बिर्तादेउरालीसम्म ।
(गुल्मी)