चुपचाप बगिरहन्छ नदी……
किनारमै घरहरू बनाओस् कैयाँै – मतलब छैन
भाँचेर छेउकुनाहरूबाट कुलो लगोस्, नहर लगोस्
या लगोस् घरघरमै – मतलब छैन ।
चुपचाप बगिरहन्छ नदी……..
कुरौटे छन् यी मौसमहरू
कान फुकिरहन्छ नदीको ।
– मतलब छैन ।
जिउमै नाउ कुदाउँछन्, डुङ्गा चलाउँछन्
थिल्थिलो होउन्जेल जहाज दौडाउँछन्
विनाकारण थुन्छन् कतै त
विनाकारण अति नै खोलिदिन्छन् कतै – मतलब छैन ।
गुनासो नामको कुनै चिज गर्दैन नदी ।
चुपचाप–चुपचाप बगिरहन्छ…..
निकै इष्र्यालु छ बरु मौसम….
कान भरिरहन्छ नदीको
प्रत्येक असार साउनमा ।
चुपचाप बगिरहन्छ तर नदी ।
कैलेकाहीँ
हो, कैलेकाहीँ
मानसिक सन्तुलन गुमाउँदछ, नदी ।
(धरान)