कतै लेखिएको छैन कुनै बहीखातामा ती अनिँदा रातहरूको हरहिसाब न दर्ता छ त्यो रगत नै कुनै दस्तावेजमा । फुटेका चुराहरू सिस्नुघारीमा विसर्जित गरिँदा होस् कि चर्केका ऐनाहरूसँगै सपनाहरू विसर्जन गरिँदा होस् या भाँडाकुटी र पुतलीको बिहे असान्दर्भिक पारिएका बेला होस् राखिएको थिएन कुनै हिसाब । त्यो बेला जब कोपिलाहरू फूल बन्नु पहिल्यै शिकारमा हिँडेका थिए आकाश मुक्त हुनुपर्ने नारा लाएर उडेका थिए हुलका हुल परेवाहरू । कसैलाई हेक्का थिएन होला ढुङ्गा घिसिएर माटो होउञ्जेल सम्म पनि चुरा र ऐनाका टुक्राहरू परित्याग गर्ने छैनन् आफ्नो धार असान्दर्भिक सौन्दर्यमा फक्रिन पाउने छैन बचपन र गन्हाउन छाड्ने छैन फूलहरूमा बारुद र फेरि पनि मुक्त हुने छैन परेवाहरूको आकाश । बहुलठ्ठी अमिनहरू आकाशको नाप लिँदै कित्ता-कित्तामा विभाजित गर्ने छन् एकाबिहानै पूर्वाकाशको प्रवेशाज्ञा नपाएर शुक्र जिल्लाराम हुनेछ र सुकुम्बासी नै रहिरहने छन् परेवाहरू । र यो जोड घटाउबिच कहीँ राखिने छैन हरहिसाब ती अनिँदा रातहरूको त्यस रगतको ती चुराका टुक्राहरूको ती शिकारमा निस्केका कोपिलाहरूको ती स्वतन्त्र आकाशका पक्षपाती परेवाहरूको र बहुलठ्ठी अमिनहरू कित्ता-कित्तामा विभाजित गरिराख्ने छन् सग्लो आकाश.......