अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका वडा नम्बर १ सातपाटामा जन्मिएका हुन् धर्म भुसाल । २००५ कार्तिक २० गते सुभद्रा भुसालको कोखबाट जन्मिएका उनका पिताको नाम वेदनारायण भुसाल हो । उनी सानैदेखि अध्ययनको सिलसिलामा मेघालय सिलाङ्गतिर लागे । धर्म भुसालले सिलाङ्गबाटै अङग्रेजी विषयमा स्नातक तह पूरा गरे ।
त्यो समयमा प्रवासतिर नेपाली राजनीतिको चहलपहल थियो । उनी माक्र्सवादी सौन्दर्यशास्त्री दिल साहनी महाकवि मोदनाथ प्रश्रित, हरिभक्त कटुवाल, गोपीनारायण प्रधानलगायतका अन्य थुप्रै साहित्यकारहरूको सत्सँगमा रहेका थिए । उनको मनमा त्यही समयदेखि समानता र स्वतन्त्रताको भावना बिजाङ्कुर भएको थियो । उत्पीडिन र शोषणको विरुद्ध बोल्दबोल्दै उनी प्रगतिवादी काव्य धारामा पुगे । कविता लेख्दालेख्दै नजानिदो गरी वामपन्थी राजनीतितिर लहसिए । उनी साहित्य क्षेत्रमा राम्ररी जम्न थाले ।
नेपालमा आएपछि पनि उनले आफ्नो गाउँमा प्रगति पुस्ताकालय स्थापना गरी साहित्यिक आन्दोलन चलाए । उनले अर्घाखाँची जिल्लामा प्रगतिशील लेखक संघको अध्यक्षमा रहेर काम गरेका थिए । म पनि उनीसँगै प्रगतिशील लेखक संघमा सामेल थिएँ ।
कवि धर्मलाल भुसाल ‘युगको घेराभित्र मलिन अनुहारहरू’ कविता संग्रह (२०२८), ‘आक्रोश बोकेका जीन्दगीहरू’ कविता संग्रह (२०४०), ‘ऊ कियाङ्ग नाङ्बा’ नाटक (२०६७), ‘जीन्दगीका गीतहरू’ कविता संग्रह (२०७०) प्रकाशित गरेका छन् । यी सबै कृतिहरू प्रगतिवादी साहित्यिक धारा अन्तरगत पर्दछन् । धर्म भुसाल प्रगतिवादी कवि हुन् ।
प्रगतिवादको अर्थ व्यापक हुन्छ । प्रगतिवाद राजनीतिक क्षेत्रमा साम्यवाद, सामाजिक आर्थिक क्षेत्रमा समाजवाद, दर्शनमा द्वन्द्वात्मक भौतिकवाद र साहित्यमा प्रगतिवादको रूपमा चिनिन्छ । यसले वर्ग संघर्षको माध्यमबाट सर्वहारावर्गीय सत्ता स्थापना गर्न चाहन्छ । साहित्यमा सामाजिक यथार्थ दृष्टि, समसामयिक चेतना, शोषित वर्गप्रति हार्दिक सहानुभूति, अन्याय अत्याचार विरुद्ध शंखघोष, सामन्तवाद र पुँजीवादविरुद्ध क्रान्ति, स्वर्ग, नरक, भाग्य, कर्म, ग्रह, दशातिर अनास्था, नारी मुक्ति आन्दोलनप्रति प्रबल समर्थन, मजदुर किसान आन्दोलनप्रति एक्यबद्धता यसका विशेषता हुन् । प्रगतिवाद मूलतः माक्र्सवाद, लेनिनवादप्रति आस्था राख्छ ।
नेपालमा २०५२ सादेखि चलेको मुक्ति युद्धको सिलसिलामा बहुलवादी स्वर मुखरित भएको देखिन्छ । क्रान्तिमा सबै वर्ग र समुदायले समान सहभागिता हुँदा हक र अधिकार पनि समान रूपमा मुखरित हुनु स्वभाविकै हो । सबै वर्गले एकमा एकताको आधारमा निर्माण भएको राज्य प्रणाली विस्थापित गरी विविधतामा एकता कायम गर्ने राज्य प्रणाली खोजे ।
यसरी राज्य पुनःरचना खोज्दा आत्म पहिचान, आत्म सम्मान, संघीयता, सहिष्णुता, समानुपातिक समावेशीकरण, आरक्षण, धर्म निरपेक्षताका कुराहरू स्वभाविक रूपमा आए । तर आम साहित्यकारहरूले परिवर्तनका यी मूल्यहरूलाई उत्तर आधुनिकतावादसँग जोडिदिए । यसले प्रगतिशील साहित्यिक आन्दोलनमा भ्रम खडा गरिदियो ।
संविधान सभामा सबै वर्ग र समुदायको आनुपातिक प्रतिनिधित्व भएको हुनाले सबै वर्ग र समुदायको चाहना अनुसार एकात्मक मोडललाई पुनःरचना गरी नयाँ राज्य प्रणाली बनाइयो ।
यसलाई एकथरि कवि कलाकारहरूले उत्तर आधुनिक विचारको रूपमा प्रचार गरेर क्रान्ति र परिवर्तनलाई अप्ठ्यारोमा पार्न खोजे । वास्तवमा यी सबै स्वरहरू अलग अलग वर्ग र समुदायका थिए । सबै वर्ग र समुदायको सापेक्षतामा थिए । यी पनि प्रगतिशील तथा प्रगतिवादी स्वर नै थिए । फलतः नेपालमा सबै अटाउने, (समावेशीकरण) सबै देखिने (पहिचान) जोडिने (सहष्णिुता)का आधारमा नयाँ संघीय राज्य बन्यो । यो राजनीतिक परिवर्तनका लागि कवि कलाकारहरूको योगदान त्यति रहन सकेन । कवि धर्म भुसालको यो कृति २०७० सालमा प्रकाशित भए पनि त्यो स्वर यस कृृतिमा रहेको देखिएन ।
साहित्य समाजको ऐना हो । यो समाजको तात्कालिक रुचि र चाहनाको सापेक्षतामा हुन्छ । नेपालमा साहित्यकारहरू प्रायः एउटै समुदायका भएकोले अल्पसंख्यक कवि कलाकारहरूका स्वरहरूमा त्यति ताली बजाएनन् । बहुजातीय समाजमा राष्ट्रियता, आत्मपहिचान र आत्मसम्मान एउटै जातिभित्र खोज्यो. । एकात्मक सत्ताका पक्षमा रहेका कवि साहित्यकारहरूले अहिलेसम्म पनि स्वीकार गर्न सकेका छैनन् । उनीहरूले परिवर्तनलाई संस्थागत बनाउन खेल्नु पर्ने भूमिकामा कमी देखिन्छ । अहिले पनि परिवर्तनका मूल्य विरुद्ध नै ताली बज्दैछ ।
आज म प्रगतिवादी कवि धर्म भुसालको ‘जिन्दगीका गीतहरू’ कविता संग्रहको सामान्य समीक्षा गर्न चाहन्छु । कवि धर्म भुसालले यो कवितामा ४५ वटा कविताहरू छन् । यी सबै कविताहरू विभिन्न अनुच्छेदमा पन्ध्रदेखि असी पृष्ठसम्म फैलिएका छन् । यस कृतिमा रहेकापैचालिस काव्य कुन्जहरू परिवर्तनको पुञ्ज हुन् ।
उनको पहिलो कविता ‘शुभकामना’ कविता हो । यो कविता संस्मरणात्मक कविता हो । यसमा उनले सिलाङ्गमा भेटेका कविहरू र त्यहाँ सिर्जनारत अन्य नवोदित कोपिलाहरू देवकोटा बनेर पmक्रन सक्ने बताउँदै शुभकामना दिएका छन् । कवि लेख्छन्—
प्रत्येक फूलका कविताहहरूमा
नयाँ नयाँ सिर्जनाहरू भेटिने छन्
प्रत्येक फूलका थुङ्गाहरूमा
नयाँ क्षितिज र नयाँ आकासका सम्भावनाहरू भेटिने छन् ।
कविको दोस्रो कविता ‘ऊ यतै आए पनि हुन्छ’ हो । यस कवितामा वैदेशिक रोजगारमा गएका छोराछोरीहरू आत्म निर्भर हुन सकेकोमा गौरव गर्दै अब ऊ यतै आए पनि हुन्छ भन्दै देशभक्ति भावना प्रकट गरेका छन् । कवि लेख्छन् —
म सोंच्छु उसले धेरै सिकेछ
अब ऊ यो देशलाई काम लाग्ने मान्छे भएछ
अब ऊ यतै आए पनि हुन्छ
हिमाल, पहाड, तराईसँग मितेरी लाए हुन्छ ।
‘हिंजो र आज’ कवितामा कवि परिवर्तनको पक्षमा छन् । विगतलाई सुन्दर र आगतलाई अध्याँरोदेख्नेहरूलाई बदलिन आव्हान गरेका छन् । कवि लेख्छन्—
मान्छेले जहिले पनि भूतलाई राम्रो देख्छ
र वर्तमानलाई सराप्छ
भविश्यलाई उज्यालो देखे त हुन्थ्यो
तर ऊ सधै अँध्यारो नै देख्छ
म हिंजको अन्धो पुजारी पनि हैन
म आजको अन्धो समर्थक पनि हैन
हिंजो र आजमा धेरै अन्तर छ ।
‘जन्मदै गरेकी नातिनीको स्वागत’ कवितामा कवि मानवीय भावनातिर फर्केका छन् । विदेशमा धेरै टाढा सात समुद्रपार जन्मन लागेकी नातिनीको स्नेहमा पग्लेर मार्मिक रूपमा कविता लेखेका छन् । वास्तवमाप्रकृत्ति प्रदत्त वासल्य कति महत्वपूर्ण हुन्छ ?यो वात्सल्यको उदाहरण हो ।
कवि लेख्छन्—
मैले नेपालमा आँखा खोलेको थिएं
तिम्रो बाबाले हिन्दुस्थानमा आँखा खोलेका थिए
तिमी अमेरिकामा आँखा खोल्दैछ्यौ
तिमी जहाँ भए पनि म तिम्रो हजुर बाबा हुँ
तिमी जहाँ भए पनि तिमी मेरी प्यारी नातिनी हौ ।
‘बाँझो धर्तीमा’ कवि बसाई सराईको सङक्रमणकालीन चरणको चित्रण गरेका छन् । यस कवितामा कविले धेरै मानिसहरूले गाउँ छोड्दा घरहरू भूत बंगलाजस्ता भएका र खेतबारीहरू उजाड भएको देख्दा सपनाबाट ब्युँझेको जस्तो ठान्छन् । यसमा पनि कवि बडो भावुक भएका छन् । कवि लेख्छन्—
बर्सौंसम्म आफ्नै हातहरूले
स्याहार सुसार गरेको त्यो धर्ती
नङगो र बाँझो देख्दा
डरलाग्दो सपनाबाट
ब्यूँझेजस्तो लाग्छ ।
‘दार्जिलिङ्ग उठ्दैछ’ शीर्षक कवितामा कविले दार्जिलिङ्गका जनताहरूको राजनीतिक भाषिक अधिकारको लागि सहानुभूति व्यक्त गरेका छन् । भाषा, कला र नश्लले निकट भएपछि संसारमा जहाँ भए पनि अप्ठ्यारो पर्दा समर्थन गर्छन् । नेपालमा खासगरी पहाडमा बस्ने खस आर्यहरूको समुदायले उत्तराञ्चल, दार्जिलिङ्ग, सिक्किम, सिलाङ्ग, बर्मा जहाँ भए पनि नेपाली जातिको पक्षमा सहानुभूति दिन्छन् । नेपालको दक्षिण सीमान्ततिर बस्ने अवधि, भोजपुरी, मैथिली भाषीहरूलाई पनि भारतको विहार र उत्तरप्रदेशबाट भाषा, कला र नश्लको सामीप्यले नेपाली मधेसीहरूकोपक्षमा आवाज उठाउँछन् । वास्तवमा यो संवेदनशील कुरा हो । कवि लेख्छन्—
तिम्रा हरेक पीडालाई
हामीले आफ्नै पीडा ठानेका छौँ
तिम्रा हरेक वेदनाहरूलाई
हामीले आफ्नै वेदना मानेका छौँ
तिम्रा सपनाहरूको गर्भादान भइसकेको छ
स्वस्थ बच्चा जन्मियोस्
हाम्रो यही कामना छ ।
‘त्यो गाउँ रित्तो रित्तो लाग्यो’ कवितामा कविले आफ्नो प्यारो साथी हेमराज आचार्यको सम्झनामा लेखेका हुन् । हेमराज आचार्य क्रान्तिकारी व्यक्ति थिए । उनको मृत्युले अमिलेमा पुग्दा कवि भावुक बन्छन् र यो कविता लेख्न पुग्छन् । उनले सम्झदै लेख्छन्—
त्यो प्यारो गाउँ
आज सुनो सुनो लाग्यो
जिन्दगीमा जति हारे पनि
कहिल्यै हार नखाने त्यो वीर मान्छे
आज कता हराएछ
त्यो गाउँ रित्तो रित्तो लाग्यो ।
‘जिन्दगीका गीतहरू’ कविको शीर्ष कविता हो । यस कवितामा कविले पाइला र पानालाई निरन्तर गतिशीलताकोपर्याय मानेका छन् । पाइला र पाना गतिशीलताका प्रतीक हुन् । समाज निरन्तर बगिरहन्छ । अविश्रान्त बगिरहन्छ । लगातार बगिरहन्छ भन्छन् । पाइला र पानामा पूर्ण विराम लागे जिन्दगीमा विराम लाग्न सक्छ भन्ने ठान्छन् । कवि लेख्छन्—
पाइलाहरू रोकिए
टक्क रोकिन सक्छ जिन्दगी
पानाहरू नपल्टिए
जिन्दगी कहिले आगो बनेर
दन दन बलिरहन्छ
जिन्दगी कहिले पानी बनेर
झमझम वर्षिरहन्छ ।
‘मरेङ्ग, मेरिल्याण्ड र सिड्नी’ कवितामा कविले परिवर्तनको क्रममा आफ्ना छोराछोरीहरू अमेरिकाको मेरिल्याण्ड र अष्ट्रलियाको सिड्नी पुगेको र त्यतै बसिरहेको अवस्थाको चित्रण गरेका छन् । विदेशमा पुगेका छोरा बुहारी र नाति नातिनाहरूका हँसिला मुहारहरू सम्झेर हुस्सुले छोपेको चिसो दिनमा पनि न्यानो राप पाएको अनुभव गर्छन् । कवि लेख्छन्—
एउटा परिवारका
एउटै फूलबारिका
एउटै आँगनका प्रिय सन्तानहरू
छुट्टाछुट्टै महादेशमा छन् ।
अन्त्यमा कविको यो कृति भावनापरक कृति हो । कविता भावनामा लेखिन्छ । वस्तुमा टेकाइन्छ । कवि जब भावुक बन्छ तब कविता फुर्छ । कविलाई ससाना घटनाहरूले उद्देलित पार्छन् । त्यही अवस्थामाकविले कलात्मक प्रतिक्रिया दिन्छ । धर्म भुसालले उठाएका विषयहरू साना साना छन् तर मानवीय जीवनमा भोगिरहने विषय हुन् । कवितामा प्रतीक र बिम्ब स्वाभाविक रूपमा आएका छन् । कविताहरू बुझ्न सहज र सरल लाग्छ । शुद्धाशुद्धि राम्रो छ । आवरण पृष्ठ स्वाभाविक खालको छ । कवि धर्म भुसाललाई हार्दिक शुभकामना !
(रुपन्देही)