यो समरको यात्रा हो ।
सबैभन्दा पहिले
तिमीलाई द्रोही बनाउनेछ
निकै प्रेमपूर्वक आश्रय दिइरहेको
तिम्रो आफ्नै घरले ।
प्रथम प्रतिद्वन्द्वी बनेर
वरिपरि उभिने छन्
तिमीलाई
आत्मीयताको छत्रछायामा हुर्काइरहेका
तिम्रै नातेदारहरू
जसरी
अर्जुनको बाणको प्रतिकार गर्न
प्रतिद्वन्द्वी बनेर
उभिएका थिए कुरुक्षेत्रमा
आफ्नै पितामह र गुरुहरू ।
तिमीले पनि गुज्रनु पर्ने छ
यस्ता अनेकौँ धर्मसङ्कटहरूबाट ।
स्मरण रहोस् साथी
यो समरको यात्रा हो ।
उदीयमान भविष्यको धूमिल चित्र देखाएर
दूर क्षितिजले तिम्रो पुकार गरिरहेको हुनेछ
तर,
वर्तमानको षड्यन्त्रले तिमीलाई
लक्ष्यहरूबाट दिग्भ्रमित पार्न सक्छ
अल्झाउन सक्छ
लडाउन र चोट दिन सक्छ
हतोत्साही बनाउन सक्छ
नभुल्नू साथी
यो समरको यात्रा हो ।
विकराल परिस्थितिले
तिमीलाई विचलित बनाइदिन सक्छ
छुट्न सक्छन् तिमीबाट
तिमीले समातेका सिद्धान्तका डोरीहरू ।
तर,
याद गर साथी
यो समरको यात्रा हो ।
एकातर्फ हुनेछन्
भ्रष्ट, पतित र पुरातन व्यवस्थाका अनुयायीहरू
अर्कोतर्फ हुनेछन्
सदियौंदेखिको उत्पीडनले
थिलथिलो बनाइएका श्रमिकहरू ।
एकातर्फ हुनेछन्
युगलाई पुनः अन्धकारतिर डोर्याउन खोज्नेहरू
अर्कोतर्फ हुनेछन्
समता र समृद्ध भविष्य पर्खिरहेकाहरू ।
एकातर्फ हुनेछन्
चुसाहा नवधनाढ्य सम्भ्रान्तहरू
अर्कोतर्फ हुनेछन्
भोक र अभावग्रस्त बेरोजगारहरू ।
एकातर्फ हुनेछ
उत्पीडक शासकहरूको भव्य सम्मेलन
अर्कोतर्फ हुनेछ
उत्पीडित र सीमान्तीकृतहरूको लस्कर ।
तिमीले
रोज्नु पर्नेछ
शोषित तथा दमितहरूको साथ
र
न्याय र समानताको नारा लगाउँदै
हिँड्नु पर्नेछ
निर्भीकतापूर्वक काँडैकाँडाको यात्रा
निजी स्वार्थको पर्खाल भत्काएर
गर्नु पर्नेछ
कष्टप्रद आँधीबेहरीको सामना ।
याद गर साथी
यो समरको यात्रा हो ।
चिरपरिचित अनुहारहरू नै
प्रतिद्वन्दी बनेर उभिएका हुन सक्छन्
आफ्ना इष्टमित्रहरू नै
अवरोध बनिरहेका हुन सक्छन्
निर्ममतापूर्वक
अवरोध छिचोल्नु पर्नेछ तिमीले
यस्तो हुनसक्छ
आँकलन गर यो संभावित अवस्थाको
याद गर साथी
यो महासमरको यात्रा हो !!
(रुपन्देही)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।