कुख्यात चोरले रुपधारण गरेको छ साधुको साधु बदलिएर चोरमा साधुकै वस्त्र ओढेर घुरिरहेछ बस्तीबस्तीमा पाइला टेकेको छ भ्रमको तुवाँलोले र हाटबजारमा खुलेआम बिक्रि भैरहेछ मान्छेका मुटु कलेजो र आँखा कान । सुनकली ! तिमिले देखेको सपनाको संसार होइन यो चैनले सास फेर्न पनी गाह्रो विषाक्त हावा चलिरहेको आख्त आख्त समय हो । फलाउन सपनाको सुन्दर संसार रोप्न त पसिनाको खेती रोपेकी हौ आफू सुकेर पनि रगत दिएकी हौ रगतका थोपाथोपा बोकेर फुलेको गुराँस शिरमा सजाउने कम्ती चाह थिएन तिमीलाई । सुनकली ! रातै भएर गुराँस मात्र कहाँ फुल्दो रहेछ र ? कहिले फुल्दोरछ रातै भएर कालो रात त्यही कालो रातको गर्भाशयबाट जन्मदा रहेछन् मान्छेका नयाँनयाँ परिचयहरु तिमीजस्तै मेरो मनको एकान्त कुनामा लुकिबसेका वर्षौं अघिका सम्झनाहरु छन्, सुनकली ! ज्वालामुखीको लाभाजस्तै उठ्दै बस्दै गरिरहेछन् मेरो मनको अगेनोमा । °°°° °°°° °°°° चराहरु बास बसिसकेपछि मेलो सकेर घरिएका थिए मेरा बाआमा बन्द भैसकेको थियो निन्न्याराको गित क्षितिजमा आँध्यारो बोकेर ओर्लदै थियो खैरो साँझ । आफ्नै अगाडी मान्छे नदेखिने कालो रातमा अनुहारैभरि कालै दाह्री लिएर एक अंकल लुसुक्क पसेका थिए घरमा र मागेथे देश जनताको नाममा एकछाक खाना । मेरो बालमस्तिष्कमा के चासो थियो र ? सुनकली, ती दाह्रीवाल अंकल को हुन ? उनी सामु चिन्ता पोख्दै किना साउती मारिरहेछ्न मेरै बाबाले ? सिर्फ दुईटा कुराले चिमोटिरहेको थियो त्यो बेला कालो रातमा पनि एकएक बाटो ठम्याउन सक्ने के जादु छ हँ ? ती अंकलको एकजोर आँखामा किन बताइरहेछन बाबाको कानैमा मुख जोडेर थर बिनाको आफ्नो निख्लो उपनाम ? दिनहरु बित्दै गए बितेर जाने ती दिनहरु कहिले हाम्रा आँखाआँखामा भयावह चित्र पोतेर जान्थे कहिले हाम्रा नशानशामा बेजोडले रगत उमालेर जान्थे । दाह्रीवाल अंकल दिनहुँ जसो आइपुग्थे गाउँमा उनको उपनाम जस्तै प्रिय बनेको थियो उनले सुसेल्ने आजादीको धुन । यस्तो लाग्थ्यो, ऊ त्यो पारि क्षितिजमा झुल्किने वैसालु जून कुन दिन टपक्क टिपेर ल्याउने छ्न् ती अंकल र राख्दिने छ्न् गाउँ शिरानको चौपारीमा अनुहारभरि लिपेर जूनको उज्यालो हामी खुशीले कति नाचौला हँ !!! °°°° °°°° °°°° सुनकली! अचेल समय फेरिएको छ यो फेरिएको समयमा मेरा गाउँका सामुन्नेमा उभिएका दु:खका दुर्गम पहाडहरु उस्तै छन नसोचेको हुरीले उडाई लगेको छ दुर्मुरो बिहान तिमीजस्तै उदासी बाँडिरहेछ्न जून बेल उदाउने डाँडा । यो आफ्नो लाग्दै नलाग्ने फेरिएको समयमा चमकदार बनेको छ ती अंकलको अनुहार देखिन छोडेका छन झुम्म उम्रेका दाह्री लगाउदैनन् टालो टालेको अदोराना ज्याकेट गोल्डस्टार जुत्ताको छाला छेडेर बाहिरै निस्केका छैनन् बुढीऔलाका नङ । दिनहुँ ठाँटिन्छन छुदापनि मैलो लाग्लाझैँ लाग्ने कोटमा कोटको बाक्लो खल्तीले निलेको छ अंकलको उपनाम रगत कट्कटिएको घाँटीको टाइले भन्छ: त्यो कालो रातले जन्माएको असली परिचय मेरै हो मान्ठौ । सुख्खा बगरजस्तै अंकलको आँत भिजाउन हरसाँझ तोडिन्छ ह्विस्कीको सिल र खनिन्छ काँचको गिलासमा सहिदको रगत निक्कै आनन्दी मिल्छ अंकललाई रगतको चुस्कीसँग बमले चोइट्याएका मासुका टुक्राहरु चपाउन । सुनकली ! आफ्नो लाग्दै नलाग्ने फेरिएको यो समयमा बस्तीबस्तीमा पाइला टेकेको छ भ्रमको तुवाँलोले मुडा ठोसेर अगेनामा चिसारात काट्दै यति नै बेला गाउँमा बूढापाकाहरु बाकुनिन र पुध्रोका सिलोक हालिरहेछ्न । (सुर्खेत)