कति कथाहरू लेखिए र कति कथाहरू अलिखित छन् ! °°° जब पेटमा आगो सल्किएर भोकको डढेलो दनदनी बल्न थालेथ्यो तब निस्किएथ्यो सडकभरि रामापिथेकसको आदिम जुलुश ! °°° जब बाहुबल रित्तिएर ढल्न थालेथे— शासकका लुटेरा दरबारहरू तब पाखण्डताको बर्को ओढेर ईश्वरको भ्रम छर्दै निस्किएथ्यो— धर्मको जुलुश ! °°° जब भ्रमको जालो च्यातेर सुटुक्क उदायो— धर्तीमा चैतन्य घाम तब प्रेमको चिराक बोकेर जीवनको गीत गाउँदै निस्किएथ्यो— विज्ञानको जुलुश ! °°° जब छातीमा देश दुखेर उदाएथ्यो आकाशमा बलिदानको इन्द्रेणी तब सहिदको आलो रगत पिएर मृत्युको धुन बजाउँदै निस्किएथ्यो— कटुवाल जुलुश ! °°° र आज पनि हजारौं फूलको सपना लुटेर हिँनहिँनाइरहेछ— गणतन्त्रको अघोरी बाबा प्रभुको कृपा थापेर ऊ लगातार गरिरहेछ संविधानको बलात्कार ! ठिक यो बेला, पिल्स र कण्डमका प्याकेट बोकेर कोठीतिर हिँडिरहेछ हनुमानहरूको राष्ट्रीय जुलुश ! °°° यतिखेर, म पनि लगातार हिँडिरहेछु आवाजविहीन बम बनेर जुलुश पछिपछि ! (झापा)