घुन अर्थात् अन्नभित्र पसेर भित्रको गुदीखाने सानो किरा । सुरक्षिततवरले राखिएको अन्नको बिऊ वा खानका लागि भण्डारण गरिएको अन्नको भित्री भागमा पसेर सखाप पार्ने किरा ब्वाँसोजस्तै हो भन्दा हुन्छ । नुनदेखि सुनसम्ममा यो घुनले उधुम गरेको छ । मानिसले खाने नुन र लाउने सुनमा समेत यसको आँखा र स्वादिष्ट जिब्रो गाडिएको देख्दा अचम्म लाग्छ । अझ अर्को कुरा मानिसले नखाने अलकत्रामा समेत घुनले आफ्नो आधिपत्य जमाएको छ ।
घुन लसुनमा समेत लाग्छ । मनसुन र अलकत्रामा चाहिँ लागेको थाहा छैन । कहिले काहीँ भने भनसुनमा टाँसिन्छ । मनसुनमा लाग्यो भने आफैँ मासिन्छ यो घुन । भनसुनमा घुन लाग्यो भने कसैले थाहा पाउँदैनन् । भनसुनमा कुरा चुहियो भने घुन लाग्छ र,े र त्यो कता कताबाट आफैँ औचित्यहीन हुन्छ । घुनका प्रकारका बारेमा कुरा गर्ने हो भने गरेर साध्य हुँदैन । किनभने हामीलाई यो घुनले गरिबीमा झारेको छ । वर्षभरिलाई खानपुग्ने अन्नभित्र पसेर रजाइ गरेको छ र कतिपयलाई भोकभोकै राखेको छ । अरुले घामपानी नभनीजम्मा गरेको अन्नभित्र पसेर मनपरी गर्ने र पेट भर्ने श्रमको ख्याल नगर्ने आफूमात्र टन्न घिचेर पेट फुलाउँदै निस्कने प्रवृतिले घुनप्रति सबैको ध्यानाकर्षण भएको छ । यस्ता घुनहरुकै कारण पनि गरिबी निवारणमा उल्झन आएको तथ्य कुरामा म गोज्याङ्ग्रे प्रष्ट छु । आगे पाठकहरुको जो बिचार ।
यो ब्वाँसोरुपी घुनले कतिपय किसानहरुलाई वाक्कदिक्क नै लाएको छ । बिउका लागि राखेको अन्न खाएर हैरान पार्दा कति समस्या परेको होला त ? आफ्नो घरमा राखेको बिउ घुन नामक खन्चुवा गुण्डा किरोले खाएपछि आगामी वर्षका लागि जिरो हुने भो अबके गर्ने ? बजारमा खरिद गरौँ पैसा हुँदैन । अरुसँग मागौ दिदैनन् । गाउँका मुखिया बासँग मागौँ उनी आफैँ घुनभन्दा पनि चौबर चुस्याहा छन । एकमाना बिउ मागेर ल्याउँदा साँवाब्याज र ब्याजको पनि ब्याज स्याज गरेर चारमानाभन्दा बढी लिन्छन् । नेतालाई सिफारिस गर्न लगाउँ पहिले नेतालाई नै बिउ किन्ने पैसाभन्दा बढी खुवाउनु पर्छ । जताबाट पनि किसान नै घाटामा । कृषि कार्यालयमा जाउँ पहुँच छैन । कृषिले गतवर्ष यो घुन मार्ने दवाई दिएको थियो मर्नुको साटो झन बढी पो देखिन थाल्यो परेन फसाद । कृषि र यो घुन किराको नाता पर्छजस्तो लाग्यो मलाई त । किनभने औषधी हाल्दा त सबै घुन स्वर्गमा जानु पर्ने हो तर नगएर झन बढी उत्पादन भयो । कृषिले पनि विषादी नदिएर अमृतादी वा कुनै जन्मघुँटी दिएर पो यस्तो भएको हो कि भन्ने शंका लागेका छ मलाई ।
जावो नुनमा समेत आँखा डुलाउने यो घुनको वंश भेटनु पायसको एक गेडो पनि अंश नरहने गरी सखाप पार्न मन लागेको छ । यसको वंश नभेटिए पनि थातथलो भने भेटिन्छ अन्नको भण्डारमा । मैले भने नि अघि नै मनसुनबाहेक सबै ठाउँमा पुगेका छ यो । गुन लाउन हुने जातको परेन छ यो घुन । तातो घाममा लगेर पछार्दा पनि मर्दैन । मनसुनदेखि भने अलि डराउँछ । किनभने मनसुनको घुनले धेरै बिगार गरेका छ र यसको मिति पु¥याईदिन्छ । अर्काले दुःख गरेर उब्जाएको अन्नभित्र पसेर डन बन्ने घुनलाई चुन खुवाउन सक्ने भनेकै मनसुन हो । अन्न उब्जाउन मनसुनले धेरै सहयोग गरेको हुन्छ र मनसुनले पनि प्राणी जगतकै रक्षाका लागि आफ्नो प्रभावलाई फलदायी बनाउन प्रयास गरेको हुन्छ । मनसुनले साथ सहयोग नगर्ने हो भने अन्नबाली राम्रो उत्पादन हुँदैन । तर यहाँ मनसुनको सहयोगलाई घुनले माटोमा मिलाई दिएका कारण पनि यी दुईको बिचमा सधैँ द्वन्द चलिरहन्छ ।
जहाँ पनि पुग्न सक्ने यो घुनले सुनलाई पनि छाडेन । यहाँ कैयौँ किलो सुन घुनले सखाप पारेको कथा ज्यादै मिठो र पिरो पनि छ । सुन जहाँसुकै राखेको भएपनि घुन पुगेकै हुन्छ । घुनको आफ्नै बाउको बिर्ताजस्तो भएको छ अन्न, सुन, नुन, भनसुन, अलकत्रा र लसुन । चुन र मनसुनसँग चाहिँ यो घुन पुनः देखा पर्दैन । चुन र मनसुनलाई देख्नेबितिकै घुनले जिउँदै स्वर्गको बाटो लाग्नु पर्छ । घुनले दिएको पीडा र दुःखका बारेमा लेख्ने हो भने २ सय ३० वर्षको इतिहास नै लेख्नु पर्छ । त्यही घुनका कारण तपाईँ हामीले जीवनमा नपाउनु दुःख पाएका छौँ । अझै पनि हामीले सुखका दिनहरु भोग्न पाएका छैनाँै । कहाँबाट, कसरी, कुन बाटो आउँछ त्यो कसैलाई थाहा हुँदैन र देख्दा पनि देखिदैन । कुन भेषमा मानवको जीवन वा भनाँै खाद्यान्न शेष पार्न आएको हुन्छ पतै पाइन्न । फेरी यो घुन धेरै रङ्गका हुन्छन । किरा मध्येको सबैभन्दा काम नलाग्ने यो घुनको नेता भेट्न पाए म चाहिँ सबैभन्दा पहिले चुनमा लगेर चोबल्थे र बाँकी कुरा पछि गर्थे ।
बढी कुरा किन गर्नु यतिबेला देशभित्रका विभिन्न अङ्ग प्रत्यङ्गमा समेत घुन लागेर खोस्टा मात्र छ । यो खोस्टामा हामी लडीबुडी खेलिरहेका छौँ । देश घुनले खाएर खोस्टा भएकै कारण हामी गरिबीमा पिल्सिएका हौँ । २ सय ३० वर्षदेखि घुनले गाँजेको नेपाल अझै पनि घुनहरूकै बिरातमा चलिरहेको छ । घुनहरूबाट उन्मुक्ति पाउन नसक्ने अवस्थामा छौँ हामी अझै पनि । किनभने हामीति घुनहरूको वरिपरी बसेर जयगानमा मस्त र व्यस्त छौँ । हामी आफैँ घुनहरूले देश सके भन्छौँ तर पनि उनीहरूकै जयगान र भक्तिमा अघिपछि गरिरहेका छौँ । सर्वसाधारण जनता र शहीदका सपनाहरू पुरा गर्ने बाचामा यिनै घुनहरूले तगारो हालेका छन भन्ने कुरामा हामी खै किन हो विश्वास गर्दैनौँ ।
नेपालको संघीयता र सातै प्रदेसको हरेक निकाय तथा क्षेत्रमा हिमाल, पहाड, तराई सबैतिर घुनको बाहुल्यता छ । यहाँ नेतृत्वमा घुन लागेको छ । नेता कार्यकर्ता सबै नै घुनैघुन । यही घुनका कारण पनि नेपालमा अपेक्षित विकास हुन नसकेको हो भन्दा कुनै फरक पर्दैन । योजना, आयोजना वा विकासका कुनै पनि पूर्वाधारहरू हुन सबैमा घुनको बाहुल्यता देखिन्छ । सडकमा प्रयोग गरिने जावो अलकत्रामा पनि घुनले बाहुल्यता जमाएको हुन्छ । गिट्टी, बालुवा, ढुङ्गाभित्र छिरेर घुनले रातारात नदीलाई उजाड, उराठ बनाउँछ कसैले थाहै पाउँदैनन् । अलकत्रामा घुनले डुबुल्कि मार्दा त घुन सकिनु पर्ने हो नि तर सकिदैँन । झन शरीर रङ्ग्याएर हिरो भएर टल्केर हिँड्छ ।
अर्काको नुन खान पल्केको यो घुनका बारेमा जति लेखे पनि थोरै नै हुन्छ । जति खाएपनि नअघाउने थेतरो घुनलाई कति मुद्दा हाल्नु । घुनकै बारेमा परेको मुद्दाको चाङ हेर्ने हो भने हामी आतिन्छौँ तर के गर्नु मुद्दाको चाङभित्र पनि घुन लागेर हैरान छ । मुद्दाका फाइल जतिसुकै सफाई गरे पनि त्यहाँ घुनको जमात जस्ताको त्यस्तै हुन्छ । कसरी कुन रुपले कहाँबाट भित्रिन्छन् कसैले जानकारी नै पाउँदैनन् । गुप्तचरहरू पनि तीनछक्क पर्छन घुनको घुमाई देख्दा । मलाई त के लाग्छ भने यसरी घुनको बिग्बिगी हुनुमा कतै सरकारी घुनहरुको घुसपैठ भएर पो हो कि भन्ने पनि लाग्छ । नभए यसरी सरकारको अङ्ग प्रत्यङ्गमा छ्यास्छ्यास्ती घुन नहुनु पर्ने हो । जसका कारण हामीले खाने लसुन, नुन, लाउने सुन, अलकत्रा लगायतका सबै बस्तुमा घुनले आधिपत्य जमाएको छ ।
बैगुनी घुनले देशभित्र नै पसेर गुदी सखाप पारेर हाड छालामात्र बाँकी राखेको छ । गुदीबिनाको हाडछाला अर्थात् अस्थिपञ्जरझैँ भएको छ देश घुनका कारण । छेपारेले रङ्ग फेरेझैँ विभिन्न रूप रङ्गमा देखिने घुनहरू कतिपय मौसमी छन भने कतिपय बेमौसमी पनि छन । यी घुनहरू नमासेसम्म हामीले देश बचाउन सक्दैनौँ ।
(उदयपुर)