आफ्नो सिफ्टमा अन्यत्र काम नगर्न र सिफ्टको समयबाहेक पनि अन्यत्र काम गर्दा विश्वविद्यालयको अनुमति लिनुपर्ने विश्वविद्यालयको नियमावलीमा भएको व्यवस्थाअनुसार सम्बन्धित क्याम्पस र कर्मचारीलाई परिपत्र गरिएको थियो । बेलामौकामा डीन र क्याम्पस प्रमुखहरूले पनि आफू मातहतका सरकोरवाला सबैलाई मौखिक जानकारी गराएका थिए ।
आफ्नो पिरियड पढाएर हाजिर गरी दश ठाउँ भ्याउनेहरूलाई यो नीति पटक्कै मन परेको थिएन । नियम मान्नेहरूले सिफ्टबाहेक काम गर्न अनुमति पनि लिए । तर अधिकांश सरहरूले लुकीछिपी नीतिको उल्लङ्घन गर्न थाले । यसका लागि विश्वविद्यालयले गगनलाई गोप्य जाँचबुझ समितिको संयोजक बनायो । गगन कुरौटे, अवसरवादी र कुराले ठिक्क पार्न सक्ने स्वभावको थियो । गगनले सबैको नाम, कार्यरत संस्था र समयको विवरण समेटेर यस्तो भएको र यस्तो कार्बाही गर्ने भन्ने सुझावसहितको बनाएर सम्बन्धित निकायमा बुझायो अनि आफू पनि त्यही काम गर्न गयो जुन कुराको प्रतिवेदन उसले तयार पारेर बुझाएको थियो ।
नियम नटेरी काम गर्नेहरूको संख्या प्रशस्त देखेपछि प्रशासनले पनि अनुगमनमा सक्रियता बढायो । गगनले बुझाएको प्रतिवेदन अनुसार अनुगमन गर्दा धेरै सरहरू काम गर्दै गरेका अवस्थामा रङ्गेहात समातिए र स्पष्टीकरणका लागि बोलाइए । दुर्भाग्य रङ्गेहात समातिनेमा र स्पष्टीकरणका लागि बोलाइएकामा गगन पनि थियो । स्पष्टीकरण दिन जानेहरूमध्ये उसको अनुहारको रङ बढी कालोनिलो थियो ।
(पाटन, बैतडी)