रोग, भोक र आधारभूत स्वास्थ्य, गरीबी उन्मूलन, शैक्षिक गुणस्तर अभिवृद्धि, बाटो घाटो आदि सबै क्षेत्रमा विकास तथा समृद्धि ल्याउँछौँ । यसपालि हामीलाई बिश्वास गर्नुहोस् । हाम्रो पार्टीलाई भोट दिनुस् भन्दै चुनाबी आमसभामा घाटीका नशा तन्किनेगरी सबै क्षेत्रमा आमूल परिवर्तन गर्छौं भनी भाषण गर्दै थियो बल बहादुर ।
नभन्दै बलबहादुर सहित उसको पार्टी बहुमतसहित बिजयी भयो । संसदमा शपथ पनि खाए । सरकार बनाए ।
विकास र समृद्धिको आशाको दियो जल्न सकेन । समय घर्किनै लागेको थियो । गाउँ समाजको हालत र गाउँका समस्या ज्युँ का त्युँ थिए । तरपिन तिनै एजेण्डा लिएर गाउँगाउँ छिरे तिनै नेताहरु ।
फेरि चुनावी सभा आयोजना भयो । बलबहादुर त्यस्तै समृद्धि तथा आमूल परिवर्तनका खोक्रा भाषण गर्दै गर्दा एकजना बुद्धिजीवी मञ्चमा उक्लिए र भने, “नेताको घरको बाटो कालोपत्रे हुनु, नेताको घर जाने बाटोमा पुल बन्नु, नेताको घर नजिक बिद्यालय बन्नु, नेताको जमिनको सिमानामा बाउँड्री वाल बन्नु, नेताको घर महल बन्नु, गाउँ समाजका सबै क्षेत्रमा नेताका आफन्तहरू मात्रै काम गर्न पाउनु नै आमूल परिवर्तन हो । हैन त नेता ज्यू ।”
(कञ्चनपुर)