एक दिन बिहानै माहिली बज्यै नाम्लो डोरी र कचिया बोकेर घास काट्न बनतिर लागिन् । जङ्गलमा झारपात सुकेर केही थिएन । बज्यैका आखा चारैतिर घुमे तर निशाना लगाउने ठाउ कतै देखिनन् ।
बज्यैको मन खिन्न देखिन्थ्यो । मनमनै बोलिन्, “घाम पनि जेठ लागिकन त सात वटा लागेजस्तै छ । गाईबाख्रा पनि किलैमा मर्ने भए । यसपालिको खडेरी पनि कति लामो हो, पानिको मुहान दिनदिनै सुक्न लागे । कुन्नि के ठेगान ? आफै पनि बाचिएलाजस्तो छैन । बाच्न पनि किन पो चाहिको थियो र ! बाघ मार्ने लक्का जमान छोरो हराएको पनि आज वीस वर्ष भइसक्यो, कतै पत्तो छैन । कालु गर्भमा थियो । छोराको पीरले बुढा पनि बौहुलाएर भीरबाट लडेर मरे । दैव पनि मैमाथि एकोहोरो किन लाग्या होला ?”
एकाएक माहिली बज्यैका आँखा आँसुले टिलपिल भरिए । स्वर्गीय पति र बेपत्ता छोराको सम्झनाले उनको घाँटी सुकेर आयो । आँखामा बादलको सेतो घेराले ढकनी लगायो । बिचरी लामो खुई काढेर जुरुक्क उठिन् । खोल्सातिर पसेर सुकेको घाँस सिलो गर्न थालिन् ।
समयले दोपहर काटेछ । माहिली बज्यै घासको भारी बोकेर गोठमा आइपुगिन् । गाईबाख्रा कराइरहेका । घासको मुठो फुकाएर गाईलाई हालिदिइन् । सिगारी बाख्रो दाम्लोमा अल्झेर मर्न लागेछ । “के गर्नु बुहारी गोठसम्म आइपुग्न सक्दिन । बिचरीलाइ मारेका थिए, धन्न ईश्वरले हात थापिदिएछन् । तीन दिन त रगतको पोखरामा डुृबिरही । राती आउने पाहुनालाइ बास दिनु हाम्रो के दोष थियो र ! बन्दुकको कुन्जा र बुटले छामीछामी हिर्काए । मलाईसम्म बोल्न दिया हुन र ! बोलिस् भने गोली पियाउँछौ भन्दै पल्लो कोठामा लगेर थुनिदिए । उता छोरालाइ पछाडि हात बाधेर कता लगे कता आजसम्म पत्तो छैन । सबै जना मा¥यो होला भन्छन् । होला तानि, बाँचेको भए फाल हान्दै आइहाल्थ्यो नि ! कोर्दीहरुको भर्सेला परोस् ।” बूढीको घाटी किक्किक् हुँदै निमोठियो ।
मथिबबाट कसैले बोलाएजस्तो सुनियो । आँखामाथि छातो पारेर बूढीले उकालो हेरिन् । “ए आमै !.आमै । घर छिटै आउनु रे । घरमा मान्छे आ छन् । हाम्रो बाबाको फोटो दिनु रे ।” नेपथ्यबाट कालुले हपा¥यो ।
“ल बा ल आउदैछु ।” बूढी हस्याङ्गफस्याङ्ग गर्दै घरतिर लागिन् । अलि अलि खुशी अनि केही खिन्नता, माहिली बज्यैको मन दोतमास भो ।
“जीवन मास्टर त भन्थे, सरकारले बेपत्ता बनाइएका मान्छेहरुको खोजी गर्ने कुन्नि के आयोग बनाको छ रे । फोटो किन खोज्यो त ? कतै छोरो……। मेरो बाबु….. । तिम्रै यादमा आजसम्म बाँचिरहेछु, तिम्रो शिशोबासोको स्याहार गरेर नभए यो एक मुठी सास किन अल्झाइरहन्थेँ र ।ू माहिली बज्यैको नाकको टुप्पोबाट मायाका दुई थोपा तप्प तप्किए । शिरमा हात राखेर आशीर्वाद मागेझैँ गरिन् ।
माहिली बज्यैले आगनको डिल टेक्न नपाउदै कालु दौडदै पुग्यो । ूआमै । हाम्रो बाबाको फोटो छ हैन ? फोटो भयो भने हाम्रो बाबालाइ चिन्न सकिन्छ रे । ऊ हेर्नुस, न, अंकलहरु तपाईलाई पर्खेर बसिरहनु भा छ ।”
पाहुनाहरुले बूढीलाई अविवादन गरे र आफ्नो कामको बेलिबिस्तार लगाए । बूढी आमै हत्त न पत्त टाँडमा चढिन् । कन्तुरबाट छोराको फोटो निकालिन् । स्नेहको असीम व्यग्रताले अनयासै उनका दुईटा ओठहरु तस्विरमा चुम्बिए ।
कालु भुइतलाबाट टाडैमा पुग्यो । ‘खै आमै,ल्याउनु त ।’ आमैको हातबाट फोटो तान्दै कालु एकै निमेषमा तल झ¥यो ।
‘यी हेर्नुस् त, हाम्रो बाबाको फोटो ।’ कालुले पाहुनाको हातमा फोटो थमाइदियो ।
आज कालु बढी नै उत्साहित छ । प्रशन्नताले कालुको मुहार हसिलो पनि देखिन्छ । उता बुहारीको मुख मुद्रा पनि कम उज्यालो छैन । मानौँ त्यो झुपडीमा लामो समयपछि दर्दनाक चीरदुख फारेर खुशीको उदय हुदैछ ।
पुलिसको बुटले अपाङ्ग बनाएको शरीरलाई घिसार्दै बुहारी चियाको कप लिएर पाहुनाको सेवामा हाजिर भई । पाहुनाहरु पनि चियाको चुस्कि लिदै आश्वासनका लड्डु बाड्न लागे । कठै, ती आशातीत अन्तरमनहरु कसैलाई स्वागत गर्न पाउने अभिलाषा बोकेर अनिश्चित यात्रातिर बढिरहेको आभाष हुन्थ्यो ।
पाहुनाहरु विदा भए । बुहारी चियाको कप लिएर माझ्न लागी । बूढी आमै मनमा कुन्नि केके सम्झँदै पाहुना गएतिर हेरिरहिन् ।
साँझ पर्न लागेछ । पश्चिमतिर सूर्यको रक्तिम किरणले बादललाई रङ्गाउन थाल्यो । विस्तारै–विस्तारै रजनी सक्रीय हुन लागिन् । गोठको बन्दोबस्त मिलाउन बूढी आमै गोठतिर झरिन् । बुहारी पनि खानपानको व्यवस्थापनमा जुटिन् ।
झमक्क साझ परेपछि सबैजना जम्मा भए । खाना खाएर कालु गाउतिर गफिन हिँड्यो । बुहारी जुठोचुलो गर्न लागिन् । बूढी बज्यै रात परेपछि उस्तो आखा देख्दिनन्, बेलैमा कोठातिर पसिन् ।
रात बढ्दै थियो । बाहिर एकछत्र निशाले साम्राज्य फिजाउन थाल्यो । एकतमासले कीटपतङ्गहरु सङ्गीत बजाउन लागे । मधुरो टुकी बालेर माहिली बज्यै निद्रादेवीको काखमा लमतन्न परिन् ।
रात छिप्पिन लागेछ । सुनसान निशाको चकमन्न वातावरणमा एकोहोरो कुकुरहरु मात्र भुकिरहेको आवाज सुनिन्थ्यो । एत्तिकैमा बहिर नेपथ्यबाट कसैले बोलाएको आवाज आयो, ‘आमा ढोका खोल्नुस् न । आमा ढोका खोल्नुस् न ।”
एकछिनमा ढोका आफै घरक्क उघ्रियो । हातमा ठूलो सुट्केश बोकेर पहिले कतै देखेजस्तो पूर्व परिचित अनुहार सरासर आमाको ओछ्यानमा आयो । मुसुक्क हासेर भन्यो– “आमा सन्चै हुनुहुन्छ ? ढोग गरें । ”आमाको दुबै खुट्टा समातेर दण्डवत ग¥यो ।
एक्कासी माहिली बज्यै अगालो हाल्दै कङ्कलाशब्द गरेर रुन लागिन् । ‘मेरो छोरा ! मेरो बाबु अर्जुन ! कता हराएको थिइस् ? हामीलाई त तँ यो संसारमा होलास् भन्ने विश्वास नै थिएन । कति निष्ठुरी छोरा ? यतिका बर्षसम्म हामीलाई माया मारिस् । पापीहरुले कता लगे कता ? एक झल्को मुख हेर्न पाए स्वर्गै जान्थेँ भाथ्यो, हेर्न पाएँ । आजै तेरो फोटो माग्ने मान्छे आथे । फोटो दिएर पठाएँ । आज भेट हुन लेख्या रछ । अब हामीलाई छोडेर कतै नगएस्, बाबु ।”
आमाको लामो बिलौनापछि आमाछोराबिच भावुक कुराकानी भयो । आमाको हर्षले सीमा रहेन । नाति कालु र बुहारी पनि आइपुगे । दुस्ख र वेदनाले जर्जर भएको झुपडीमा एकैछिनमा खुशी र आनन्दको अपार महोल बन्यो । केही समयको भलाकुसारीपछि कालुका आमाछोरा सुट्केश बोकेर पल्लो कोठातिर गए । आमाले झ्याल खोलेर हेरिन् । उज्यालो भुईंमा खसेछ ।
एकछिनमा छोराको हात समातेर आमाछोरा बाहिर निस्किए । आगनमा चिल्लो मोटर देखेर आश्चर्य मान्दै आमाले सोधिन्( ‘बाबु यो कस्को नि ?’
‘मेरै हो आमा । तपाईलाई म बसेको ठाउँ घुमाउन लिएर आएको नि । बस्नुस् । म एकैछिनमा पु¥याएर ल्याउला ।’
माहिली बज्यै गाडीमा बसिन् । मोटर बतासजस्तै हुइकिन थाल्यो । घरिघरि डरले उनको मन सिरिङ्ग हुन्थ्यो । झ्यालबाट बाहिर हेर्दा झिलिमिली देखिन्थे । सेतासेता अग्ला घरहरु, पानीका झर्ना र फूलैफूलका बगैंचा हुदैँ एउटा ठूलो घरमा पुगेर गाडी रोकियो । गाडीबाट विस्तारै उतारेर अर्जुनले आमालाई घरभित्र पु¥यायो । मान्छे त कति हुन् कति । सबैले माहिली बज्यैलाई अविवादन गरे । उनलाई अपार आनन्दको अनुभुति भयो ।
एउटी सोह्रसत्र वर्षकी केटी माहिली बज्यै नजिकै आई र नमस्कार गर्दै भनी– ूआमा मलाई चिन्नु भो ? म जीवन सरकी छोरी ।’
‘अहो ! नानी तिमी त पार्टीमा हिँडेर बेपत्ता भयौ भन्थे त । तिमी पनि यतै बस्छौ ?”
“हो आमा, यहीँ बस्याछु । अर्जुन दाइ पनि यहीँ बस्नुहुन्छ । अरु पनि धेरै साथीहरु यहीँ बस्छन् । आज यहा ठूलो कार्यक्रम हुँदैछ । सबैजनासँग तपाईँको भेट हुन्छ । म तपाईसँगै बसेर चिनाइदिन्छु ।”
उसको कुराले माहिली बज्यै खुशी भइन् ।
केही समयपछि मान्छेहरु हलभरि खचाखच भए । वरिपरि झिलिमिली ध्वजापतका सजिएका,रङ्गीबिरङ्गी पर्दा र तोरणहरुले मानौँ कार्यक्रम हल स्वयंवरकी बेहुलीजस्तै चिटिक्क देखिन्थ्यो । दुईजना मान्छेले एउटा ठूलो ब्यानर ल्याएर भित्तामा झुण्ड्याए ।
व्यानरमा ठूला अक्षरले देशको वर्तमान अवस्था र भावी योजना विषयक एक दिने गोष्ठी लेखिएको थियो । औपचाारिक रुपमा कार्यक्रम शुरु गरियो । राष्टिय धुन र सहिदप्रति श्राद्धा सुमन व्यक्त गर्दै वक्ताहरुले आफ्ना गहकिला बिचार र तर्कहरु प्रस्तुत गरे । अन्तमा उद्घोषकले क.अर्जुनलाई आमन्त्रण ग¥यो ।
तालीको स्वागतपछि अर्जुनले आफ्ना भनाइहरु यसरी शुरु गरे, “आदरणीय कमरेडहरु, मेरो जन्मभूमिको इतिहास हेर्दा भक्ति थापादेखि आजसम्मका आन्दोलनहरुमा वीरशाली अम्मर सहिदहरुले जुन बलिदानी रगत बगाए मेरो देशको स्वतन्त्रता र जनताको मुक्तिको निम्ति अमुल्य उपहार थियो । सदा सदाका लागि देशको मुहार हँसाउन र भावी सन्ततीको सुन्दर भविष्य सुनिश्चित गर्न वीरहरुको लागि मृत्यु तुच्छ बन्यो । हाँसिहाँसी प्राणको आहुति दिए । नेताका गर्विला भाषण र राजनैतिक दस्तावेजलाई आत्मसात् गर्दै आफ्नो प्राणको बलिदान दिन उनीहरु सँधै उत्साहित भइरहे । वीर गोर्खालीको सहासले संसार हल्लाएका बहादुरहरु देशको निरङ्कुश साङ्लो चुडाल्न र जस्तोसुकै विपत्तिको सामना गर्न दृढतापुर्वक लडिरहे तर विडम्बना वीरको रगतले कोसी र कर्णाली उर्लिरहे पनि मेरो देशमा सोचेजस्तो परिवर्तन कहिल्यै हुन सकेन । वीर भक्ति थापाले आफ्नो शिर दिए तर वैरीलाई देशको सीमा टेक्न दिएनन् । आज हाम्रा नेता भनाउँदाहरु मातृभूूमिको छाती कुल्चदा र सीमा रक्षामा तैनाथ बहादुरहरुको टाउकामा गोली लाग्दा चुइक्क गर्न सक्दैनन् । मलाई लाग्छ, मेरो देश वीरहरुको देश होइन । वीरहरु मरेर नामर्दहरु बाँचेको देश हो । स्वार्थीहरु नाचेको देश हो । त्यसैले त प्रत्येक आन्दोलनहरु संझौतामा गएर टुङ्गिन्छन् ।
आधा आकास र आधा धरती ढाक्ने मेरा आमा र चेलीहरु बलात्कारको गोदाममा थाक लागेका छन् । विसे नगर्ची र दिलबहादुर रम्तेलहरु भेरीको भीरबाट खसालिन्छन् । देशको उत्पादनशील शक्ति होनाहार युवायुवतीहरु खाडी मुलुकमा आत्माहत्या गरिरहेका छन् । भ्रष्टचारको उचाइले सगरमाथालाई होच्याइ रहेछ । मेरो देश त्यस्तो देश हो जहाँ गाडी र प्लेनमा सुनको भारी बोकिन्छ । अम्मर सहिदका परिवारलाई जिउँदै आर्यघाटमा पु¥याइन्छ । जिउदा सहिदहरु बम र बारुदका छर्रा बोकेर प्राणको भिख मागिरहेछन् । कलाकर्मीहरुको सिर्जनालाई प्रतिबन्ध लगाइन्छ । सूचना र प्रविधिमाथि सेन्सर गर्ने कानुन बनाइन्छ अनि लेख रचना प्रकाशन गर्न कलमवीरहरुले खुट्टा कमाउनु पर्छ । हो यही हो मेरो देशको वर्तमान अवस्था ।
आदरणीय कमरेडहरु, अरुण नदीका तिरमा हाम्रा चिहानहरु साक्षि छन् । अलैचिका पातहरुमा ताजा रगत अझै लत्किरहेका होलान् । पिस्करदेखि छिन्ताङसम्म, सल्लेरीदेखि होलेरीसम्म क्रान्तिकारीहरुको वीरताको गाथा गुन्जिरहेछ । इतिहासमा लोकतन्त्रको पक्षमा कहिल्यै उभिन नचाहनेहरु आज शासनको बागडोर समालिरहेछन् । फलस्वरुप आज मेरो देशमा हत्या, हिंसा, बलत्कार, भ्रष्टचार, अनाचार, विक्रिति, विसंगति, नातवाद, कृपावादजस्ता कुसंस्कार र कुसंस्कृतिले कुहिरीमण्डल बनायो । यी सबै खाले बेथितिबिरुद्ध लड्न र भावि योजना तय गर्न देशभक्त राष्टवादी शक्तिहरुको गोलमेच सम्मेलन गर्न जरुरी छ । सम्मेलनले निर्देश गरेको कार्यदिशाको आधारमा वर्गीय मुक्ति र सास्कृति क्रान्ति सफल बनाउने तर्फ लामबद्ध हुन यहाँहरु सबैलाई आग्रह गर्दै विदा चाहन्छु । अविवादन ।’
ताली बज्यो र सभा विसर्जन पनि गरियो । हेर्दाहेर्दै हल पुरै खालि भयो । अघिकै युवति आइन् र माहिली बज्यैलाई फोटो दिदै भनिन्– ‘यी आमा, अर्जुन दाइको फोटो लिनुस् । हँ नानी, अर्जुन खोइ त ? अब घर जाने होइन ? होइन आमा, हामी यही बस्छौँ । हाम्रो घर यही हो । युवती निमेष भरमै अलप भई ।
माहिली बज्यै अत्ताल्लिएर चिच्याउन लागिन्……अर्जुन…..मेरो छोरा…यत्तिकैमा झल्यास्स ब्युझिन् । बाहिर उज्यालो भइसकेको रहेछ । उनका हातखुट्टा थरथर कामिरहेका थिए । मुटु एकनाशले ढुकढुक गरिरह्यो ।
(रुपाटार, उदयपुर)